धुलिखेल/आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार तथा राजनीतिक दलहरुले आचार संहिता उल्लंघन गरिरहेका छन् । निर्वाचन आयोगले आचार संहिता पालना गर्न राजनीतिक दल, उम्मेदवार, जनप्रतिनिधिहरु, संचारमाध्यम र स्वंयम ब्यक्ति र कर्मचारीहरुलाई अनुरोध गरेको भए पनि हरेक क्षेत्रबाट उल्लंघन भईरहेको छ । आचार संहिता उल्लंघन भए नभएको अनुगमन गर्ने जिल्ला स्तरीय समिति सुस्त छ ।
‘निर्वाचन आचार संहिता उल्लंघन भएको मौखिक उजुरी प्राप्त भईरहेको छ’–अनुगन समितिका अधिकृत कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख हेमन्त निरौलाले भन्नुभयो–‘अनुगमन गरेर उल्लंघन गर्ने निकाय तथा ब्यक्तिहरुलाई सचेत गराएका छौं ।’ आचार संहिता उल्लंघन गर्नेमा सबै भन्दा धेरै गठबन्धन दल र ति दलबाट बनेका उम्मेदवार छन् । उनिहरुले सार्वजनिक स्थानमा झण्डा, ब्यानर र पोस्टर राखिरहेका छन् भने वडा कार्यालयहरुमा निर्वाचन सम्वन्धी कार्यक्रम गरिरहेका छन् । आचार संहिता उल्लंघन गर्नेमा कर्मचारी र जनप्रतिनिधि छन् । जनप्रतिनिधिहरुले आफ्नो वडा र पालिकामा निर्वाचन प्रचार प्रसार गर्न नपाउने भए पनि अधिकांश जनप्रतिनिधिहरु आफ्नो दल र उम्मेदवारको प्रचार प्रसारमा ब्यस्त छन् । तर जिल्ला स्तरीय अनुगमन समिति देखेको नदेखेको गरिरहेको छ । त्यस्तै शिक्षक र कर्मचारीहरुले कुनै उम्मेदवारहरुको प्रचार प्रसारमा लाग्न नहुने भनिए पनि खुलेआम शिक्षक र कर्मचारीहरु उम्मेदवाहरुको प्रचार प्रसार गरिरहेका छन् । यसको अनुगमन र नियन्त्रण हुन सकेको छैन ।
जनप्रतिनिधिहरुले आफुले प्रयोग गरेको सवारी साधन र श्रोतको समेत दुरुपयोग गरिरहेका छन् । नागरिकहरुले आचार संहिता पालना गराउन जिल्ला स्तरीय समिति निरिह देखिएको प्रतिक्रिया दिएका छन् ।









