2026 August 24/ 04:04: 19pm

    काभ्रेका २ वटा प्रतिनिधि सभा र ४ वटा प्रदेश सभामा उम्मेदवारी दिएका ६४ उम्मेदवार मध्ये ३८ जनाको जमानत जफत भएको छ । जमानत जोगाउनेमा गठबन्धनबाट उम्मेदवारी दिनेहरु विजयी भएका ५ र निकटतम प्रतिस्पर्धी एक, नेकपा एमालेका विजयी एक र निकटतम प्रतिस्पर्धी ५, राष्ट्रिय स्वतन्त्र पार्टीका २ गरी २६ जना छन् । बाँकी सबै दल तथा स्वतन्त्र उम्मेदवारले खसेको मध्ये सदर भएको १० प्रतिशत मत समेत ल्याउन सकेनन् । 
    निर्वाचन क्षेत्र नम्वर २ मा नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटा विजयी भए । बास्कोटाले ४५ हजार ३ सय ४५ मत प्राप्त गर्नु भएको छ । निकटम प्रतिद्वन्द्वी गठवन्धनका तर्फबाट नेपाली काँग्रेसका शिवप्रसाद हुमागाईले ३९ हजार ४ सय ८२ मत प्राप्त गर्नु भएको छ । ५ हजार ८ सय ६३ मत फरकमा विजयी बास्कोटा, हुमागाई र राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाई बाहेकका १३ जनाको जमानत जफत भएको छ । दिनेश हुमागाईले १० हजार ५ सय ७३ मत प्राप्त गर्नु भयो । निर्वाचन आयोगले खसेको मतको कुल सदर मतको १० प्रतिशत कटाउने उम्मेदवारको जमानत फिर्ता गर्ने बताएको छ । निर्वाचन क्षेत्र नम्वर २ मा १ लाख ३ हजार ६२ मत खसेको थियो । जसमा ३ हजार ८ सय ३७ मत बदर भयो । ९९ हजार २ सय २५ मत सदर भएको थियो । सदर मतको १० प्रतिशत कटाएको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा भने धेरै मत प्राप्त गरेको छ । 
    पूर्व मन्त्री समेत रहेका     गोकुल बास्कोटालाई पराजित गर्ने उद्घोष गरेका स्वतन्त्र उम्मेदवार मनोज पण्डितले १ सय ७३ मत प्राप्त गरे । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विजय तामाङले ३५ मत प्राप्त गरे । सिद्धिबहादुर जोशी, यशु आले मगर, कृष्णकुमार बैद्य, योकबहादुर घिसिङ्ग, अचम्म लामा, विजय तामाङ, उत्तरकुमार लामा, गंगालाल श्रेष्ठ, कृष्ण खत्री, बोधनाथ न्यौपाने, मनोज पण्डित, शेषराज लामिछाने र स्वयम्भुराज शाक्यको जमानत जफत भएको छ । प्रतिनिधि सभा क्षेत्र नम्वर २ मा विजयी भएका बास्कोटा बाहेक दुई जनाको जमानत जोगिएको छ । प्रदेश १ मा गठबन्धनका तर्फबाट समाजवादीका लक्ष्मण लम्साल विजयी भए । नेकपा एमालेका कुमार खकुरेल १ सय ८८ मतले पराजित भए । अन्य चार उम्मेदवारको जमानत जफत भएको छ । राप्रपाका रञ्जिव श्रेष्ठ, नेमकिपाका सुर्यलाल तामाङ, हाम्रो नेपाली पार्टीका ताराबहादुर कुँवर र मंगोल नेशनल अर्गनाईजेशसनका मुस्कान लामाको जमानत जफत भएको छ । लम्सालले १९ हजार ४ सय ८ मत प्राप्त गरेका थिए भने खकुरेलले १९ हजार २ सय २० मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा ४७ हजार ६ सय ३८ मत खसेको थियो भने ४६ हजार १ सय ८७ मत सदर भएको थियो । १ हजार ४ सय ५१ मत बदर भएको थियो । 
