2026 August 23/ 07:45: 26pm

लेखक - भुपेन्द्र थापा (माधव)
                    मंसिर ४ को सम्पन्न आम निर्वाचनको मतपरिणाम लगभग अन्तिम चरणमा पुग्दै गर्दा चुनावी परिाणाम बारे बहुआयामिक रुपमा ब्याख्या विश्लेषणहरु भई रहेका छन् । एकतर्फ हेर्दा यो जनादेश नेपाली जनताको विगतको मतदान शैलीमा निरन्तरता देखिन्छ भने अर्कोतर्फ केहि नयाँपन झल्केको महशुस गर्न सकिन्छ । २०४८ साल देखि अनवरत रुपमा राजनीतिमा स्थापित र वर्चस्व कायम गर्दै आएका पूराना नेताहरु जनताको मतादेशद्वारा विस्तापितको दिशा तर्फ उन्मुख भएका छन् । यस निर्वाचनले नयाँ पार्टी र युवा नेतृत्वको आगमन, केहि पुरानाको पुनरागमन र बर्हिगमन भएको छ । यसपटक अधिकांश जननिर्वाचित नयाँ अनुहारहरु मतदाताको प्राथमिकताका रोजाईमा परेका छन् । यसले के प्रष्ट्याउँछ भने केहि वर्षयता देखि हुँदै आएका विभिन्न सञ्चार माध्यम, सार्वजनिक स्थल र बौद्धिक वर्गहरुमा हुने गरेका घनिभूत बहसमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको अपरिहार्यता र औचित्य साबित भएको छ । साथसाथै आमजनतामा पुराना राजनीतिक दल र नेतृत्वप्रतिको वितृष्णा स्वभाविक र यथार्थ नै थियो भन्ने प्रमाणित भएको छ । राजनीतिमा एउटै पार्टीको मात्रै सिन्डिकेट वा पटक–पटकसम्म उहि नेतृत्वको मात्रै अधिपत्य जमाई राख्ने र सिङ्गो मुलुकलाई सधैं अन्धकारको भूमरीमा धकेलिरहने कुटिल प्रपञ्चको विपक्षमा सचेत र जागरुकता मतदातामा सिर्जना भएको सन्देश मतादेशद्वारा प्रभा भएको छ । यो आमनागरिकप्रतिजागेको चेतना र मतदातामा उब्जेको शिर्जनसिलता र परिवर्तनको साहसिक निर्णयले सिंगो लोकतान्त्रिक मूल्य, मान्यता र व्यवस्था प्रतिको आस्थामा पुनर प्राणवायु थपिएको छ । मतदातालाई कुनै वस्तुको बाहिरी खोल वा गोजीको गोटी सम्झने निर्वाचनलाई प्राविधिक वैधता हासिल गर्ने संयन्त्र मात्र बनाउने उद्यत राजनीतिक पार्टी र नेतृत्वलाई यस निर्वाचनले गतिलो झापड दिएको छ । मतगणना अन्तिम चरणतिर आईपुग्दै गर्दा यसले एउटा नयाँ सन्देश दिन खोज्दैछ भन्ने प्रष्ट देखिन्छ । आममतदाता लगायत परिवर्तनका पक्षधर नागरिकमा देशको आमूल परिवर्तन र नेतृत्वको मुहार फेर्ने हुटहुटी उर्लेको देखिन्छ । राज्यमा मौलाउँदो भ्रष्टाचार, कमजोर पूर्वाधार र पटक–पटक दोहोरिरहने उहि उमेदवारका विरुद्ध जनताद्वारा सचेत र संगठित रुपमै प्रहार भएको देखिन्छ । विडम्बना नै भन्नुपर्छ अझै पनि संसदमा कांगे्रस, एमाले, माओवादी, राप्रपा र लोसपा पार्टीबाट निर्वाचित भएका क्रमश मूर्ति चोरमा दोषि ठहर, छिरिङ्ग डम्डल लामा भोटे, ३१ करोड भ्रष्टाचारको अभियुक्त टेक ब. गुरुङ, हत्या अभियुक्त लक्ष्मी महतो कोइली, भ्रष्टाचार वादशाह कुर्मी जस्ता घीन लाग्दा अभियुक्तहरुको एक हुल संसद्मा प्रवेश गर्दैछ ।
