बनेपा/वैदेशिक रोजगारीबाट फकिएका महिलाहरुले आफुहरुलाई समाजले फरक नजरले हेर्ने गरेको बताएका छन् । अन्तराष्ट्रिय आप्रवासी दिवसको अवसरमा सुरक्षित आप्रवासन कार्यक्रम सामीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले उक्त गुनासो गरेका हुन् ।
श्रमजीवि महिला सञ्जालकी सदस्य निर्मला काफ्ले वैदेशिक रोजगारीबाट फर्केको महिलालाई घरपरिवार, समुदायमा घुलमिल हुन कठिन रहेको बताउनुभयो । महिलाहरु अनेक लाञ्छनाको शिकार भएको उहाँको भनाई थियो । त्यति मात्रै होइन आफुले कमाएको सम्पतिमा आफ्नै अधिकार नहुँदा पनि विदेशमा गरेको श्रम व्यर्थ हुने गरेको सहभागिहरुले बताए । धुलिखेल ९ घर भएकी शान्ति श्रेष्ठ मलेसियामा १६ वर्ष बस्नुभयो । दुःख गरेर कमाएको रकम आफन्तले फिर्ता नगरेपछि उहाँको १६ वर्षको दुःख त्यसै खेर गएको छ । वैदेशिक रोजगारीको सिलसिलामा भाषाको ज्ञान नहुनु, सिपको अभावका कारण भोग्नु पर्ने कठिनाई थुप्रै छन् । आफ्नै देशमा पनि आफन्तबाट ठगिनु परेको पीडितहरुको गुनासो छ । वैदेशिक रोजगारीमा जाने तयारी गरिरहनु भएकी कविता खत्री आफन्तबाट सुरुमा नै ठगिनु परेको बताउनुहुन्छ । विदेश पठाइदिन्छु भनेर लगेको करिव ३ लाख रकम आफन्तले अझै फिर्ता नगरेको उहाँले बताउनुभयो । आप्रबासी कामदार हकहित संरक्षण मञ्च काभ्रेका सचिव निलप्रसाद ढकालले बैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सिप र अनुभवलाई अधिकतम रुपमा प्रयोग र परिचालन गर्नु पर्ने बताउनु भयो । बैदेशिक रोजगारबाट फर्किएका ब्यक्तिहरुलाई लक्षित गरी सिप अनुसारको ब्यवसाय संचालन र रोजगारीको सिर्जना गरी सामाजिक तथा आर्र्थिक पुर्नस्थापना गर्नमा तिनै सरकारले ध्यान दिनु पर्ने ढकालले बताउनु भयो ।
काभ्रेमा सुरक्षित आप्रवासन कार्यक्रम सामीले वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने विषय, पुगेपछि र फर्किए पछि पुँजीको सहित परिचालनका बारेमा परामर्श दिँदै आएको छ । काभ्रेको धुलिखेल नगरपालिका, मण्डनदेउपुर नगरपालिका, भुम्लु गाउँपालिका र रोशी गाउँपालिकामा कार्यक्रम सञ्चालनमा रहेको कार्यक्रम संयोजक बसन्त कुँवरले जानकारी दिनुभयो । सामीले वैदेशिक रोजगारीमा रहेका कामदारका परिवारका सदस्यलाई लक्षित गरेर पनि कार्यक्रम गरिरहेको छ । काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन सरोकारवाला पक्षसँग छलफल गरिरहेको बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले रोजगारकिा क्रममा हुने ठगी र राहत तथा क्षतिपुर्तिको विषयमा काम गर्दै आएको उहाँले बताउनु भयो । वैदेशिक रोजगारीसँग सम्बन्धित रहेर जिल्ला प्रहरी कार्यालयमा पनि उजुरी परेको छ । महिला विदेश जाँदा र पुरुष विदेश जाँदाका फरक फरक समस्या जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् । पुरुष फर्कदा ९ जना र महिला फर्कदा ८ जानले विभिन्न कारण देखाई निवेदन दर्ता गरेका जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रहरी नायव उपरिक्षक अञ्जना श्रेष्ठले बताउनुभयो । वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई वडा तहबाट नै परामर्श आवश्यक रहेको उहाँको भनाई थियो । नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाले समग्र जिल्लाको तथ्यांकको विश्लेषण गरेर आवश्यक कार्यक्रम तयार पार्नुपर्नेमा जोड दिनुभएको छ । कार्यक्रममा रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, धुलिखेल नगरपालिका निमित्त प्रमुख प्रशासयिक अधिकृत भोजराज ठकुरी लगायतले मन्तब्य राख्नु भएको थियो ।









