बनेपा/आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा जिल्लाका पाँच उम्मेदवार आफुले आफैलाई मतदान गर्ने अवसरबाट बञ्चित हुने भएका छन् । प्रतिनधि सभामा उम्मेदवार भएका नेपाली काँग्रेसका शिवप्रसाद हुमागाई, प्रदेश सभा उम्मेदवार बनेका नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका तीर्थ लामा, नेमकिपाका कृष्णबहादुर तामाङ, पुर्ण सिं तामाङ र स्वतन्त्र उम्मेदवार रुकमणी श्रेष्ठले आफुले आफैलाई मत दिन नपाउने भएका छन् ।
आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुले अर्काे निर्वाचन क्षेत्रका उम्मेदवारहरुलाई मतदान गर्नुपर्ने भए पछि ‘टुरिस्ट’ नेता भन्न थालेका छन् । काँग्रेस भित्र टिकट खोसाखोस भए पछि शिव हुमागाई र तीर्थ लामा अर्काे क्षेत्रमा गएका हुन् । फोरमबाट पार्टी समायोजन भएर नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा विजयी भएका यसअघि उम्मेदवार समेत भई सकेका गणेश लामाको टिकट खोसेर जिल्ला अध्यक्ष तीर्थ लामाले टिकट लिएका हुन् । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकट भएकै कारण गणेश लामाको टिकट तीर्थ लामाले खोस्न सफल भएका हुन् । लोकतान्त्रिक फोरम तर्फबाट पार्टीमा समावेश हुनेहरु कसैले पनि अवसर पाएनन् । पार्टी उपसभापति समेत रहेका गोविन्द थापा पनि न स्थानीय तहको निर्वाचनमा, न समानुपातिक तर्फ न प्रत्यक्ष कतै परेनन् । शिव हुमागाई निकट नेता कार्यकर्ताहरुले गणेश लामाको टिकट खोसेसँगै केन्द्रीय सदस्य मधु आचार्यको टिकट पनि खोस्न सफल भए । काँग्रेसमा दुबै केन्द्रीय सदस्य कमजोर बने । अन्तिम समयमा आचार्य र गणेश लामाको टिकट खोसिए पछि कार्यकर्ताहरुमा शक्तिको पूजारी भएकाले मात्रै टिकट पाउने परम्परा कायम रहेको निश्कर्ष निकालेका छन् । तीर्थ लामाको प्रतिनिधि सभा १ को १ का मतदाता हुन् । उनले १ को २ बाट उम्मेदवारी दिएका छन् । त्यस्तै शिवप्रसाद हुमागाई प्रतिनिधि सभा १ का मतदाता हुन् । उनि प्रतिनिभा २ का उम्मेदवार हुन् ।
त्यस्तै नेमकिपाका कृष्णबहादुर तामाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ का मतदाता हुन् । उनी प्रतिनिधि सभा १ को २ बाट उम्मेदवार बनेका छन् । नेमिकपाकै पूर्ण सिं तामाङ पनि प्रतिनिधि सभा क्षेत्र नम्वर २ का मतदाता हुन् । उनि पनि प्रतिनिधि सभा १ बाट उम्मेदवार बनेका छन् । काठमाडौ महानगरपालिका १० घर भएकी रुकमणी श्रेष्ठ स्वतन्त्र उम्मेदवार हुन् । उनि काभ्रेको प्रतिनिधि सभा १ बाट उम्मेदवार बनेकी छिन् । आफै उम्मेदवार आफैलाई मतदान गर्न नपाउने भाग्यमानी ५ उम्मेदवारलाई अरु मतदाताले के गर्ने हुन् ? मसिर ४ कुर्नु पर्नेछ ।









