2026 August 23/ 05:41: 53pm

२०७९ प्रतिनिधि र प्रदेश सभा निर्वाचन 
समानुपातिक मतमा एमाले जिल्लामा पहिलो दल बनेको छ । काँग्रेस दोश्रो, स्वतन्त्र तेश्रो, माओवादी चौथो, समाजवादी पाँचौ दल बनेका छन् । राप्रपाले प्राप्त गरेको मतका आधारमा छैटौ दल बनेको छ । 

मोतीराम तिमल्सिना
धुलिखेल 

    देशभर प्रदेश र प्रतिनिधि सभा निर्वाचनको परिणाम र त्यसका बाछिटाहरुका बारेमा विश्लेषण भईरहेको छ । राजधानीसँग जोडिएको काभ्रेपलाञ्चोक जिल्लामा पनि निर्वाचन पछि पार्टी र नेताहरुको हैसियत, सांगठनिक विषय, नेतृत्वको क्षमता तथा घात अन्र्तघातका बारेमा छलफल शुरु भएको छ । 
    नेकपा एमाले जिल्लामा पहिलो पार्टी बनेको छ । ५८ हजार ७ सय ८४ मत ल्याएर समानुपातिक तर्फ नेकपा एमाले पहिलो दल बनिरहँदा नेपाली काँग्रेस ४८ हजार ३ सय ११ ल्याएर दोश्रो बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी २६ हजार ३ सय १८ मत ल्याएर तेश्रो दल बनेको छ । चौथोमा पुगेको माओवादीले २५ हजार २ सय ६१ मत प्राप्त गरेको छ । पाँचौमा नेकपा समाजवादी पुगेको छ । जिल्लाभरबाट ८ हजार ९८ मत प्राप्त गरेको छ । छैटौ नम्वरमा राप्रपा परेको छ । राप्रपाले ६ हजार २ सय २१ मत प्राप्त गरेको छ । 
    सत्तामा रहेका राजनीतिक दलहरुको गठबन्धनमा जिल्लामा ५ वटा दल एकातिर थिए भने नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी सहित अन्य केहि दल एक्लो प्रतिस्पर्धामा थिए । नेकपा एमालेको बलियो संगठन, उर्जाशिल कार्यकर्ता, राष्ट्रिय राजनीतिमा एमालेको भूमिका, स्वाधिनता, राष्ट्रियताका सवाल तथा जिल्लाको विकासको रोडम्याप समेत प्रष्ट भएकाले सिट संख्यामा गठबन्धनको दबदबाका बाबजुद संघीय संसद्मा एक क्षेत्रमा मात्रै विजय हासिल गर्न सफल भयो । बाँकी ५ वटा निर्वाचन क्षेत्रमा नेकपा एमालेको झिनो मतान्तर रह्यो । तीन मत देखि १० हजार मतान्तरमा एमालेका उम्मेदवार पराजय भईरहँदा समानुपातिक मतले एमालेलाई जिल्लाको पहिलो दल बनायो । काभ्रेली जनताका बीचमा नेकपा एमाले लोकप्रिय पार्टी रहेको जनमतले पुष्टि गराएको छ । पार्टीले प्राप्त गरेको मत देशभर, प्रदेशमा र जिल्लामा पनि लोकप्रिय देखिएको एमाले काभ्रेले जनाएको छ । 
    निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिक मतगणनाको अन्तिम परिणामले पनि एमाले लोकप्रिय मतका साथ पहिलो पार्टी भएको पुष्टि गरेको छ । काँग्रेस दोश्रो, भर्खर जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टी तेश्रो र माओवादी चौथोमा पुगेको छ । शशस्त्र युद्ध गरेर शान्ति प्रकृयामा आए पछि निरन्तर ओरोलो लागिरहेको पार्टी माओवादी यो निर्वाचनबाट झनै खस्किएको छ । एमालेमा आएको फुटका बाबजुद पनि एमाले पहिलो पार्टी बनेको छ । एमालेबाट फुटेको समाजबादी पाँचौ दल बनेको छ । क्षेत्र नम्वर १ मा बलियो भनिएको माओवादीले समानुपातिकमा भने कमजोर परिणाम ल्याएको छ । गठबन्धनका आधारमा विजयी भएको माओवादीका दुबै क्षेत्रमा समानुपातिकमा भने एमाले भन्दा कमजोर मत देखिएको छ । दुबै क्षेत्रमा एमाले पहिलो शक्ति बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी निर्वाचन चिन्ह सम्झेर अन्य चिन्हमा मतदान गर्नेहरु पनि छन् । प्रदेशतर्फ घण्टीको चिन्ह नदेखे पछि आफैले निर्वाचन चिन्ह बनाएर मतदान गरेको मतपत्रहरु पनि फेला परेका छन् ।