2026 August 23/ 07:45: 25pm

    बनेपा/बनेपा ११ सल्ले र  बनेपा १४ काक्राबारीबाट बेथान्चोक ५ च्याल्टीमा छेवारका लागि गएको रिजर्भ बस दुर्घटना हुँदा निधन हुने १७ मध्ये ८ जना एकै परिवारका छन् । मृत्यु हुनेहरु सबै आफन्त हुन् । घाईते २२ जनाको उपचार भईरहेको छ । मृत्यु हुनेहरुको शव पोस्टमार्टम पछि अन्त्येष्टी  गरिएको छ । आफन्त मुलुक बाहिर भएकाले केहिको अन्त्येष्टी भएको छैन । 
    बनेपा ११ का ८ जना र १४ का २ जना गरी १० जनाको निधन हुँदा सिंगो गाउँ शोकमा डुबेको छ । दुर्घटनामा तेमालका २, बेथान्चोकका २, मण्डनदेउपुर १, ललितपुर १, मकवानपुर जिल्लाका १ एक जनाको निधन भएको छ  । श्रेयाको परिवारका ८ जनाको निधन भएको छ । मृत्यु हुनेहरुमा २ बालक र एक बालिका छन् । ८ पुरुष र ९ महिला छन् । बनेपा नगरपालिका वडा नम्बर ११ र १४, तेमाल, मण्डनदेउपुर, मकवानपुरका आफन्त समेत लिएर गएको बा ३ ख ४३८५ नम्बरको बस विहान ९ बजे बनेपाबाट बेथान्चोक गाउँपालिका वडा नम्बर ५ च्याल्टीमा मुकुल वाईवाको छोरा ११ वर्षका योकेश वाईवाको छेवारमा निम्ता मान्न पुगेको थियो । मामा बनेर गएका आफन्तहरु दिनभर छेवारमा ब्यस्त भई साँझ पौने ६ बजे बनेपा फर्कने क्रममा बेथान्चोक ४ गणेस्थान नजिकै मुल सडकमा पल्टिएको थियो । ‘बसमा ब्रेक लागेन, सिटमै बस्नुस है नआत्तितुनस भनेका थिए, एक्कासी घटघट आवाज आयो । बस पल्टिएको थाहा पाएँ । औला दिइरहें कोहि आउन सकेन’–घाईते निरुमाया वाईवाले भन्नुभयो–‘बसका चालकले रोक्न खोज्दा ब्रेक नलागेकाले बस पल्टिएको हुन सक्छ । माथि देखि नै बस अडिएन भन्दै थिए । हामीले डरले चिच्याउँदा चिच्याउँदै बस पल्टिसकेछ ।’ 
    स्थानीय तथा उद्धारकर्मी डिकमान लामाका अनुसार बसको स्पिड सँगै ब्रेक लाग्न नसकेकाले भित्तामा ठोक्किएर पनि बल्ड्याङ्क खाएकाले धेरै क्षति हुन पुगेको हो । धेरैलाई जिवित नै उद्धार गर्न सकिएको थियो भने घटनास्थलमै १७ जना मरेका ब्यक्तिहरुको शब स्काभेटरको सहयोगमा समेत निकालिएको थियो । चालक ललितपुर निवासी तेजप्रसाद तिमल्सिनाले सबै यात्रुलाई बचाउन खोज्दा खोज्दै दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ । घाईतेहरु अधिकांश घटनास्थलसम्म आईपुग्दासम्म छेवारमा खाएको खानाका कारण निदाउन थालिसकेका थिए । सह चालक सन्तोष चौलागाईले बस धेरै गतिमा नभए पनि रोक्न खोज्दा खोज्दै ठोक्किन गएको हुन सक्ने बताउनु भयो । घाईते मध्ये ४ जनाको स्वास्थ्य अवस्था गम्भिर छ । बालिका श्रेया तामाङ बाहेक अधिकांश उपचार गरिरहेका छन् । 
शोकमा जिल्ला 
