एमालेका जनबर्गिय संगठनहरुको धुलिखेल भेला
बनेपा/नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रले एक महिना भित्र पार्टीका २३ वटै जनबर्गिय संगठनको कार्यशाला सम्पन्न गर्ने निर्देशन दिएको छ । ‘एक महिना भित्र कार्यशाला गरेर प्रतिवेदन नबुझाउने जनबर्गिय संगठनका पदाधिकारीहरु स्वत निलम्बनमा पर्नेछन’– जनसंगठन संयन्त्र संयोजक भानुभक्त ढकालले भन्नुभयो–‘जनंसंगठनको अधिबेशन, भेला, गोष्ठी, समिक्षा, थप कार्यक्रमका बारेमा चैत्र मसान्त भित्र छलफल गरेर प्रतिवेदन पठाउन निर्देश गर्दछु ।’
दुई दिनसम्म धुलिखेलमा जारी नेकपा (एमाले) सम्बद्ध जनसंगठनहरुको भेलाको समापन कार्यक्रममा सम्बोधन गर्दै पार्टी महासचिव शंकर पोखरेलले जनसंगठनहरु भुत्ते हुँदै गएकाले त्यसलाई झरिलो बनाउन कृयाशिलतामा जोड दिनु भएको थियो । ‘पाँच वर्षमा जनसरोकारका विषयमा एउटा आन्दोलन पनि नगर्ने जनसंगठन आवश्यक छैन’–महासचिव पोखरेलले भन्नुभयो–‘८ लाख पार्टी सदस्य भएको पार्टीमा जनसंगठनहरुका आधारमा ५० लाख जनमत हुनु पर्छ ।’ एक संगठित सदस्य बराबर ७ जना नागरिक एमालेका पक्षमा ल्याउने गरी कार्य गर्न पोखरेलले निर्देशन दिनु भयो । संगठित सदस्य भएर पार्टीलाई मत नराख्नेहरुको सदस्यता खारेज गर्न जनबर्गिय संगठन र पार्टीका कमिटीहरुलाई पोखरेलले अनुरोध गर्नु भयो ।
निर्वाचनमा पपुलर मतमा पहिलो पार्टी भए पनि जनसंगठनहरुको कृयाशिलता नभएकै कारण पार्टीले प्राप्त गर्नु पर्ने मत कम आएको महासचिव पोखरेलले बताउनु भयो । २३ वटा जनबर्गिय संगठनका १ सय ३० जना सहभागि प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले कार्ययोजना निर्माण, सदस्यता विस्तार र जनसरोकारका विषयमा शशक्त हुने गरी एक महिना भित्र खाका प्रस्तुत गर्न निर्देशन दिनु भयो । हरेक जनसंगठनका वडा तह देखिको कृयाशिलता र जनसरोकारका विषयलाई खवरदारी गर्ने गरी संगठन शशक्त बनाउन महासचिव पोखरेलले अनुरोध गर्नु भयो । ‘जब ब्यत्तिले आफुलाई सर्वज्ञ ठान्छ तब संगठनको मृत्यु हुन्छ’–महासचिव पोखरेलले भन्नुभयो–‘मान्छेको अन्र्तराष्ट्रिय जात एउटै हुन्छ भन्नेहरु नै जातिय पहिचान खोज्न थालेका छन् ।’
संयोजक ढकालले एमालेमा बसेर एमालेका उम्मेदवार हराउन लाग्नेहरु अहिले सरकारको उन्मादमा भएको हुन सक्ने बताउँदै जनसंगठनलाई कृयाशिल बनाएर आगामी निर्वाचनमा बहुमत ल्याउने दावी गर्नु भयो । स्ववियु निर्वाचन तथा अन्य निर्वाचनमा पार्टीका उम्मेदवाहरुलाई जिताउन नलाग्ने, नेताहरुको घर दैलोमा मात्रै पुग्ने, मञ्चमा आसन र भाषणका लागि स्थान खोज्नेहरुको रेकर्ड राखेर पार्टीले अवसर दिने बेला हिसाब किताव गर्ने चेतावनी ढकालले दिनु भयो । केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालले धुलिखेल घोषणापत्र जारी गर्नु भएको थियो । भेलाले ११ बु्ँदे घोषणापत्र जारी गरेको छ । एमाले काभ्रे जिल्ला अध्यक्ष अशोक ब्याञ्जुले सिद्दान्त र जीवन मेल खानु पर्नेमा जोड दिदै जनसंगठन र पार्टीका कमिटीहरु बीच समन्वय हुनु पर्ने बताउनु भयो ।