    प्रदेश सभा २ मा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका कञ्चनचन्द्र बादे विजयी भए । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुमार थापाले २१ हजार ९ सय ५७ मत प्राप्त गरेका थिए । बादेले २६ हजार ३५ मत प्राप्त गरे । ४ हजार ७८ मतान्तर भएको उक्त क्षेत्रमा बाँकी ५ उम्मेदवारले जमानत जोगाउन सकेनन् । राप्रपाका रामकृष्ण लामा, नेमकिपाका मुना तामाङ, जनता समाजबादीका विरबहादुर तामाङ, नेपाल कम्युनिष्ट पार्टीका दानबहादुर थापा र मंगोल नेशनल अर्गनाईजेसनका सुकमान तामाङको जमानत जोगिन सकेको छैन । उक्त क्षेत्रमा ५५ हजार ४ सय ७७ मत खसेको थियो । खसेको मध्ये ५३ हजार ७ सय २६ मत सदर भएको थियो । १ हजार ७ सय ५१ मत बदर भएको थियो ।  
    प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ मा १७ उम्मेदवार मध्ये विजयी भएका समेत तीन जनाको जमानत जोगिएको छ । अन्य १४ जनाको जमानत जफत भएको छ । उक्त क्षेत्रमा नेकपा माओवादी केन्द्रका सुर्यमान दोङ गठबन्धनका तर्फबाट विजयी भए । दोङले ३४ हजार ५ सय १२ मत प्राप्त गरे भने नेकपा एमालेका रेशम लामाले ३० हजार ५ सय ४८ मत प्राप्त गरे । ३ हजार ९ सय ६४ मतको फरकमा विजयी भएका दोङ, लामा र राष्ट्रिय स्वतन्त्र पार्टीका बसुनारायण श्रेष्ठको जमानत जोगिएको छ । श्रेष्ठले ८ हजार ६ सय ९७ मत प्राप्त गरेका थिए । श्रेष्ठ बाहेक धनबहादुर तामाङ, पूर्णबहादुर विश्वकर्मा, पूर्णसिंङ तामाङ, प्रकाश लामा, प्रशान्त केसी तिमल्सिना, गोविन्दराज गिरी, गणेशकुमार कपाली, कमलबहादुर लामा, जोगमान लामा, जीतबहादुर मोक्तान, माधवप्रसाद कँडेल, राजन घोरसाईने, रुकमणी श्रेष्ठ र ज्ञानेन्द्रकुमार तामाङको जमानत जफत भएको छ । सोहि निर्वाचन क्षेत्रमा ८३ हजार ९ सय ३९ मत खसेको थियो । खसेको ८३ हजार ४ सय ७२ मध्ये ७९ हजार ४६ मत सदर  भयो भने ४ हजार २ सय २६ मत बदर भयो । 
    प्रदेश सभा १ मा एमालेका दिलबहादुर तामाङले ११ हजार २ सय ७८ मत प्राप्त गरे । गठवन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका रत्न ढकालले २० हजार ७ सय २० मत प्राप्त गरे । ९ हजार ४ सय ४२ मत फरक रहेको सोहि क्षेत्रमा ९ मध्ये ७ उम्मेदवारको जमानत जफत भएको छ । नन्दलाल श्रेष्ठ, प्रज्ञान अस्तानी मगर, मानबहादुर तामाङ, ङेमा लामा, चन्द्रमान लामा, सञ्जीव वल तामाङ र विजबहादुर लामा थिङ रहेका छन् । सोहि क्षेत्रमा ३७ हजार ८८ मत खसेको थियो । खसेको मध्ये ३५ हजार ४ सय ११ मत सदर भयो भने १ हजार ५ सय ८४ मत बदर भयो । 
    प्रदेश सभा २ मा नेकपा एमालेका चन्द्र लामा ३ मतले पराजीत भए । चन्द्रले १९ हजार २ सय ७७ मत प्राप्त गरे भने गठवन्धनका तर्फबाट नेपाली काँग्रेसका तिर्थ लामाले १९ हजार २ सय ८० मत प्राप्त गरे । ९ जना उम्मेदवार रहेका राप्रपाका सहदेव भण्डारीले ३ हजार ९ सय ५४ मत प्राप्त गरे । तर उनको पनि जमानत जोगिएन । कृष्णबहादुर तामाङ, बुद्धबहादुर लामा, नरमान लोप्चन, जनकबहादुर तामाङ, दुर्गाबहादुर घर्ती र विशेश्वर बञ्जाराको जमानत जोगिन सकेन । सोहि क्षेत्रमा ४६ हजार ८ सय ५१ मत खसेको थियो । खसेको मध्ये ४५ हजार १३ मत सदर भयो भने १ हजार ४ सय ६३ मत बदर भयो । प्रत्यक्ष तर्फ १४ हजार ५ सय १२ मत बदर भयो ।     समानुपातिक तर्फ पनि त्यतिकै मत बदर भएको छ । प्रतिनिधि सभा २ मा ३ हजार ९ सय १३ मत बदर भएको छ ।