2026 August 23/ 07:45: 27pm

    धुलिखेल/शैक्षिक केन्द्र, विश्व विद्यालयहरु राजनीतिक हस्तक्षेप मुक्त भई स्वतन्त्र तरिकाले अध्ययन अनुसन्धान गर्ने केन्द्र बन्नुपर्ने काठमाडौ विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनु भयो । ‘विश्वविद्यालय भनेको ज्ञान, सीप र लुकेको प्रतिभालाई प्रस्फुटन गराई समाज र देशको लागि सहयोग पु¥याउने क्षेत्रका रुपमा केन्द्रीत हुनुपर्छ’–प्रधानमन्त्री देउवाले भन्नुभयो । 
विहिवार धुलिखेलमा आयोजित काठमाडौ विश्वविद्यालयको २८ औं दीक्षान्त समारोहमा दीक्षान्त भाषण दिने क्रममा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले उक्त भनाई राख्नुभएको हो । दीक्षान्त भाषणमा उहाँले काठमाडौ विश्वविद्यालयले तीन दशक देखि अनवरत रुपमा उत्पादन गर्दै आएको शैक्षिक जनशक्तिले देशमा मात्र नभई विदेशमा समेत उत्कृष्ट योगदान गर्दै आएको बताउनु भयो । कुलपति देउवाले दीक्षित विद्यार्थीहरुलाई सपथ ग्रहण गराउँदै उच्च शिक्षाको क्षेत्रमा काठमाडौ विश्वविद्यालयको आफ्नै पहिचान भएकाले यसको सही सदुपयोग गरि देशमा मात्र हैन विदेशमा समेत उत्कृष्टता हासिल होस भन्दै सफल र सुखद् भविष्यको कामना गरेका थिए । 
शैक्षिक केन्द्रलाई राजनीति मुक्त बनाई स्वतन्त्र रुपमा काम गर्न दिनुपर्छ भन्ने प्रधानमन्त्रीको भनाईलाई भने त्रिभुवन विश्वविद्यालयमा महिनौ देखि नेपाल विद्यार्थी संघबाट तालाबन्दी गर्दा शैक्षिक कार्यक्रम ठप्प भएको अवस्थाको स्मरण गरिएको भान हुन्थ्यो । दीक्षान्त कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ प्रा.डा.मृगेन्द्रराज पाण्डेले देशमा युवा पुस्तामा आएको जागरुकताको प्रतिफल स्वरुप मेडिकल क्षेत्रमा मात्र हैन भर्खरै सम्पन्न निर्वाचनमा युवा चिकित्सकहरुले पनि सहभागी भै बिजय हासिल गरेका छन् । यो परिणामले नागरिकले युवा पुस्तामा ठूलो भरोसा गरेको प्रमाणित हुन्छ । त्यसैले दीक्षित समारोहमा भेला भएको यो उपस्थितिले आम नागरिकको भावनाको कदर गर्दै अध्ययन अनुसन्धानका आधारमा अघि बढ्न र सिपको इमान्दारी पूर्वक सदुपयोग गरि अघि बढ्न प्रेरित गर्ने बताउनु भयो । 
विहीवार दीक्षित हुनेहरुमा आर्टस्, एजुकेशन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विधाका ८ जना पीएचडी, ८५ जना एमफिल, स्नातक र स्नातकोत्तर तहका १  हजार ६ सय ६ जना सहित १ हजार ६ सय ९९ जना विद्यार्थी रहेका र त्यस मध्ये स्कुल अफ आर्टसका २ सय २० जना, एजुकेशनका २ सय २ जना, इन्जिनियरिङका २६ जना लका ४० जना, म्यानेजमेन्टका ४ सय ६२ जना, मेडिकल साइन्सेजका ७ सय १२ जना र साइन्सका ३७ जना विद्यार्थी रहेको काठमाडौ विश्व विद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले जानकारी गराउँनुभयो । 
दीक्षीत हुने विद्यार्थीहरु मध्ये ७ सय ३४ जना छात्र र ९ सय ६५ जना छात्रा रहेका छन् । दीक्षित हुनेमा अष्ट्रिया, क्यानडा, चीन, जर्मन, भारत, इटाली, माल्दिभ्स, पोर्चुगल, रुस, सिंगापुर, स्पेन, श्रीलंका, ताईवान र संयुक्त राज्य अमेरिका गरि १४ देशका १ सय ८६ जना विदेशी विद्यार्थी रहेका छन् । विश्व विद्यालयमा यस बर्ष पहिलो पटक मास्टर्स अफ इन्जिनियरङ इन स्यानिटेशन टेक्नोलोजीमा ६ जना र मास्टर्स अफ साइन्स इन स्यानिटेशन टेक्नोलोजीमा १ जना गरि ७ जनालाई उपाधि प्रदान गरिएको डा.थापाले जानकारी गराउनुभयो । २८ औं दीक्षान्त समारोह सम्म पुग्दा काठमाडौ विश्व विद्यालयबाट ४० हजार ३५ जना विद्यार्थी दीक्षीत भैसकेका छन् । जसमा ५५ देशका ५ हजार ३९ जना विदेशी विद्यार्थी रहेका छन् । काठमाडौ विश्व विद्यालयमा दीक्षीत हुनेमा छात्र भन्दा छात्रा १३ प्रतिशतले बढी रहेका छन् । दीक्षान्त समारोहमा सहकुलपति देबेन्द्र पौडेल, रजिष्टार डा.अच्युत वाग्ले, डीन राजेन्द्र कोजू, उपकुलपति भोला थापा लगायतका अतिथि तथा विशेष अतिथिहरुले दीक्षीत विद्यार्थीहरुलाई उपाधि प्रदान गर्नुभएको थियो ।