2026 August 24/ 07:06: 20pm

मोतीराम तिमल्सिना
महाभारत

    जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । ६ वर्ष अघि सडकको ट्रयाक समेत नभएको पालिकामा सडक जोडिएसँगै स्तरोन्नतीका लागि विनियोजन भएको अरबौको रकम करोडमा ठेक्का लाग्ने र लाखमा भुक्तानी हुने गरेको छ ।
    ‘संघ, प्रदेश र स्थानीय सरकारको तर्फबाट सडक तथा अन्य पूर्वाधारका लागि अरबौंको रकम विनियोजन हुन्छ, निर्माण ब्यवसायीहरुले करोडमा ठेक्का पार्छन् अनि समयमै काम सम्पन्न नगर्दा लाखमा भुक्तानी हुन्छ’–गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भन्नुभयो–‘निर्माण ब्यवसायीहरुका कारण जनप्रतिनिधिको बदनाम त भएको छ नै बजेटको सदुपयोग नभएका कारण स्थानीयहरु विकासबाट बञ्चित भएका छन् ।’ २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचन पछि महाभारत गाउँपालिका केन्द्र पुग्ने सडक देखि वडा र टोल टोलमा पुग्ने गरी ३ सय ५ किलोमिटर ट्रयाक खोलिएको अध्यक्ष जिम्बाले बताउनु भयो । ‘२०७४ अघि महाभारत पुग्न सिन्धुली जिल्लाको सडक प्रयोग गर्नु पर्दथ्यो’–अध्यक्ष जिम्बाले भन्नुभयो–‘५ वर्ष भित्र महाभारत गाउँपालिकाको केन्द्र पुग्ने मुख्य दुई सडकको ट्रयाक खोलिएको छ भने गाउँपालिका केन्द्रबाट वडा केन्द्र र टोल टोल पुग्ने गरी ३ सय ५ किलोमिटर ट्रयाक खोलिएको छ । अबको योजना भएका सडकलाई स्तरोन्नती गर्ने हो ।’ 

अवधि सकियो, सडक उस्तै
    निर्माण ब्यवसायीको लार्पवाहिका कारण महाभारत गाउँपालिका हुँदै विभिन्न स्थान पुग्ने सडकको निर्माण कार्य अलपत्र परेको छ । २०७९ असार मसान्तमा अवधी सकिएको सडक अलपत्र कारण स्थानीय थप जोखिममा परेका छन् । गाउँपालिकाले पटक पटक समयमै निर्माण कार्य सम्पन्न गर्न ताकेता गरे पनि पहुँचका आधारमा निर्माण कार्य अघि बढ्न सकेको छैन । २०७७ असोज २० गते तामझामका साथ बागमती प्रदेशका मन्त्री रामेश्वर फुँयालले तिनखुट्टेमा शुभारम्भ गर्नु भएको मंगलटार–चारकिल्ला–तिनखुट्टे–बनखु सडक लामो समय अवरुद्ध थियो । महाभारत गाउँपालिकाको तिनखुट्टे देवीटार सडक खण्डको ८.७ किलोमिटर सडक कालोपत्रे गर्ने गरी ४९ करोड रकम विनियोजन भएको थियो । ४९ करोड मध्ये २५ करोड ८२ लाख १० हजार ३ सय १६ रुपैयाँ खर्च गर्ने गरी २०७९ असार ३० गते भित्र सम्पन्न गर्ने गरी २०७७ असार ३० गते सम्झौता गरिएको थियो । 
    बागमती प्रदेश सरकारले रोशी गाउँपालिकाको पिथली रजवास हुँदै महाभारत गाउँपालिकाको बुढाखानी चारकिल्ला तिनखुट्टे देवीटार घर्तिछाप गोकुले सडक निर्माणका लागि बहुबर्षिय योजनामा समावेश गर्ने गरी ५० करोड रकम विनियोजन गरेको थियो । निर्माण कम्पनीले ३७ प्रतिशत कम रकममा ठेक्का सम्झौता गरेको थियो । कन्टिजेन्सी समेत ४० करोड रकम महाभारत गाउँपालिकाको तिनखुट्टे देवीटार सडक खण्डका लागि खर्च हुने छ । इलाम घर भएका डम्बर खड्का उक्त सडक निर्माणका आधिकारीक ब्यक्ति हुन् । २०७९ मसिंर ४ गते सम्पन्न निर्वाचनमा उनी गठवन्धनका तर्फबाट उम्मेदवार थिए । एमाले उम्मेदवार सुबासचन्द्र नेम्वाङसँग प्रतिस्पर्धा गरेका डम्बर खड्काले पहुँचका आधारमा सडक निर्माणमा आलटाल गरेको स्थानीयले बताए । स्थानीय निरबहादुर बोम्जनले पहुँचका आधारमा निर्माण ब्यवसायीले सडक निर्माण नगर्दा स्थानीयहरु संकटमा परेको बताउनु भयो । ‘सर्वसाधारण विरामी भएको अवस्थामा सडक नभएकै कारण दुई दिन बोकेर सडक पुहँचमा पु¥याउनु पर्छ’–स्थानीय धनबहादुर बोम्जनले भन्नुभयो–‘मुख्यमन्त्री, मन्त्री, दलका नेता, सांसद धेरै आए, सडक समयमै निर्माण हुन्छ भन्ने आश्वासन दिए । अवधी सकिँदासम्म सडक निर्माण कार्य १० प्रतिशत पनि भएको छैन ।’ सडक फराकिलो बनाउँदै कालोपत्रे सम्म गर्ने जिम्मेवारी प्राप्त गरेको श्रेष्ठ सक्षम जेभी कम्पनीको आलटालका कारण नागरिकहरुले सास्ति खेप्नु परेको छ । ‘उक्त सडक निर्माण सम्पन्न हुँदा हिउँद र वर्षात दुबै समय सडकबाट ओहोरदोहोर गर्न कठिन हुँदैन’–अध्यक्ष कान्छालाल जिम्बाले भन्नुभयो–‘महाभारत क्षेत्रमा सडक कालोपत्रे हुने कुराले नागरिकहरुमा आशाको सञ्चार जगाएको थियो । निर्माण ब्यवसायीका कारण जनप्रतिनिधि बदनाम भएका छौं ।’

