2026 August 23/ 01:13: 34pm

खचाखच विद्यार्थी
    बनेपा/जिल्लाको उत्कृष्ट शैक्षिक गन्तब्य बनाउँदै राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा विद्यालयको नाम चिनाउन सफल काभ्रे माध्यमिक विद्यालयले ३० औ बार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमका साथ मनाएको छ । काभ्रे शिक्षा विकास प्रतिष्ठान नीजि गुठीद्वारा काभ्रे माध्यमिक विद्यालय बनेपामा र काभ्रे इङ्गलिस माध्यमिक विद्यालय पनौतीमा संचालित छन् । 
    विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ अवाले नीजि गुठीबाट संचालित विद्यालयहरु विशुद्द मुनाफा रहित भएकाले शान्ति, सृजनशिलता र गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्य रहेको बताउनु भयो । ‘जुन उदेश्यले विद्यालय स्थापना गरिएको थियो, ३० वर्षको इतिहासमा त्यो उदेश्य पुरा भएको छ’–अध्यक्ष अवाले भन्नुभयो–‘काभ्रेपलाञ्चोक र आसपास जिल्लाका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय सक्षम भएको छ ।’ विद्यालयका प्राचार्य कुमार मानन्धरले विद्यालयको आर्थिक र शैक्षिक गतिविधिका बारेमा जानकारी गराउँदै आगामी वर्ष विद्यालयले गुणस्तरीय शिक्षालाई ब्यवहारीकतासँगै जीवनउपयोगी बनाउन अभिभावकसँग हातेमालो गर्ने बताउनु भयो । ‘बाललिकाहरुलाई गाली गरेर, डर र त्रास देखाएर सिक्न सक्दैनन’–प्राचार्य मानन्धरले भन्नुभयो–‘अभिभावकहरुको निरन्तरको रेखदेख र निगरानीका साथै उनिहरुको चाहनामा अभिभावक सहयोगी र सारथी बन्न सक्नु पर्दछ ।’ पछिल्लो समय बालबालिकाहरु अभिभावकको बेवास्ता र आफु अनुकल बालबालिकाहरुलाई प्रयोग गर्न खोजेका कारण दुब्र्यसन तथा गलत कृयाकलापमा संलग्न हुने गरेको अध्ययनले देखाएको प्राचार्य मानन्धरले बताउनु भयो । सहायक प्रिन्सिपल विकास श्रेष्ठले विद्यालय स्थापना देखि हालसम्म सेवा पु¥याउने संचालक सदस्य तथा विद्यालयका सेवा र सुविधाका बारेमा जानकारी गराउँदै आधुनिक, सुविधासम्पन्न प्रयोगशाला, फराकिला कक्षा कोठा, शान्त तथा शैक्षिक वातावरण रहेको काभ्रे मावीले उत्कृष्ट शिक्षा प्रदान गर्न ब्यवस्थित प्रयोगशाला लगायतका सुविधाहरु उपलब्ध गराएको बताउनु भयो । 
    शिशु कक्षा देखि १२ सम्म अध्यापन गराउँदै आएको विद्यालयले कक्षा ११ र १२ मा कम्प्युटर विज्ञान, होटल ब्यवस्थापन र ब्यवसाय अध्ययनलाई प्राथमिकता दिदै आएको छ । २०४९ सालमा स्थापना भएको विद्यालयले २०५२ सालमा २५ जना विद्यार्थीबाट एसएलसी दिन शुरु गरेको थियो । २०७८ को एसईईसम्म विद्यालयबा १ हजार ७ सय ९२ जनाले उच्च शिक्षाका लागि अवसर प्राप्त गरेका छन् । विद्यालयमा सबै भन्दा धेरै १ सय ५ जना विद्यार्थीले २०७४ सालमा एसईई दिएका थिए भने सबै भन्दा कम २०५४ सािलमा २० जनाले एसएलसी दिएको प्राचार्य मानन्धरले जानकारी दिनु भयो । २०६६ सालबाट कक्षा ११ शुरु गरेको विद्यालयबाट ७ सय ४२ जना कक्षा १२ उर्तिण भएका छन् । विद्यालयमा हाल १ हजार २ सय २४ जना अध्ययनरत छन् भने ८२ जना शिक्षक कर्मचारी