2026 August 23/ 12:10: 55pm

    नेकपा एमालेका पोलिटव्युरो सदस्य गोकुल बास्कोटाले काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराएका छन । बास्कोटा यसअघि २०७४ को निर्वाचनमा सोहि क्षेत्रबाट विजयी भएका थिए । यसपटक बास्कोटासँग गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता शिव हुमागाँईले प्रतिस्पर्धा गर्दै छन । मनोनयनपत्र दर्ता पछि पत्रकारसँग कुरा गर्दै बास्कोटाले समृद्ध काभ्रेको अधुरो यात्रा पुरा गर्नका लागि आफुले पुनः उम्मेदवारी दिएको बताएका छन । ‘यो निर्वाचन केवल निर्वाचन मात्रै नभई नेपाल र नेपाली जनताको भविष्य फैसला गर्ने समय हो’– बास्कोटाले भन्नुभयो–‘नेकपा एमाले र सत्तारुढ गठबन्धनबीच तुलना गर्दै नेपालमा दुईवटा राजनीतिक भाष्यको निर्माण भएको छ ।’ 
    ‘जनादेश वा परमादेश, सार्वभौमसत्ता जनतामा वा सार्वभौमसत्ता सिमित केहि व्यक्तिमा भन्ने फैसला आगामी निर्वाचनले गर्ने छ’– ‘राष्ट्रिय स्वाधिनता वा राष्ट्रियताको रक्षा गर्दै सबै मित्र राष्ट्रसँग मैत्रीपुर्ण र समान सम्बन्ध राख्न नेकपा एमाले मात्रै सक्षम छ भन्ने पछिल्ला गतिविधिले पुष्टि गरेको छ ।’ सत्तारुढ गठबन्धनले अरुको इशारामा उठ–बस गर्ने काम मात्रै गरेको बास्कोटाको आरोप थियो । पुर्वमन्त्री समेत रहेका एमाले नेता बास्कोटाले काभ्रेमा भौतिक पुर्वाधारको विकामसमा अभुतपुर्व उपलब्धि हासिल गरेको बताएका छन् । भौतिक पुर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन, खेलकुद क्षेत्रको थप विकासका लागि एमालेले नै जित्नुपर्ने उनको दाबी छ । अघिल्लो निर्वाचनमा आफुले गरेको बाचा सबै पुरा गरेको दाबी गर्दै बास्कोटाले हिजोको सपना आज विपना बनेको बताए । उक्त उपलब्धिलाई दिगो विकासतर्फ लाने बास्कोटाको भनाई छ । यस भित्र गरिवी निवारण मुख्य लडाँई रहेको बास्कोटाले बताएका छन ।