    काभ्रेपलाञ्चोक जिल्लामा कोशिपारीको बस दुर्घटना पछि धेरै जनाको क्षति हुने गरी भएको यो भुकम्प र कोभिड पछिको अर्काे ठुलो विपद हो । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले घाईतेहरुको उद्धार तथा उपचारका लागि कुनै कसुर बाँकी नराखेको बताउनु भएको छ । बनेपाको शिर मेमोरियल र धुलिखेल अस्पतालका अलावा राजधानीका अस्पतालहरुमा घाईतेहरुको उपचार भईरहेको छ । घाईतेहरुलाई सान्त्वना दिन तथा मृतकका आफन्तहरुलाई समवेदना प्रकट गर्न जिल्लाका विभिन्न क्षेत्रका ब्यक्तिहरु अस्पताल परिसरमा भेला भएका थिए । नेकपा एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुले शोक बक्तब्य जारी गरी एमालेका जिल्ला सदस्य रामकुमार तामाङ लगायत अन्य मृतकहरु प्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गरेको छ । साथै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरी घाईतेहरुको निशुल्क गुणस्तरीय उपचारका लागि अनुरोध गरेको छ । बेथान्चोक गाउँपालिका र बनेपा नगरपालिकाले शोकमा परेकाले बुधबार सार्वजनिक विदा दिएका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र लगायतका राजनीतिक दलहरुले विज्ञप्ती मार्फत शोक ब्यक्त गरेका छन् । जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय लगायतले पनि शोक बक्तब्य जारी गरेका छन् । शवको पहिचान भए लगत्तै धुलिखेल अस्पतालमा शवको पोस्टमार्टम सकिएको थियो । एकै गाउँका धेरै ब्यक्तिको निधन भएकाले धार्मिक संस्कार अनुसार अन्त्येष्टीका लागि प्रशासन, राजनीतिक दल र जनप्रतिनिधिहरुले समन्वय गरिरहेका छन् । 
एक्ली श्रेया
    बनेपा स्थित अर्किड स्कुलको नर्सरी कक्षामा अध्ययनरत ६ बर्षिया श्रेया तामाङले मंगलबार काभे्रेको बेथान्चोक गाउँपालिका वडा नम्वर ४ चलालगणेस्थानमा भएको बस दुर्घटनामा बाबु बुद्ध र आमा कोपिलालाई गुमाउनु पुग्नु भयो । बसमा सँगै यात्रा गरेकी श्रेयाको शरिरभरी सिसा र रगत थियो । उनलाई चोटपटक छैन । तर पटक पटक उनले अभिभावक खोजिरहेकी छिन् । 
    शिर मेमोरियल अस्पतालको बाल विभागमा श्रेयाको उपचार भईरहेको छ । उनलाई स्थानीय डिकमान लामाले सकुशल बसबाट उद्धार गर्नु भएको थियो । ‘बसबाट निकाल्ने वित्तिक्कै श्रेयाले बाबुआमाका बारेमा सोध्नु भयो’–स्थानीय डिकमान लामाले भन्नुभयो–‘शरिरभरी सिसाका टुक्रा र अरु घाईतेको रगतको छिटा उहाँको शरिरमा थियो ।’  ‘बुबा आमा दुबै गुमेको खवरले हामी पनि विक्षिप्त छौं, कोठामा सँगै बसेको नाताले छोरी श्रेयाको रेखदेखका लागि अस्पताल बसिरहेको छु’– सिता तामाङले भन्नुभयो–‘बच्चाले बुबा आमा कहिले आउनु हुन्छ भनेर सोधिरहेकी छिन् ।’ अस्पतालमा विद्यालयकी शिक्षिका शुशिला श्रेष्ठ पनि हुनुहुन्छ । उहाँका अनुसार विद्यालयमा ज्ञानी र जिज्ञासु स्वभावकी छात्रा मध्ये श्रेया एक हुन् । उनको पढाई तिक्ष्ण छ । श्रेयाकी आमा २६ बर्षिया कोपिला थांका लेख्नुहुन्थ्यो भने श्रीमान बुद्ध फर्निचरको काम गर्दै आउनु भएको थियो । कोपिला र बुद्धको एक मात्र सन्तान श्रेया अभिभावक विहिन बन्न पुग्नु भएको छ । 
