– १ हजार ६ सय ९९ विद्यार्थी दीक्षित हुने
धुलिखेल/काठमाडौँ विश्वविद्यालय (केयू) को २८ औँ दीक्षान्त समारोह अन्तर्गत पहिलो चरणमा एक हजार ६ सय भन्दा बढी विद्यार्थी दीक्षित हुने भएका छन् । पहिलो चरणमा एक हजार ६९९ विद्यार्थी दीक्षित हुने विश्वविद्यालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, स्कुल अफ ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विधाका आठ जना पीएचडी, ८५ जना एमफिल, स्नातक र स्नातकोत्तर तहका एक हजार ६०६ जनासहित एक हजार ६९९ जना विद्यार्थी दीक्षित हुने छन् । उनीहरुमध्ये मध्ये स्कुल अफ आर्ट्सका २२० जना, एजुकेसनका २०२ जना, इन्जिनियरिङका २६ जना, स्कुल अफ लका ४० जना, म्यानेजमेन्टका ४६२ जना, मेडिकल साइन्सेजका ७१२ जना र स्कुल अफ साइन्सका ३७ जना विद्यार्थी रहेका छन् । दीक्षित हुने विद्यार्थीमध्ये ७३५ जना अर्थात ४३ दशमलव २ प्रतिशत पुरुष र ९६५ जना अर्थात ५६ दशमलव ८ प्रतिशत महिला विद्यार्थी छन् । दीक्षित हुने कुल विद्यार्थीमध्ये १० दशमलव ९५ प्रतिशत विदेशी विद्यार्थी छन् । यस वर्ष अष्ट्रिलिया, क्यानडा, चीन, जर्मनी, भारत, इटाली, माल्दिभ्स, पोर्चुगल, रुस, सिङ्गापुर, स्पेन, श्रीलङ्का, ताइवान र संयुक्त राज्य अमेरिका गरेर १४ देशका १८६ जना विदेशी विद्यार्थी दीक्षित हुने भएका हुन् । २८ औँ दीक्षान्त समारोहको पहिलो चरणमा केयूको इतिहासमा पहिलो पटक मास्टर्स अफ इन्जिनियरिङ इन सेनेटेशन टेक्नोलोजीमा छ जना र मास्टर्स अफ साइन्स इन सेनेटेशन टेक्लोजीमा एक जनालाई उपाधि प्रदान गरिने छ । हालसम्म विश्वविद्यालयबाट ४० हजार ३५ जना विद्यार्थी दीक्षित भएका छन् ।
दीक्षान्त समारोहमा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यक्षता, वरिष्ठ फिजिसियन तथा मुटु रोग विशेषज्ञ डा. मृगेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यता र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवम् विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेलको उपस्थिति रहनेछ । पत्रकार सम्मेलनमा विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापा, विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. अच्युत वाग्ले, विश्वविद्यालयका प्रवक्ता उद्धवप्रसाद प्याकुरेलले विश्वविद्यालयले सञ्चालन गरेका कार्यक्रमहरूको बारेमा जानकारी गराएका थिए ।









