९ करोडको भ्रष्टाचार मुद्दा
तेमाल/तेमाल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, पोखरी नारायणस्थान, काभ्रेपलाञ्चोकका तत्कालीन अध्यक्ष एवं काँग्रेस नेता सलाम सिं लामालाई भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
नेता लामा सहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शर्मिला लामिछाने, कन्ष्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.का संचालकहरु समेत ७ जना उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप पत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ पुष ३ गते विशेष अदालतमा दायर गरेको हो । दायर पत्रमा ५ वटा शिर्षकमा ९ करोड ७५ लाख रुपैया भन्दा धेरै राजश्व छली भएको प्रमाण पेश गरिएको छ । तेमाल गाउँपालिकाका अध्यक्ष र व्यवसायी समेतको मिलेमतोमा नदीजन्य पदार्थ उत्खनन सम्बन्धी ठेक्कामा कबोल अङ्क र सम्झौता अङ्क फरक पारी राजस्व चुहावट गरे गराएको भन्ने उजुरीमा अनुसन्धान गरी भ्रष्टाचारजन्य कसुरमा संलग्न ब्यक्तिहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७५/०७६ मा तेमाल गाउँपालिकाको क्षेत्रभित्र पर्ने विभिन्न बगरमा रहेको नदीजन्य पदार्थ उत्खनन्, संकलन तथा उपयोग गरी राजश्व संकलन गर्न २०७५ मंसिर १८ गते प्रकाशन भएको सूचनामा बोलपत्रदाताहरुले पेश गरेको सूचनामा उल्लेख भएभन्दा कम परिणाममा मात्र नदीजन्य पदार्थ उत्खनन संकmन गर्ने भनी कबोल अंकभन्दा घटी सम्झौता रकम कायम गरी ठेक्का सम्झौता रकम कायम गरी ठेक्का सम्झौता गरेको, सम्झौता विपरीत सम्पूर्ण बगर क्षेत्रबाट उत्खनन संकलन गर्ने गरी सलाम सिं लामाको नेतृत्वले इजाजत दिएका थियो । सोहि ठेक्कामा २ करोड ५७ लाख २ हजार १ सय ९८ राजश्वको दोब्बर ५ करोड १४ लाख ४ हजार ३ सय ९७ जरिवाना माग गरेको छ ।
त्यस्तै आर्थिक वर्ष २०७५/०७६ मा ए.एण्ड डि.वि. कन्ट्रक्सन प्रा.लि.का संचालक अनिश बल र आधिकारिक प्रतिनिधि बिजकुमार दोङले ५२ लाख २३ हजार ६ सय १३, दुवाकोट कन्स्ट्रक्सन प्रा.लि. भक्तपुरका संचालक रमचन्द्र प्रधानाङ्गले आर्थिक वर्ष २०७५/२०७६ भएको टेण्डरमा १ करोड २९ लाख ४५ हजार २ सय ५१, सालीनदी कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लीका संचालक बेदनारायण दंगालले आर्थिक वर्ष २०७५÷२०७६ मा ७५ लाख ३३ हजार ३ सय ३३ र सालीनदी कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा.ली र दुवाकोट कन्ट्रक्सन प्रा.लीका आधिकारीक प्रतिनिधि सत्यमान लामाले २ करोड ४ लाख ७८ हजार ५ सय ८५ रुपैयाँ राजश्व हिनामिना गरेको दायर गरिएको मुद्दामा उल्लेख छ । अध्यक्ष सलाम सिं लामाले अन्य योजनाहरुमा पनि रकम हिनामिना गरेको, आफुखुशी रकम विनियोजन गरिएको भन्दै थप उजुरीहरु पनि परेका छन् ।









