2026 August 23/ 01:13: 35pm

धुलिखेलमा ८ जिल्लाका सुरक्षा प्रमुख
    धुलिखेल/नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारसँग भएको सहमति कार्यान्वयन नभएकाले आगामी मसिंर ४ गते हुने निर्वाचन विथोल्ने घोषणा गरेकै दिन राजधानीसँग जोडिएको काभ्रेपलाञ्चोक जिल्लामा उपत्यका सहितका ८ वटा जिल्लाका सुरक्षा निकायको निर्वाचन विशेष अन्तर जिल्ला सुरक्षा समन्वय बैठक सकिएको छ । 
    ‘बैठकमा आगामी निर्वाचनमा अन्तर जिल्ला सुरक्षाका सन्र्दभमा विस्तृत छलफल सहितको योजना निर्माण भएको छ’– काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो–‘रणनीतिक योजनालाई कार्यान्वयन गरी निर्वाचन भय रहित, शान्त पूर्ण रुपमा सम्पन्न गराउन बैठक महत्वपूर्ण भएको छ ।’ काभ्रेपलाञ्चोक जिल्लासँग काठमाडौ, भक्तपुर, ललितपुर, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली र मकवानपुर जिल्ला जोडिएका छन् । धुलिखेलमा आयोजित बैठकमा मकवानपुर बाहेकका ८ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित चारवटै सुरक्षा निकायका प्रमुखहरु तथा २६ नम्वर बाहिनी भकुण्डेका बाहिनीपतिको सहभागिता रहेको थियो । काभ्रेपलाञ्चोक जिल्लाको पनौती वडा नम्वर १ रयालेमा ललितपुर र भत्तपुर जिल्ला जोडिएको छ भने बनेपा १३, १४, १, २, ३ लगायतका वडाहरुमा भक्तपुर जिल्ला जोडिएको छ । काठमाडौ र भत्तपुर जिल्ला बनेपा र मण्डनदेउपुर जिल्लामा जोडिएको छ । सिन्धुपाल्चोक जिल्ला मण्डनदेउपुर नगरपालिकामा जोडिएको छ । दोलखा, रामेछाप चौरीदेउराली गाउँपालिकामा जोडिएको छ । महाभारत र रोशी गाउँपालिका सिन्धुली जिल्लामा जोडिएको छ । खानिखोला गाउँपालिका मकवानपुर जिल्लामा जोडिएको छ । 
    राजनधानीमा हुने अपराधमा संलग्न अभियुक्तहरु विभिन्न नाका हुँदै काभ्रेपलाञ्चोक जिल्ला भित्रने र राजधानीमा हुन सक्ने सम्भावित अपराधका घटनामा काभ्रेपलाञ्चोक जिल्लाका सिमाना र नाकाहरु प्रयोग हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अन्तर जिल्ला सुरक्षा समन्वय बैठक आयोजना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले बताउनु भयो । निर्वाचनका साथै अपराध न्यूनिकरण र अनुसन्धानका लागि अन्तर जिल्ला सुरक्षा समन्वय बैठकले पु¥याउन सक्ने सहयोग, विपद ब्यवस्थापन, भिभिआईपी र भिआईपी सुरक्षा योजना, अन्तराष्ट्रिय स्तरका दुई राजमार्गबाट हुन सक्ने सम्भावित घटना तथा दुर्घटना न्यूनीकरणका उपाय लगायतका विषयमा छलफल भएको छ । निर्वाचन सुरक्षा विशेष योजनामा उम्मेदवार देखि मतदातासम्मको सुरक्षाका साथै मतपत्र, निर्वाचनका लागि खटिने कर्मचारी र मतपत्रको सुरक्षा, मतदानका लागि आउने मतदाताहरुको सुरक्षा र मतदान सकिए लगत्तै मतपेटिकाको सुरक्षा र निश्चित स्थानमा सुरक्षित तरिकाले ढुवानी गरी पु¥याउने योजनाका बारेमा छलफल भएको थियो । मतगणना सम्म सुरक्षाको दृष्टिकोणबाट गर्नु पर्ने सबै उपाय र प्रतिरक्षाका लागि आवश्यक संयमता र निर्देशनका बारेमा पनि छलफल भएको थियो । प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि ४ वटा मतपत्रमा मतदान गर्नु पर्ने र मतदानका लागि सबै स्थान भरपर्दाे र पूर्वाधारका हिसावाले सहज नभएकाले त्यसका बारेमा पनि अनुगमन र नियमित सुरक्षाका बारेमा ध्यान दिनु पर्ने छलफलमा सहभागि प्रमुख जिल्ला अधिकारीहरुले बताएका छन् । 
    बैठकमा नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुखहरु सहभागि थिए । सहभागिहरुले सुरक्षा खतरा र मतदान केन्द्रको अवस्थाका बारेमा जानकारी गराएका थिए । उता राजधानीमा विप्लब समुहका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए । भेटवार्ताको क्रममा नेता प्रकाण्डले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनमा जोड गर्न ध्यानाकर्षण गराएका थिए । तत्कालीन ओली सरकारसँग भएको सहमति पालना नगरेको प्रति नेकपा असन्तुष्ट छ । सहमति कार्यान्वयनका लागि केही नेता कार्यकर्ता रिहा भए पनि अझै दर्जनौँ थुनामा छन् ।