एक ब्यक्ति दुई पार्टीको सूचीमा
काभ्रेपलाञ्चोक जिल्लाबाट समानुपातिक तर्फ प्रतिनिधि सभामा २१ वटा पार्टीका ३९ जना र प्रदेश सभातर्फ २५ पार्टीका ५७ जनाको नाम समावेश भएको छ । ठुला पार्टीका चर्चित नेताहरुले प्रत्यक्ष र समानुपातिक दुबै तर्फ अवसर पाउन सकेनन् । दुबै तर्फ गरी जिल्लाका ९६ जनाको नाम समानुपातिक सूचीमा समावेश भएको छ ।
समानुपातिक सूचीमा समावेश हुनेहरु कहिल्यै राजनीतिमा नाम नसुनिएकाहरु धेरै छन् । पार्टीको नाम पनि नसुनेकाबाट धेरै ब्यक्तिहरुले उम्मेदवारको सूचीमा नाम समावेश हुने अवसर पाएका छन् । जिल्लाबाट नेकपा एमालेको तर्फबाट केन्द्रिय सदस्य रुकमणी राना बराईली र मजदुर नेता विदुर कार्कीको नाम प्रतिनिधि सभामा समावेश भएको छ भने प्रदेश सभामा जिल्ला उप सचिव रिता ढकालको नाम समावेश भएको छ ।
नेपाली काँग्रेसबाट प्रदेश सभामा बनेपाका उद्योगी ब्यवसायी सुरकृष्ण बैद्य र लक्ष्मी दनुवारको नाम परेको छ । यस अघि काँग्रेसका नेता शंखबुद्ध लामा र बनेपाकी सरस्वती बैद्यको नाम समावेश भएको भए पनि काँग्रेसकै नेताहरुले उनिहरु दुबै जना विरुद्ध उजुरी गरेकाले नाम काटिएको छ । दुबै जनाले सामाजिक सञ्जालमा बधाई लिईसकेका थिए । प्रतिनिधि सभामा नेपाली काँग्रेस काभ्रेबाट कसैले पनि अवसर पाएनन् । नेकपा माओवादी केन्द्रबाट मिना तामाङ र शिवप्रसाद दाहालको नाम समावेश गरिएको छ । प्रदेश तर्फ भोला अर्याल, सुन्तली थिङ र रुकु चौलागाईको नाम समेटिएको छ । बाबुराम भट्टराईको पार्टीका होमकुमारी तामाङ दोङको नाम समावेश गरिएको छ । तेजबहादुर मिजार लगायतको नाम चर्चामा रहे पनि समावेश हुन सकेन ।
राप्रपाबाट प्रदेश सभातर्फ उदय सिं मुस्याजु, दिपा श्रेष्ठ र अप्सरा विश्वकर्माको नाम समावेश भएको छ । दिपा धुलिखेल नगरपालिकाको उपप्रमुख पदमा उठेर पराजय भएकी थिईन् । दिपाका दाजु रञ्जीव श्रेष्ठले राप्रपाबाटै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ क बाट उम्मेदवारी दिएका छन् । उनिहरु दुबै जना स्थानीय तहको निर्वाचनमा काँग्रेसले अवसर नदिए पछि राप्रपा भएका थिए । राप्रपामा प्रवेश गरे लगत्तै बहिनी दिपाले उपप्रमुख र सांसद्को उम्मेदवार बन्ने अवसर पाईन भने दाजु रञ्जीवले प्रत्यक्षतर्फ उम्मेदवारी दिने अवसर पाएका छन् ।
नेमकिपाका कान्ति अवा र हेमशंकर गिरीको नाम बागमति प्रदेशमा समावेश भएको छ । हेमशंकर गिरी नेपाली सेनाका पूर्व कर्मचारी हुन् । प्रतिनिधि सभा तर्फ पार्वती गहतराजको नाम समावेश भएको छ ।
नेकपा एकिकृत समाजबादीले प्रदेशतर्फ यशुकुमारी लामा, कल्पनाकुमारी श्रेष्ठ, पासाङ डोल्मु लामा, प्रदिपकुमार लामा, हरिगोपाल प्रधानाङ्ग र दिलबहादुर तामाङको नाम समावेश भएको छ । रवि लामिछानेको पार्टीबाट रुपा शंकर, अनिता श्रेष्ठ, दिपकबहादुर विश्वकर्मा, दावा लामाको नाम समावेश गरिएको छ । बहुजन भक्ति पार्टीबाट प्रदेश सभामा समावेश भएका दीपक जंगम (मतदाता नम्वर १२८१६५३५) र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले प्रतिनिधि सभामा दीपक जंगम (मतदाता नम्वर १२८१६५३५) सूचीमा समावेश गरेको छ । दुबै एकै ब्यत्ति हुन् । दुवै पार्टीले एकै जनालाई समानुपातिक सूचीमा समावेश गरेको हो ।