के छ धुलिखेल घोषणा पत्रमा
जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजितनेकपा (एमाले) सम्बद्ध २३ वटै जनसंगठनहरुको भेलाले २०७९ मंसिर ४ मा सम्पन्न प्रदेश तथा संघको निर्वाचनमापाँचदलीय गठबन्धन, पार्टी विभाजनको कुत्सित प्रयास, नेतृत्व माथि निरन्तरको प्रहार जस्ता चौतर्फी घेराबन्दीका बावजुद नेकपा (एमाले) समानुपातिकतर्फ सबभन्दा बढी मतप्राप्त गरी जनताको रोजाइको पहिलो पार्टीका रुपमा स्थापित भएको छ । यसबाट नेपाली जनताको दीर्घकालीनआशा–भरोसाको केन्द्र, विकास र समृद्धिको सम्बाहक, सबै समुदायको साझा केन्द्र र आमूल परिवर्तनको अगुवा पार्टी नेकपा (एमाले) नै हो भन्ने पुनर्पुष्टि भएको छ । यस प्रतिकूल परिस्थितिमा यसका लागि अहोरात्र खट्नुहुने सबै जनसंगठन लगायतका नेता–कार्यकर्ताहरु र नेकपा (एमाले) का पक्षमा उभिनु हुने आम जनसमुदायलाई हार्दिक धन्यवाद दिँदै प्रदेश सभा तथा प्रतिनिधिसभामा निर्वाचित हुनुभएका सबैर्मा हार्दिक बधाई ज्ञापन गरेको छ । त्यस्तै निर्वाचनबाट पाँचदलीय गठबन्धनले बहुमत गुमाएको र कुनै एक दलले बहुमत प्राप्त गर्न नसकेको अवस्थालाई नेकपा (एमाले) विरुद्धको मोर्चाबन्दीलाई अझ कसिलो बनाउने, मुलुकलाई अधोगति तिर लैजाने, विभिन्न शक्ति केन्द्रहरुको क्रिडास्थल बनाउने र राष्ट्रिय शक्तिलाई कमजोर बनाउने गलत अवसरका रुपमा प्रयोग गर्ने प्रयासहरु भइरहेको बेला एमालेको अगुवाइमा त्यस अप्राकृतिक गठबन्धनलाई भत्काउने काम भएको छ । निर्वाचनबाट प्राप्त जनादेशलाई त्यसको भावना अनुरुपमा सकारात्मक रुपमा उपयोग गर्दै सम्भव भएका दलहरुसँग सहकार्य गरेर संघ तथा प्रदेशमा सरकारहरु गठन भएका छन् । यसबाट जनमतको सही कार्यान्वयन हुने, मुलुक भित्र विदेशी चलखेलहरु बन्द हुने, विचार मिल्ने दलहरुका बीचमा समय क्रममा सहकार्यले घनिष्टता प्राप्त गर्दै जाने, जनताको समृद्धि र सुशासनको चाहनालाई सही दिशा दिने, राष्ट्रिय हितको प्रबद्र्धन गर्ने र परिवर्तन प्रेमी आम जनताको मनोबल उच्च राख्ने अवस्था निर्माण भएको छ । क्षणिक असफलताबाट विल्कुल नआत्तिने, गम्भीर प्रयत्नका माध्यमबाट प्रतिकूलतालाई अनुकूलतामा परिणत गर्ने, सही समयमा सही निर्णय गरेर देशलाई निकास दिने र पार्टीलाई राष्ट्रिय राजनीतिको मूल केन्द्रका रुपमा स्थापित गर्नु हुने अध्यक्ष केपी शर्मा ओलीको कुशल र दूरदर्शी नेतृत्व प्रति भेलाले गौरव गरेको छ । नयाँ जनादेशका आधारमा निर्मित नयाँ समीकरणलाई कुशलतापूर्वक अघि बढाउँदै सरकारका माध्यमबाट देश र जनताका पक्षमा हुने कामहरुका साथै यस अवधिमा पार्टी कमिटी र जनसंगठनहरुले गर्ने व्यापक मिहिनेतले आगामी निर्वाचनबाट पार्टीलाई बहुमत प्राप्त गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
