धुलिखेल/भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धुलिखेलले बार्षिक पशु, पन्छी एवं मत्स्यजन्य पदार्थ उत्पादनको विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को अन्त्यसम्ममा भएको तथ्याङ्कका आधारमा चालु आर्थिक वर्षमा उत्पादन बृद्धिका लागि विभिन्न योजनाहरु कार्यान्वयन गराईरहेको छ ।
संघ तथा प्रदेश र स्थानीय सरकारको समेत समन्वयमा कृषकहरुलाई ब्यवसायिक पशुपालनमा आकर्षण गराउने कार्यक्रमहरुलाई भेटेरिनरी अस्पतालले प्राथमिकतामा राखेको कार्यालय प्रमुख राजकुमार हुमागाईले जानकारी दिनु भयो । ‘तिनै तहको समन्वयमा पशुपन्छीमा लाग्न सक्ने रोग नियन्त्रण, पशु स्वास्थ्य शिविर संचालन, ब्यवसायीक पशुपालनको तालिम लगायतका विभिन्न कार्यक्रमहरु भईरहेका छन्’– कार्यालय प्रमुख हुमागाईले भन्नुभयो–‘चालु वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा थप उत्पादन भएको प्रारम्भिक तथ्याङ्कले देखाएको छ ।’ जिल्लामा १ लाख ३९ हजार ९ सय ४४ मेट्रिकटन दुध उत्पादन हुने गरेको छ । केहि वर्ष अघि दुधमा आत्मनिर्भर भएको काभ्रेपलाञ्चोक जिल्लाले उत्पादन भएको दुध राजधानीमा खपत भएको २५ प्रतिशत निर्यात गरिरहेको काभ्रेपलाञ्चोक जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण बडालले बताउनु भयो । उत्पादित दुध मध्ये गाईको ५५ हजार ९ सय ७७ मेट्रिक टन र भैसीको ८३ हजार ९ सय ६७ मेट्रिक टन रहेको छ । स्थानीय गाईले एक पटक सुत्केरी हुँदा २ सय ४० दिन दुध दिने गरेको छ भने उन्नत गाईले २ सय ६० दिन दिन्छ । स्थानीय गाईको प्रति दिन २.५ मेट्रिक टन र उन्नत गाईको ८.४ मेट्रिक टन उत्पादन हुने गरेको छ । गाईले भन्दा भैसीले दुध धेरै दिने तथ्याङ्कले देखाएको छ । स्थानीय भैसीले २ सय ४० दिन दुध दिदा दैनिक ३.५ र उन्नत जातको भैसीले २ सय ६० दिन दुध दिँदा दैनिक ८.६ मेट्रिक टन दुध दिने गरेको छ ।
कुखुरा र हाँसको अण्डा ब्यवसायीक उत्पादन भईरहेको छ । २७ हजार ७ सय ८४ प्रति दिन कुखुराको र १ सय ३९ वटा प्रति गोटा हाँसको अण्डा उत्पादन भईरहेको छ । राँगो र भैसीको मासु ६ हजार १ सय ५, बंगुर १ सय ७०, खसी÷बोका २ हजार ७ सय ७२, भेडा÷च्याङ्गा ३६, कुखुरा हाँस २ हजार ६ सय ५४ गरी ११ हजार ७ सय ३७ मेट्रिक टन मासु उत्पादन भईरहेको छ । मासुका लागि पनि काभ्रेपलाञ्चोक जिल्ला आत्मनिर्भर मानिएको छ । माछा उत्पादन ८५.५ मेट्रिक टन उत्पादन भईरहेको छ भने भेडा÷च्याग्राबाट ३ हजार १ सय १६ केजी उन उत्पादन शुरु भएको छ । खरायोबाट ११.५ केजी समेत गरी ३ हजार १ सय २८ केजी उन उत्पादन भएको छ । छाला उत्पादनमा ठुलो पशुको छाला १४ हजार ५ सय ६० गोटा उत्पादन हुने गरेको छ ।