    अस्पतालमा उपचारार्थ अर्काे घाईते २३ बर्षिय शेरबहादुर तामाङले बुबा आमा गुमाउनु भएको छ । उहाँको ढाडमा गम्भिर चोट लागेको छ । हेमा तामाङ र आकुर तामाङ दुबैले उक्त घटनामा ज्यान गुमाउनु भएको छ । तेमाल घर भएकी २९ बर्षिया टिकालक्ष्मी तामाङ र उनका छोरा ९ बर्षिय गुरु लक्ष्मणदास तामाङको पनि निधन भएको छ । आफन्तको छेवारमा गएकाले मृत्यु हुनेहरु अधिकांश आफन्त छन् । केहि छिमेकी हुन् । 

दुर्घटनामा मृत्यु भएकाहरु
१)  ललितपुर जिल्ला महांकाल गाउँपालिका ६ बस्ने वर्ष २२ को तेजप्रसाद तिमल्सिना (चालक)
२) काभ्रे जिल्ला बनेपा ११ बस्ने वर्ष २७ की कोपिला तामाङ 
३) काभ्रे जिल्ला बनेपा ११ बस्ने वर्ष ५५ को कुमार तामाङ 
४) काभ्रे जिल्ला बनेपा ११ बस्ने वर्ष ११ को पुष्कर तामाङ 
५) काभ्रे जिल्ला बेथानचोक गा.पा. ४ बस्ने वर्ष १९ को रविन तामाङ 
६) काभ्रे जिल्ला बनेपा ११ बस्ने वर्ष ७९ की निर्मला तामाङ 
७) काभ्रे जिल्ला बनेपा ११ बस्ने वर्ष २८ की मन्जु तामाङ 
८) काभ्रे जिल्ला तेमाल ८ बस्ने वर्ष २९ की टिकालक्ष्मी तामाङ 
९) काभ्रे जिल्ला तेमाल ८ बस्ने वर्ष ९ का गुरुलक्ष्मण दास तामाङ 
१०) मकवानपुुर जिल्ला इन्द्रसरोवर गा.पा.वडा नम्वर १ बस्ने वर्ष ६ की समीक्षा थिङ 
११) काभ्रे जिल्ला बनेपा ११ बस्ने वर्ष ४३ की हेमा तामाङ 
१२) काभ्रे जिल्ला मण्डनदेउपुर १ बस्ने वर्ष ४१ की चेलिमाया तामाङ 
१३) काभ्रे जिल्ला बनेपा ११ बस्ने वर्ष ५० को आकुर तामाङ 
१४) काभ्रे जिल्ला बनेपा १४ बस्ने वर्ष ४२ को रामकुमार तामाङ 
१५) काभ्रे जिल्ला बनेपा ११ बस्ने वर्ष ३० को बुद्ध तामाङ 
१६) काभ्रे जिल्ला बनेपा १४ बस्ने वर्ष २८ की गिता श्रेष्ठ
१७) काभ्रे जिल्ला बेथानचोक ५ बस्ने वर्ष २४ की मञ्जु तामाङ 

२२ जना घाईतेहरु 
    बनेपा ११ बस्ने बर्ष २७ का हिरामान तामङ, मकवानपुर कुलेखानी बस्ने बर्ष २६ का डोल्मा तामाङ, ३ बर्षको बच्चा, बनेपा नगरपालिका वडा नं ११ बस्ने ५ वर्षको रेनजेन तामाङ, बेथानचोक गाउँपालिका ५ का बर्ष १३ को योगेश तामाङ, कुशादेवी बस्ने बर्ष ३८ को कालु तामाङ, बनेपा नपा ११ बस्ने बर्ष २२ का राजकुमार तामाङ, बेथानचोक ५ बस्ने ३३ बर्षकी निरुमाया तामाङ, बनेपा नपा बसोबास गर्ने बर्ष ३९ का पेमा तामाङ, बनेपामा बसोबास गर्ने ३२ बर्षका राजन तामाङ, बनेपा ११ बस्ने बर्ष २२ को रेशम तामाङ, बनेपा साँगा बस्ने