धुपबत्ति पछि स्टेरिङ्ग
    वर्षेनी करोडौ रकम विनियोजन हुने सडक जोखिममा छन् । ६ महिना मात्रै चल्ने सडकमा यात्रा गर्न विवश महाभारतबासी घरबाट निस्किएर गन्तब्यमा नपुगेञ्जल शर्दुम देवी मन्दिर सम्झन्छन् । चालकहरु उकालो र ओरालो यात्रा सकेपछि सर्दुम मन्दिरमा धुपबत्ति गर्छन । धुपबत्ति पछि मात्रै चालक स्टेरिङ्गमा पुग्ने गरेका छन् । आर्थिक वर्ष २०७८÷०७९ मा सडक स्तरोन्नतीका लागि एक करोड रकम विनियोजन भएको थियो । ५८ लाखमा ठेक्का सम्झौता भयो । १६ लाख रुपैयाको काम सम्पन्न भएको विल भर्पाई बुझाएका निर्माण ब्यवसायी आत्माराम लामाले ९ लाख रुपैया भुक्तानी पाए । मर्मत गर्ने क्रममा लगाईएको वालमा कमसल निर्माण सामाग्री प्रयोग गरेको भन्दै स्थानीयले उजुरी गरेका थिए । सोहि उजुरीका आधारमा प्राविधिक मुल्याकन गरी भुक्तानी गरिएको प्रमुख प्रशासकिय अधिकृत हरि सिं विष्टले बताउनु भयो । चालु वर्षका लागि संघ र स्थानीय सरकारको समपुरक बजेटमा १० करोड विनियोजन भएको छ । महादेवटार सर्दुम बुढाखानी सडकको विभिन्न खण्डमा २ किलोमिटर ढलान र मोड सुधार हुनेछ । 
सडकमा अरबौं बजेट
    चौकीडाँडा–सिपाली–बुढाखानी–महादेवटार सडक महाभारत गाउँपालिकाको मुख्य सडक हुनु पर्नेमा सिपाली खोलाका कारण सम्भव भएन । खोला बाहेकको स्थानबाट ट्रयाक खोल्न असम्भव भए पछि पालिकाले मुख्य सडकका रुपमा पिन्थली–रजवास–भूमिचुली–बुढाखानी–देविटार सडकलाई प्राथमिकतामा राख्यो । उक्त सडकका लागि विभिन्न खण्डमा अरबौ रकम विनियोजन भएको छ । तीन वर्ष भित्र निर्माण कार्य सम्पन्न हुने गरी ९८ करोड ७४ लाख १७ हजार रकम विनियोजन भएको अध्यक्ष कान्छालाल जिम्बाले बताउनु भयो । १४ किमी कालोपत्रे, ३ किमी ढलान सहित १७ किलोमिटर सडकका लागि संघ र प्रदेश सरकारको लगानी छ । भूमिचुली किल्ला सडकका लागि थप १२ करोड रकम विनियोजन भएको छ । एक किलोमिटर ढलान सहित सडक स्तरोन्नती कार्य भईरहेको छ । पिन्थली रजबास सडकका लागि ५ करोड रकम विनियोजन भएको छ । तिनखुट्टे देविटार सडकका लागि ४९ करोड रकम विनियोजन भएको छ । बजेट विनियोजन हुने, ठेक्का लाग्ने तर समयमै निर्माण ब्यवसायीले काम नगर्दा स्थानीयमा निराशा छाउन थालेको अध्यक्ष जिम्बाले बताउनु भयो । ‘अरबौमा बजेट आएको सुनिन्छ, नेताहरु आएर भाषण गर्नुहन्छ तर काम हुँदैन’–स्थानीय राजन बोम्जनले भन्नुभयो–‘विनियोजित बजेट अनुसार कार्य सम्पन्न भए महाभारत स्वर्ग हुने थियो ।’ विकट क्षेत्रका आधारमा राज्यले गरेको प्राथमिकता निर्माण ब्यवसायीको अवरोध र असहयोगका कारण सदुपयोग हुन नसकेको सरोकारवालाहरुको बुझाई छ । महाभारतमा पुर्वाधारका काम चार महिना मात्रै सम्भव छ । 
अलपत्र पुल 
    तिनखुट्टे देवीटार सडक खण्डमा नाली निर्माण, रिटेनिङ्ग वाल, ग्याबिङ्ग वाल, कजवे, कल्भर्ट लगायतका संरचना सँगै ३० एमएमको कालोपत्रे गरिनेछ । सडक पार गर्न पार्वती, खानी र बनखु खोलामा दुईवटा पक्की पुल निर्माण शुरु भए पनि अलपत्र छन् । पुल निर्माणको कार्य अलपत्र हुँदा सर्वसाधारण झन जोखिममा छन् । गाउँपालिकाले ७ वटा पुल निर्माणका लागि रकम सुनिश्चित गरेको छ । मसाने भन्ज्याङ्ग फोक्सिङ्गटार, चौखाला दोभान, किल्ला, सिन्धुली जोड्ने खोला लगायतका स्थानमा पुल निर्माणका लागि डिपिआर र बजेट सुनिश्चित भए पनि निर्माण ब्यवसायीको ढिलाईका कारण नागरिकहरु सकटमा छन् ।