बनेपा/प्रमुख दुई राजमार्ग, दुई ठुला अस्पताल तथा निजी अस्पतालहरु, डेँगु तथा अन्य विभिन्न रोगको महामारीका कारण आवश्यक पर्ने रगत अभाव हुन थाले पछि नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाको अगुवाईमा विभिन्न संघ संस्थाहरुले रक्तदान कार्यक्रम आयोजना गर्न थालेका छन् । विरामीहरुलाई आवश्यक पर्ने रगत काभ्रेमा मात्रै होईन भक्तपुरमा पनि पाउन छाडेको छ । रगत नहुँदा विरामीहरु जोखिममा पर्न थालेका छन् ।
अरनिको र विपी राजमार्गका कारण धुलिखेल सामुदायिक अस्पताल तथा बनेपाको शिर मेमोरियल र अन्य दर्जनौ नीजि अस्पतालमा उपचार गराउन आउने विरामीहरुको संख्या दैनिक थपिदै गएको छ । धुलिखेल अस्पतालमा मात्रै ५ सय भन्दा धेरै विरामी दैनिक उपचार गराईरहेका छन् । नियमित परिक्षणका लागि करिब २ हजार बिरामीहरु अस्पताल आउने गरेका छन् । सडक दुर्घटना तथा अन्य विविध कारण विरामीहरुलाई चाहिने रगत अभाव हुन थालेको केहि महिना भईसकेको रक्तदाताहरुले बताउन थालेका छन् । रक्तदान गर्ने क्रम पनि घट्दै गएको छ । नीजि अस्पतालहरुले रक्तदान गर्ने ब्यक्तिहरुलाई रकम पनि दिन थालेका छन् । उपत्यकासँग जोडिएको काभ्रेपलाञ्चोक जिल्लामा राजधानीका विभिन्न अस्पतालका विरामीहरुका लागि पनि रगत माग हुँदै आएको छ । जिल्लामै रगत अभाव हुन थालेपछि सरोकारवालाहरुले रक्तदान कार्यक्रमलाई तिब्रता दिने बताएका छन् । ‘ब्लड बैक रहेको काभ्रेपलाञ्चोक जिल्लामा केहि दिन कुनै पनि प्रकारको रगत भएन’–रेडक्रस काभ्रेका सभापति रघुनाथ हुमागाईले भन्नुभयो–‘ब्लड बैकमा पाँच प्रकारका रगत उत्पादन गर्ने मेशिन र जनशक्ति छ तर रगत दान भएर आउने क्रम घट्दो छ ।’ रेडक्रस काभ्रे शाखालाई डेनिस रेडक्रसको सहयोगमा होल्ड ब्लड, प्याकसिएल, पिआरपी, एफएफपी र प्लेटेट कन्ट्रयासन रगत तयार गर्ने गरेको छ । पिआरपी र प्लेटेट कन्ट्रयासन रगतको आयु ५ दिन मात्रै हुन्छ । तयार गरेर पनि आवश्यक भए भने खेर जाने भएकाले ब्लड बैकले आवश्यकताका आधारमा मात्रै उक्त रगत तयार गर्छ । होल्ड ब्लडबाट नै सबै रगत बनाउने भएकाले आवश्यकताका आधारमा बनाउने गरिएको ब्लड बैक बनेपा शाखाले जानकारी दिएको छ । एफएफपी रगतको आयु एक वर्षको हुनेछ । आरविसी रगतको आयु पनि केहि समय हुने भएकाले असहज हुँदैन । दुर्लभ समुुहको रगत आवश्यकता पर्दा समेत रक्तदाताहरु फेला पर्न छाडेका छन् । केहि रक्तदाताहरु नियमित औषधी सेवन गर्नु पर्ने भए पनि रक्तदान गर्न छाडेको बताउँछन् ।
रगत अभाव भए पछि रेडक्रस काभ्रेले २९ वटा उपशाखाका प्रतिनिधिहरु र सरोकारवाला निकायहरुसँग पटक पटक अन्र्तक्रिया कार्यक्रम आयोजना गरी रक्तदान कार्यक्रम प्रति सचेतना फैलाउन अनुरोध गरेको छ । दाताहरुले भने आफुले दान गरेको रगतलाई आफैले मुल्य तिर्नु पर्ने र आवश्यक भएका समयमा रगत अभाव हुने भएकाले रक्तदानमा चासो नभएको बताउन थालेका छन् । ब्लड बैकका मेशिन नियमित संचालन गर्न, जनशक्तिको ब्यवस्थापन गर्न र दान गरिएको रगत राख्नका लागि पनि थोरै रकम लिनु पर्ने बाध्यता भएको जानकारी दिएको छ ।





