2026 August 24/ 04:03: 45pm

मोतीराम तिमल्सिना
धुलिखेल

    महिला हिंसा विरुद्ध १६ दिने अभियानमा हिंसा न्यूनिकरणका प्रयास, हिंसाका कारण, विगतका अनुभव र रोकथामका उपायका बारेमा छलफल, अन्र्तक्रिया, बहस तथा पैरवी भईरहेको छ । हरेक क्षेत्रले महिला हिंसा न्यूनिकरणका लागि घर भित्रबाटै सचेतना जरुरी भएको निश्कर्ष निकाल्ने गरेका छन् । जिल्लाको तथ्यांकले महिला हिंसाको प्रमुख कारण घर भित्रका सदस्य, आफन्त, नातेदार तथा चिनेजानेको ब्यक्ति र कार्यक्षेत्रमा सँगै काम गरेका ब्यक्तिबाट हिंसा हुने गरेको देखिएको छ । 
    ‘२०७९ साउन देखि मंसिर १५ गतेसम्म जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा दर्ता भएका १२ वटा जर्बजस्ति करणी सम्वन्धी घटनामा १२ जना बालिका आफन्तबाटै बलात्कृत भएका छन्’– जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत प्रहरी नायव उपरिक्षक (डिएस्पी) अन्जना श्रेष्ठले भन्नुभयो–‘भदौ देखि मंसिरसम्म दर्ता भएका अधिकांश घटनामा ६ वर्ष देखि १६ वर्षसम्मका बालिका बलात्कृत भएका छन् ।’ बलात्कृत मध्ये अधिकांश अपाङ्गता भएका छन् । कक्षा ३ देखि १० सम्म अध्ययन गर्ने बालिकाहरुलाई घर भित्रकै सदस्य र आफन्तले ललाई फकाई बलात्कृत गरेको बयान दिएका छन् । यो संख्या अघिल्लो आर्थिक वर्ष २९ थियो भने आर्थिक वर्ष २०७७÷०७८ मा ३० थियो । जर्बजस्ति करणी उद्योगमा चालु वर्षको ७ महिनामा २ वटा उजुरी दर्ता भएका छन् भने अघिल्लो वर्ष ३ वटा जाहेरी दर्ता भएका थिए । 
    स्थानीय तहमा न्यायिक समितिमा उजुरी लिएर गए पनि न्यायको महसुस नहुने भएकाले प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको पीडितहरुले बताएका छन् । राजनीतिक दल प्रति आस्था राख्ने जनप्रतिनिधिहरुले दिने न्यायमा विश्वास नभएको उनिहरुले बताएका छन् । न्यायिक समितिका पदाधिकारीहरुले भने सकेसम्म न्याय दिन प्रयास गरिएको बताएका छन् । महिलाका समस्या लिएर न्यायिक समिमिता पुग्दा पुरुष नै पुरुष भएकाले भन्न नसकेर प्रहरीकोमा आएको महिलाहरुले बताएका छन् । प्रहरी कार्यालयमा दर्ता भएका मध्ये अधिकांश उजुरी मिलापत्रमा टुङ्गिएका छन् भने केहि अदालतमा गएका छन् । अदालतमा गएका मध्ये अधिकांशको सम्बन्ध विच्छेद भएको छ । बहुविवाह, बाल विवाह, आत्महत्या दुरुत्साहन, मानव बेचविखन तथा ओसारपसार, अपहरण तथा शरीर बन्धक, झुण्डिएर आत्महत्या, विष सेवन, बाल यौन दुराचार लगायतका घटनामा महिलाहरु पीडित भएको डिएस्पी श्रेष्ठले बताउनु भयो । २०७७÷०७८ मा ३१ जना महिलाले झुण्डिएर र १८ जना विषय सेवनबाट आत्महत्या गरेका थिए भने २०७८÷०७९ मा ४० जना झुण्डिएर र ६ जनाले विष सेवनबाट आत्महत्या गरेका थिए । सोहि वर्ष आत्महत्या दुरुत्साहनमा ५ वटा उजुरी दर्ता भएका थिए । 
    धुलिखेल नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नगर प्रमुख अशोक ब्याञ्जुले महिला हिसा न्यूनिकरण गर्न आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक द्वन्द्व न्यूनीकरण गरी महिलाहरुको सशक्तिकरण गर्नुपर्ने बताउनु भयो । महिलाहरुलाई सिप विकास, सशक्तिकरण तथा गरिबी न्यूनिकरणका लागि नगरपालिकाले परिषद् गठन गरिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । नगरपालिका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा मगरले नगरपालिकाले समग्र नगर क्षेत्रमा रहेका महिलाहरुको सशक्तिकरण तथा हिंसा हुन नदिन विविध कार्यक्रम गरिएको बताउनु भयो । कम्युनिटी एक्सन सेन्टर नेपालका संस्थापक अध्यक्ष तुलसा लता अमात्यले महिला हिंसामा विश्वको र नेपालको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । महिला हिसा विरुद्धको १६ दिने अभियान जिल्लाभर संचालन भईरहेको छ ।