आठ जनाको सामुहिक अन्त्येष्टि
धुलिखेल/बेथान्चोक गाउँपालिका वडा नम्वर ४ चलालगणेस्थानमा भएको दुर्घटनामा ज्यान गुमाउनेहरु मध्ये एकै परिवारका ८ सदस्यको अन्त्येष्टि चार दिन पछि शुक्रबार स्वयम्भुमा हुने भएको छ । पीडितका आफन्त बैदेशिक रोजगारका क्रममा मलेसिया र जापानबाट विहिबार राती नेपाल फर्किएसँगै शुक्रबार शव बुझेर लगेका हुन् ।
‘१७ जना मृत्यु भएका मध्ये कुमार तामाङको परिवारका ८ सदस्य छन्’–प्रहरी प्रमुख एसपी चक्रराज जोशीले भन्नुभयो–‘कुमारको साईलो छोरा जयराम मलेसिया र कान्छो छोरा अम्मर जापानबाट विहिबार राति फर्किए पछि शव बुझाईएको छ ।’ काभ्रे पुण्यवती यातायात प्रालिले बस रिजर्भमा गएको भए पनि समितिमा आबद्ध भएकाले मृतकहरुको किरियाका लागि नगद ५० हजारका दरले उपलब्ध गराएको छ भने क्षतिपूर्ति स्वरुप ५ लाख दिने भएको छ । घाईतेहरुको निःशुल्क उपचारको ब्यवस्था गर्ने बताएको छ । १७ मृत्यु भएको घटनामा २२ जना घाईते भएका थिए । घाईते मध्ये ५ जनाको डिस्चार्ज भईसकेको छ भने ६ जनाको राजधानीका विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने बाँकीको बनेपाको शिर मेमोरियल र धुलिखेल अस्पतालमा उपचार भईरहेका छ ।
मंगलबार मसिंर २७ गते बनेपा ११ सल्लेबाट बेथान्चोक ५ च्याल्टी भान्जाको छेवारका लागि रिजर्भ गएको वा ३ ख ४३८५ नम्वरको बस साँझ फर्कने क्रममा दुर्घटनामा परेको थियो । तिब्र गतिका कारण ब्रेक नलाग्दा दुर्घटना भएको प्रत्यक्षदर्शी डिकमान लामाले बताउनु भयो । भान्जाको छेवारमा गएका एकै परिवारका १२ मध्ये ८ जनाको निधन भएको थियो । निधन हुनेहरु पनि सबै आफन्त हुन् । ८ जनाका आफन्त बाहिर भएकाले शबको अन्त्येष्टी भएको हो । अन्य ९ जनाको बुधबार नै मृतकलाई क्षतिपुर्ति, किरिया खर्च र घाईतेको उपचार गरिदिने मौखिक सहमति पछि अन्त्येष्टि भएको हो ।