कार्यरत छन् । २०७८ बैशाख देखि २०७८ चैत्रसम्म २ करोड ५६ लाख आम्दानी गरी २ करोड ३७ लाख खर्च गरेको विद्यालयले २०७९ को शैक्षिक सत्रका लागि ३ करोड ४८ लाखको अनुमानित आय ब्यय प्रस्तुत गरेको छ । आफ्नै जग्गा र भवन सहितका सुविधासम्पन्न प्रयोगशाला, फर्निचर, विद्यालय बस लगायतको करिव १५ करोड भन्दा धेरैको सम्पति बनेपा विद्यालयको रहेको छ । विद्यालयले शिक्षक कर्मचारीहरुका लागि उपदान, संचय कोष, स्वास्थ्य विमा, स्वास्थ्य शिविरहरु आयोजना गरिरहेको छ । 
    कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा दाहाल, वडा अध्यक्षहरु, विभिन्न विद्यालयका प्राचार्यहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, विद्यालय संचालक सदस्यहरुको सहभगिता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले प्रतिभा प्रस्तुत गरेका थिए भने दिर्घ सेवा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा संचालक सदस्य शान्तिरत्न शाक्य, विद्यार्थी कक्षा १० की कृष्पा बजगाई लगायतले विद्यालय स्थापनाको स्मरण गराएका थिए । बार्षिकोत्सवको अवसरमा विद्यालयले खेलकुद सप्ताहको आयोजना गरेको थियो । 

काभ्रे माविको स्पोर्ट मिट 
    बनेपा/काभ्रे माध्यमिक विद्यालय बनेपाको स्र्पोट मिट २०७९ सम्पन्न भएको छ । खेलमा उत्कृष्ट विद्यार्थी तथा विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको थियो । पुरस्कार वितरण कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष सचितानन्द केसीको प्रमुख आतिथ्यता रहेको थियो । 
    असोज ३० गतेबाट कार्तिक ४ गते सम्म सञ्चालन भएको स्पोर्ट मिटमा विभिन्न खेलहरु समाबेश गरिएको थियो । नर्सरी देखी कक्षा १२ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यालयले विगत लामो समयदेखी सञ्चालन गर्दै आएको खेलकुद कार्यक्रम कोरनाका कारण रोकिएको थियो भने यस वर्ष बाट पुन सञ्चालन भएको प्रिन्सिपल कुमार मानन्धरले बताउनु भयो । विद्यार्थीको शारिरिक, मानसिक विकासका लागी पनि खेलकुद आवश्यक रहेकाले विद्यालयले पढाई सँगै अतिरिक्त क्रियाकलापहरुलाई प्राथमिकता दिएको उहाँले बताउनु भयो । गुणस्तरीय शिक्षा सगै विद्यार्थीहरुको क्षमता अनुसारका विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागि गराउँदै आएको प्रिन्सिपल मानन्धरले बताउनु भयो । खेलकूद कार्यक्रमको पुरस्कार वितरण गर्दै बनेपा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष सचितानन्द केसीले खेलले विद्यार्थीहरु मात्र नभई अन्यलाई पनि अनुशाशित स्वच्छ आत्मरक्षा हुने भएकाले अति आवश्यक रहेको वताउनु भयो । कार्यक्रममा विद्यालयका सञ्चालक भुवन मानन्धर, शान्तिरत्न कायस्थ, ईन्द्र श्रेष्ठ, रामशरण लुईटेल, सहायक प्रिन्सिपल द्धय केशब श्रेष्ठ र विकास श्रेष्ठ,  शिक्षक,  विद्यार्थीहरुको सहभागिता रहेको थियो । 
कार्यक्रमको सभापतित्व विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष जगन्नाथ अवाले गर्नु भएको थियो ।