यसले उनीहरुको राजनीतिक विरासतलाई गिज्याई रहेको प्रष्ट छ । यसले पुराना स्थापित शक्तिहरुको शक्तिमा गिरावट आएको छ भने नयाँ राजनीतिक शक्ति निर्माणको भूमिकामा ठूलो टेवा पुगेको छ । यस्तो अवस्था सिर्जना गर्न पुराना राजनीतिक शक्तिको अनैतिक कर्तुतका कारण र जनतामा जागेको चेतनाको परिणतिको सिकार पुराना परम्परागत दलहरु पर्ने निश्चित छ । असाध्यै घतलाग्दो विषय यस निर्वाचनले राजनीतिक सामाजिक आन्दोलनको कुनै पनि विरासत र इतिहास नभएको ६ महिना अघि मात्र जन्मेको हतार हतारमा न्वारन गरेर नाम जुरे पनि थर र गोत्र अझ प्रष्ट नभएको अवोध शिशु पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले आमजनताको अपार माया र सद्भाव बटुलेर नयाँ वैकल्पिक राजनीतिक शक्तिका रुपमा अनुमोदित समेत भयो । उसले नेपालका अब्बल राजनीतिक विरासतको इतिहास बोकेका पुराना दलहरुलाई पछि पार्दै सशक्त चौंथो राजनीतिक शक्तिको रुपमा स्थापित गर्न सफल समेत भयो । साँच्चिकै भन्नुपर्दा यो नेपाली राजनीतिक इतिहासको नितान्त नयाँ र पछिल्लो अभूतपूर्व परिघटना नै हो ।
स्थानीय निर्वाचनले पूराना विरासतको दम्ब र घमण्ड भएका दलहरुलाई मुलुकको राजधानी र धरानबाट लौरो लगाएर खेद्न सफल स्वतन्त्र उमेदवारहरुको लहर सँगै आमनिर्वाचनमा समेत यसको असर प्रत्यक्ष देख्न सकिन्छ । रास्वपाको देशैभरी सुनिने गरी खत्राको घण्टी बज्दा राजनीतिमा परम्परागत रुपमै कब्जा जमाएर बसेका राजनीतिक दलहरुको उद्गम थलो नयाँ शक्ति रास्वपाले गल्र्यामगुर्लुम भत्काई दिएको छ । २००७ सालमा राणा विरोधी आन्दोलनको इतिहास बोकेको नेपाल गोर्खा परिषद हुँदै नेपाली कांगे्रसमा रुपान्तरण भएको सक्ति २०१५ सालमा आएर आफ्नो विरासत स्थापित गर्न सफल भयो । २००६ सालमा स्थापना भएको नेकपा २०४६ सालको पञ्चायत विरुद्ध जनआन्दोलन लगाएत विभिन्न संघर्ष जेलनेल यातनाको विरासत बोकेको एमाले २०४८ सालमा आएर स्थापित हुन सक्यो । त्यस्तै २०५२ सालबाट वर्ग संघर्षको संखघोष गरी सशस्त्र संघर्षको बाटो अख्तियार गरेर हजारौं नेपाल आमाका होनहार छोरा छोरीको वलिदान गरेर आएको पार्टी माओवादी, २०६४ सालमा आएर मात्र आफ्नो विरासत र औचित्य सावित गर्न सफल भयो । जसले नेपालको एकात्मक राज्य ब्यवस्था र राज्य पुनसंरचनाको स्वरुप बदलियो । २४० वर्षे इतिहास बोकेको राजसंस्थाको अवसान हुन पुग्यो । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । मुलुक धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रणालीमा प्रवेश ग¥यो । झण्डै डेढ दशक पार गरिसकेको यो ब्यवस्थाले जनताका आधारभूत हक अधिकारहरुलाई न्यायोचित रुपमा सम्बोधन गर्न सकेन । यसले राज्य ब्यवस्थामा परिवर्तन ल्याएपनि जनताको आर्थिक अवस्थामा कुनै परिवर्तन ल्याउन सकेन ।