नेपालको राष्ट्रिय एकता, राष्ट्रिय हित र सार्वभौमिकताको सुदृढीकरणका लागि सबै राजनीतिक दलहरु एकताबद्ध हुनुपर्नेमा कतिपय दल र तिनका नेताहरुले आफ्नो क्षणिक राजनीतिक स्वार्थका लागिशक्ति केन्द्र धाउने, सरकार बनाउन विदेशीलाई गुहार्ने र नेपालको निर्णय नेपालीले आफैँ गर्न सक्दैनन् भन्ने सन्देश प्रवाह गर्नु विडम्बापूर्ण छ । नेकपा (एमाले) को अगुवाइमा नयाँ समीकरण र सरकार बनेको छ । नेपालमा कस्तो सरकार बनाउने भनेर आफ्नो निर्णय आफैँ गर्न नेपालका दलहरु सक्षम छन् भन्ने कुरा यसबाट सबैलाई स्पष्ट भएको छ । नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो नराख्न, दलहरुका बीचमा नखेल्न र सार्वभौमिक समानताका आधारमा सम्बन्ध राख्न सबै पक्षसँग भेलाले आग्रह गरेको छ । प्रतिकूल आर्थिक परिस्थितिमा नेकपा (एमाले) ले मुलुकको राजनीतिक नेतृत्व लिएको छ र सरकारमा सहभागी बनेको छ । पूर्ववर्ती सरकारले जर्जर बनाएको मुलुकको आर्थिक अवस्था विश्वव्यापी आर्थिक मन्दीको थप मारमा पर्ने अवस्था छ । यस अवस्थाबाट देशलाई जोगाएर जनताको अपेक्षाहरु पूरा गर्नुपर्ने दायित्व सरकारको छ । सुुशासन र समृद्धिलाई मुख्यकार्यसूचीबनाएर जनताको दैनन्दिनका समस्याहरु तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँछ । बढ्दो मूल्यबृद्धि, कालोबजारी, दण्डहीनता, प्राज्ञिक तथा तटस्थ संस्थाहरुको चरम राजनीतिकरण, सरकारी निकायहरुमा सेवा ग्राहीहरुले लाग्नुपर्ने लामो लाम, किसानहरुले मल नपाइरहेको अवस्था, धानको समर्थन मूल्य कार्यान्वयन नभइरहेको, सीमा नाकाहरुबाट भइरहेको तस्करी, महिलाहरु माथि भइरहेका जघन्य अपराधहरु, छुवाछूतका नामम ाभइरहेका अमानवीय कामहरु, सार्वजनिक तथा निजामती क्षेत्रमा रहेका विभिन्न ऐन तथा नियमावलीको अभाव, राज्य संयन्त्रबाट निश्चितव्यक्ति र घरानाहरुले पाइरहेको अनुचित लाभ, नागरिकहरुले न्यूततम रुपमा पाउन नसकेको स्वास्थ्य सेवाजस्ता समस्याहरु अविलम्ब समाधान गरी सकारात्मक सन्देश दिनका लागि सरकारसँग आग्रह गरेको छ ।
यि हुन एमालेका जनसंगठनहरु
१.अखिल नेपालकिसानमहासंघ
२. अखिलनेपालमहिला संघ
३. अखिलनेपाल राष्ट्रिय स्वतन्त्रविद्यार्थीयुनियन
४. राष्ट्रिय अपांगता संगठन नेपाल
५. लोकतान्त्रिकआदिवासीजनजातिमहासंघ, नेपाल
६. नेपाल उत्पीडित जातीयमुक्ति समाज
७. नेपालउद्योग व्यवसायमहासंघ
८. नेपाल खेलकुदमहासंघ
९. नेपाल ट्रेड युनियनमहासंघ (जिफन्ट)
१०.नेपाल बुद्धिजीवी परिषद्
११. नेपालभूमिअधिकार तथाश्रमिक संगठनक्
१२.नेपाल राष्ट्रिय भूतपूर्व सैनिकतथाप्रहरी संगठन
१३. पेशागतमहासंघ, नेपाल
१४. प्रगतिशीलतथा पेशागतकानुनव्यवसायी संगठन
१५. प्रेस चौतारी नेपाल
१६. प्रगतिशीलइन्जिनियर्स एसोसिएसन
१७. राष्ट्रिय जनसाँस्कृतिकमहासंघ
१८. मानवअधिकार तथा सामाजिकन्यायमञ्च
१९. राष्ट्रिय युवासंघ, नेपाल
२०.नेपालमुस्लिम इत्तेहाद संगठन
२१.राष्ट्रिय स्वास्थ्यकर्मीमहासंघ नेपाल
२२. रिटर्र्नी फेडरेसन नेपाल
२३. नेपाल पिछडा वर्ग महासंघ