बर्ष १९ को विशाल तामाङ, बनेपा ११ बस्ने बर्ष ३७ को रवी तामाङ, बनेपा नगरपालिका बस्ने बर्ष ३२ को बिकास तामाङ, बनेपा नपा १० बस्ने बर्ष २० को रुपक तामाङ, बनेपा ११ बस्ने बर्ष १९ की निर्मला तामाङ, बनेपा ११ बस्ने बर्ष ४१ की कविता तामाङ, पनौति नपा ४ बस्ने बसका सहचालक बर्ष २८ का सन्तोष चौलागाई, बनेपा १० बस्ने बर्ष २९ को देवराज तामाङ, बनेपा ११ बस्ने बर्ष ६ की श्रेया तामाङ, बेथानचोक गाउँपालिका ५ बस्ने बर्ष ३३ का बिजय वाईवा घाईते छन् । 

छानविन गर्न समिति
    १७ जनाको मृत्यु र २२ जना घाईते हुने गरी भएको दुर्घटनाको छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारको संयोजकत्वमा प्रहरी र ट्राफिक प्रहरी सम्मिलित छानविन समिति गठन भएको छ । छानविन समिति गठन सँगै पीडितहरुले शव बुझेका छन् । 
    प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले मानविय क्षति हुने गरी भएको दुर्घटनाको सत्यतथ्य जाँचबुझ गर्न छानविन समिति गठन गरेको बताउनु भयो । पीडित, ब्यवसायी, जनप्रतिनिधि सहभागि अनौपचारिक छलफलमा छानविन समिति गठन र क्षतिपुर्ति लगायतका विषयमा कुरा उठे पछि कानून अनुसार क्षतिपुर्ति उपलब्ध गराउने र सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गर्ने सहमति भएको थियो । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको बैठकले छानविन समिति गठन गरेको हो । 
    समितिमा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएस्पी ढुण्डीराज न्यौपाने, इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी प्रमुख डिएस्पी रेशम बोहोरा र जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक राजेश सिलवाल रहनु भएको छ । समितिले १० दिन भित्र बेथान्चोक गाउँपालिका वडा नम्वर ४ चलालगणेस्थानमा भएको दुर्घटनाको छानविन गर्नेछ । दुर्घटनाका बारेमा घाईतेहरुले फरक फरक धारणा सार्वजनिक गरिरहेका छन् । चालक तेजप्रसाद तिमल्सिनाको घटनास्थलमै निधन भएको छ । सह चालक सन्तोष चौलागाईले ब्रेक फेल भएका कारण दुर्घटना भएको बयान दिएका छन् । 
    पीडितहरुले ९ जनाको शब बुधबार लिएर गएका छन् भने एकै परिवारका ८ जनाको शव आफन्त जापानबाट आए पछि अन्त्येष्टीका लागि लैजाने भएका छन् । दुर्घटनामा एकै परिवारका ८ जनाको निधन भएको थियो । बनेपा नगरपालिका ११, १४ नम्वर वडाका १० जना, मण्डनदेउपुर र बेथान्चोक, तेमाल, मकवानपुर, ललितपुरका नागरिकहरु गरी १७ जनाको निधन भएको थियो । २२ जना विभिन्न अस्पतालमा उपचारार्थ छन् । बनेपा ११ सल्लेबाट बेथान्चोक ५ च्याल्टीमा आफन्तको छेवारमा गएको रिर्जभ बस मंगलबार फर्कने क्रममा दुर्घटनामा परेको थियो ।