इतिहासका विभिन्न कालखण्डको विरासत बोकेका राजनीतिक सक्ति र नेतृत्वले सामान्य महत्वका आधारभूत विषय सुशासन र सार्वजनिक सेवा वितरण जस्ता जीवन र जनतासँग प्रत्यक्ष गाँसिएका सवालमा चुक्न पुगे, तव बाध्यात्मक रुपमा आमनागरिकहरुमा बैकल्पिक सक्ति र सक्षम नेतृत्वको अपरिहार्यता अझै बढ्न गयो । यसले परम्परागत पार्टी र नेतृत्व प्रतिको चरम आक्रोस र वितृष्णाको विचबाट पूर्वसञ्चारकर्मी रवि लामिछानेको नेतृत्वमा निर्माण भएको रास्वपा जनताका लागि ढुंगा खोज्दा देवता भेटे झै भयो । सो पार्टी निर्माण देखिनै चर्चामा रह्यो उसले छोटो समयमा सर्वथा दुनियाँको अगाडी चुके र अपत्यारिलो ढंगबाट आफूलाई स्थापित ग¥यो । २०४८ सालदेखि निरन्तर झुट, कपट र छलछामको कुलिन राजनीतिबाट ओतप्रोत भएका जनताको आशा, विश्वास र सपनाको ब्यापार गरेर खान पाल्केका खसीको टाउको देखाएर गोरुको मासु बेच्ने अनैतिक र अपराधिक गिरोहहरुको सत्ताको सिंहासनमा एउटा ठूलै खैलाबैला पैदा भएको छ । यसले थोरै उपलब्धी हासिल गरेता पनि यसको दूरगामी असर भने पुराना दलहरुले सोचे भन्दा फरक हुनेछ । स्थानीय निर्वाचनबाट प्रारम्भ भएको हर्क साम्पाङ र बालेन साहको स्वतन्त्र उदयले दिएको नविन सन्देशले आमजनतामा नयाँ चेतनाको उभार ल्याएको छ । राजनीतिमा युवाहरुको हस्तक्षेप र जागरणको सर्वत्र लहरले आमूल परिवर्तनको दिशा तय भएको छ । यसले मै हुँ भन्ने राजनीतिक खेलाडीहरुलाई फलामको चिउरा सावित भएको छ । मुख्य राजनीतिक दलहरुले अँगालेका बिचार सिद्धान्त र कार्यक्रम अनुरुपको पहिचान र ब्यवहार झल्कने संगठन र क्रियाकलाप नहुँदा एवं राजनीतिक मुल्य मान्यता र इमान्दारीतामा दृढ हुन नसक्दा घोषित सुशासन र समृद्धिका वाचालाई पुरा गर्न नसक्दा यसले शासकिय वृत्तमा स्वार्थ र लिप्त कुलिनतन्त्रलाई प्रष्टसँग दर्साउँछ । यो प्रवृत्तिले अवको राजनीतिक यात्रा प्रष्ट देख्न सकिन्छ । इतिहास र विरासतको आडमा गरेका अनैतिक अपराधको पर्दाफास भैसकेको छ । कमजोर वर्तमानको जगमा आफूलाई उभ्याएर अझ मासिनेकी समयको माग र परिवर्तित अवस्थाको सापेक्षतामा आफूलाई सुधार्ने अहम सवाल प्रति घोत्लिने बेला आएको छ । अन्यथा नयाँ शक्ति भएर उदायकाहरुको राजनीतिमा जरा गडिदै जाने छ, पूरानाको उखेलिंदै । मुलुकलाई सधैं अतिरञ्जित सैद्धान्तिकरण गर्ने, शास्त्रिय शब्दाडम्बरले भ्रमित पार्ने, व्यवहारमा सिङ्को नभाच्ने र सुधारका लागि आवश्यक पहल कहिल्यै नथाल्ने । त्यस्ता पार्टी अनि नेतृत्वप्रति जनता र कार्यकर्ता सधैं सम्मोहित भैरहने कदापी सम्भव छैन । नेतृत्वप्रति विश्वास भरोसा र आस्थामा खडेरी लाग्दा पार्टीप्रति जनतामा लगाव र झुकाव कम हुँदै गएको छ । पुरनाप्रति वितृष्णा र नयाँप्रतिको