काभ्रेपलाञ्चोक जिल्लामा मंसिर ४ गते हुने निर्वाचनका लागि दल र स्वतन्त्र गरी ६७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधि सभा १ मा ३५ जना र प्रतिनिधि सभा २ मा ३० जनाले उम्मेदवारी दिएका छन् । सबै सिट जित्ने दावी गर्दै गठबन्धन गरेका सत्ता निकट दलहरु भित्र गडबड शुरु भएको छ । तर उजुरी दिने समय भित्र कसैले पनि उम्मेदवारहरुका बारेमा उजुरी दर्ता गरेनन् । ३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । अब ६४ उम्मेदवार कायम भएका छन् ।
प्रतिनिधि सभा १ मा १८ जना, सोहि क्षेत्रको ‘क’ मा ८ जना र ‘ख’ मा ९ जनाले उम्मेदवारी दिएका छन् । प्रतिनिधि सभा २ मा संघ तर्फ १६ जनाले मनोनयन दर्ता गराएका छन् भने प्रदेश ‘क’ मा ६ जना र ‘ख’ मा ८ जनाको उम्मेदवारी दर्ता भएको छ । सोहि क्षेत्रमा ३० जना उम्मेदवार भएका छन् । प्रतिनिधि सभा १ मा उम्मेदवार मध्ये ६ जना स्वतन्त्र ब्यक्तिको उम्मेदवारी दर्ता भएको छ । १२ वटा पार्टीले उम्मेदवारी मनोनयन गराएका छन् । जीतबहादुर मोक्तान, निमा बल तामाङ, माधवप्रसाद कँडेल, राजन घोरसाईने, रुकमणी श्रेष्ठ र ज्ञानेन्द्रबहादुर तामाङ स्वतन्त्र उम्मेदवार छन् । १८ मध्ये अन्य बाँकी दलको टिकट लिएर उम्मेदवार भएका छन् । सोहि प्रतिनिधि सभाको प्रदेश सभा १ मा एक जना ठुले तामाङले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने प्रदेश २ मा दुर्गबहादुर घर्ति र विशेश्वर बञ्जाराले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ मा ५ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । स्वतन्त्र उम्मेदवारी दिनेहरुमा मनोज पण्डित, स्वयम्भुराज शाक्य, बोधनाथ न्यौपाने, शेषराज न्यौपाने र कृष्ण खत्री छन् । प्रदेश ‘क’ र ‘ख’ दुबैमा कसैले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएन । गठबन्धन गरेका नेकपा एकीकृत समाजबादीका जिल्ला अध्यक्ष बसुन्धरा हुमागाईले गठबन्धन विरुद्ध बागि उम्मेदवारी दिएर गडबडी गरेका छन् । उनको उम्मेदवारी फिर्ताका लागि पटक–पटक पहल भएको थियो । गठबन्धनले नेपाली काँग्रेसका कञ्चनचन्द्र बादेको उम्मेदवारी दर्ता भएको छ । उनिहरुसँग एमालेका कुमार थापाले प्रतिस्पर्धा गर्नेछन् ।
हिजो प्रतिनिधि सभा १ का स्वतन्त्रतर्फका निमा बल तामाङले एमालेका उम्मेदवार रेशम लामालाई समर्थन गरी उम्मेदवारी फिर्ता लिए भने प्रदेश १ का स्वतन्त्र उम्मेदवार ठुले तामाङले पनि फिर्ता लिए । त्यस्तै प्रतिनिधि सभा २ अन्तर्गत प्रदेश ख का बसुन्धरा हुमागाईले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।









