सरकारमा गएर लालपुर्जा दिलाईदिनुस’
भुम्लु/जिल्लाको भुम्लु गाउँपालिकाको फलाँटे र भुम्लुका लालपुर्जाविहिन स्थानीयलाई लालपुर्जा दिलाउने अभियानमा सक्रिय तत्कालिन नेकपा एमालेको सरकार हटे लगत्तै लालपुर्जा वितरण रोकिएको थियो । मतदाताको घर दैलो पुगेका उम्मेदवारलाई स्थानीयले लालपुर्जा समस्या समाधान गरिदिन अनुरोध गरेका छन् ।
सोहि क्षेत्रबाट निर्वाचित सांसद गोकुल बास्कोटा मन्त्री भए लगत्तै भुम्लुमा फिल्ड कार्यालय स्थापना गरी १ सय ५० वटा लालपुर्जा समेत तयारी भएको थियो । बास्कोटाले मन्त्री पदबाट राजिनामा दिएको केहि महिनामा नेकपा एमाले नेतृत्वको सरकार हट्यो, उता फिल्ड कार्यालय उठेर सदरमुकाम आयो । ‘एमाले नेतृत्वको सरकारले शुरु गरेको लालपुर्जा वितरण अभियान गठवन्धन सरकारले रोक्यो’–स्थानीय रामबहादुर उप्रेतीले बताउनु भयो ।
भुम्लु गाउँपालिकाको वडा नम्बर ७ र वडा नम्बर ८ का करिव १ हजार २ सय जनालाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गर्ने गरी २०७६ सालमा नापी र मालपोतको फिल्ड कार्यालय स्थापना गरिएको थियो । २०७६ मंसिरमा तत्कालिन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ८ नम्बर वडास्थित भुम्लुमा फिल्ड कार्यालय उद्घाटन गर्नु भएको थियो । कार्यालय उद्घाटन गर्दै बास्कोटाले सरकारले सबैलाई जमीनको मालिक बनाउने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो । पहिलो पटक निर्वाचन भएर काम शुरु गरेका बास्कोटालाई पुनः दोश्रो पटक निर्वाचनमा मतदाताको घर दैलो पुग्ने क्रममा स्थानीयले पुर्जा वितरणको समस्या सुल्झाउन अनुरोध गरेका थिए ।
लालपुर्जा वितरण गर्न गाउँमै फिल्ड कार्यालय स्थापना भएपछि स्थानीय पनि हर्षित थिए । त्यसपछि लालपुर्जा वितरण गर्नका लागि केहि प्रकृया पनि सुरु भयो । कोरोना महामारीका कारण सोचेजस्तो तिव्र गतिमा काम हुन सकेन । कोरोना मत्थर हुँदै गए पछि रोकिएको कामलाई अघि बढाउन खोज्दा खोज्दै एमाले नेतृत्वको सरकार नै परिवर्तन भयो । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी सहितका पार्टी मिलेर बनेको गठबन्धन सरकारले ४६ वर्षदेखी लालपुर्जाविहिन स्थानीयको समस्या समाधान गर्न कुनै पहल गरेन । स्थानीय सरकारले पनि निर्वाचन भएको ३ महिनामा समस्या समाधान गर्ने बाचा गरेका थिए । ६ महिना वितिसक्दा समेत स्थानीय सरकारले पुर्जा वितरणको कार्य शुरु गर्न सकेको छैन ।
मतदाता भेट्न भुम्लु पुगेका पुर्वमन्त्री एवं नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार गोकुल बास्कोटालाई स्थानीयले धन्यवाद सहित गुनासो राख्नु भएको थियो । आफ्नो कार्याकालमा महत्वपुर्ण कामको थालनी बास्कोटाले गरे पनि गठबन्धन सरकारले कुनै चासो नदिएको भन्दै उनीहरुले आक्रोस पोखेका थिए । एमाले नेतृत्वको सरकार बाहेक अरुले जनताको काम गर्दैनन् भन्ने पुष्टि भएको भन्दै स्थानीय सावित्रा खरेलले बास्कोटालाई पुनःसरकारमा पुगेर लालपुर्जाविहिन जनालाई लालपुर्जा दिलाई दिन माग गर्नु भएको थियो । स्थानीय प्रकाश खरेलले पटक–पटक आश्वासन पाए पनि यस अघि काम नै सुरु भइसकेपछि फेरी रोकिनु दुःखद भएको बताए । जवाफमा बास्कोटाले अब बन्ने एमाले नेतृत्वको सरकारले बाँकी काम टुंगोमा पु¥याउने बताउनु भयो । गाउँपालिकाको ७ र ८ नम्बर वडामा स्थानीयको जग्गाधनी र जग्गाको छानबिन गरी लालपुर्जा दिन जिल्लास्थित कार्यालयमा सिफारिस गर्न दुई कार्यालय राखिएको थियो । तत्कालीन नक्साङ्कनको अवस्थामा सीमा विवादका कारण आफ्नै जमिन आफ्नो नाममा नभए पछि ती लालपुर्जाविहीनले फिल्डका नापी र मालपोतको दुवै कार्यालयमा २०७७ माघ महिनासम्म लालपुर्जा प्राप्तिका लागि निवेदन दर्ता गरेका थिए । नापी कार्यालयद्वारा निवेदन बुझ्ने काम भए पनि थप प्रक्रिया अघि बढेको छैन । विगत ४६ वर्षदेखि लालपुर्जाविहीन काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दुई वडाका करिब एक हजार २ सय परिवार लालपुर्जाविहिन छन् । जिल्लामा जग्गा नापि गर्ने समयमा भएको सिमा विवादका कारण रोकिएको नापी हुन नसकेको हो ।