आर्कषण ह्वात्तै बढेर गएको छ । जनताको तागतका सामू शासक रक्तिभर टिक्न सक्दैन भन्ने उदाहरण यो निर्वाचनबाट प्रमाणित भएको छ । सत्तामा रहेका ६ मन्त्रिको लज्जास्पद हारले जनताको तागतको तौल कति छ भन्ने प्रष्टै भएकोछ । यस परिणामले सत्ता सिंहासनमा खत्राको घण्टी बजेको छ । सच्चिने कि थच्चिने भन्ने सन्देश मुलक दवाव सृर्जना भएको छ । मुलुकको भकारी रित्याउने भ्रष्ट राष्ट्रघाती जनविरोधी मुसाहरुका विरुद्ध परम्परागत वेथिती माथिको प्रहार गर्न संसद् र सरकारलाई इमान्दार बिरालो उपहार भएको छ । रास्वपा र स्वतन्त्र संसादहरुको कार्यशैली हेर्न बाँकी छ । ढुकुटी रित्याउने मुसाको सिकार गर्दछन् की उल्टै राज्यको दुधको कुडे रित्याउन लालाहित हुनेछन् । त्यसको समीक्षा गर्न भने अलि हतार हुने छ । सिकारी बिरालो चोर मुसाहरुको बथानमा छिर्न पाउने अवसर बल्ल निर्माण भएको छ । नयाँहरुले परीक्षाको प्रवेशपत्र हासिल गरेका छन् । अब केहि समय पश्चात् परीक्षाको हलमा पुग्नेछन् । अवको पाँचबर्ष अवधि नयाँ पार्टी र नेतृत्वको सम्भावना र चुनौति उसले गर्ने कर्मका आधारमा निर्भर गर्नेछ । पुराना पार्टी र नेतृत्वको खराब र सबल पक्षको समीक्षा गर्दैै गर्दा नयाँ उदयमान राजनीतिक नेतृत्वहरुको चुनौतिहरु पनि कम सकसपूर्ण देखिदैनन् । संसदमा सप्तरङ्गी विचार सिद्धान्त र आस्था बोकेका पार्टी र नेतृत्वहरु प्रवेश गर्दै छन् । राजसंस्थालाई काँधमा बोकेर पुरातनवादी राप्रपाको राष्ट्रिय राजनीतिमा पुनरागमन भएको छ ।
जसमा र लोसपाको राजनीतिक विरासतलाई खुम्चाउँदै मधेशबाट सिके राउत र पश्चिम तराईबाट थारुहट आन्दोलनको विरासतको गर्वबाट जन्मेको रेशम चौधरीले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टी नवउदय भएको छ । भने कांगे्रस, एमाले माओवादी र एकिकृत समाजवादीको समेत जर्वजस्त उपस्थित निश्चित नै छ । अब निर्माण हुने संसद र सरकारमा आइपर्ने चुनौतिको भार नयाँ पार्टी र नेतृत्वका लागि कम सकस पूर्ण भने अवश्य हुने छैन । यसले जनतामा जागेको आस्थाप्रति पूर्नविराम लाग्ने खतरा पनि कम छैन । यति थोरै समयमा उदय भएका नयाँ शक्ति र नेतृत्वले यति धेरै लोकप्रियता र जनमत बटुल्नुमा परम्परागत राजनीतिक दलहरुको यथास्थितिबादी चरित्र, व्यक्तिगत स्वार्थ, परिवारवाद, राम्रालाई भन्दा हाम्रालाई च्याप्ने प्रवृत्ति र अहंकारवादी मनोविज्ञानले मुख्य भूमिका खेलेको बुझ्न गा¥हो नपर्ला । पूराना राजनीतिक पार्टी र नेतृत्वमा लागेका उहि रोगको सिकार हुनबाट बच्ने क्षमता र सक्ति नयाँ यूवा नेतृत्वहरुमा मिलोस् जनतामा आएकोचेतना यूवामा पलाएको जागरण मुलुक निर्माणको हुटहुटी समृद्ध नेपाल सुखि नेपालीको आकांक्षालाई नवनिर्वाचित जनप्रतिनिधिहरुले पुरा गर्न सकुन् शुमकामना ।