नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय मधु आचार्य र गणेश लामाको टिकट खोसेर अन्तिम समयमा शिव हुमागाई र तिर्थ लामाले ल्याए पछि कांग्रेस भित्रको असन्तुष्टी चुलिएको छ । माओवादी भित्र पनि पुर्व गाउँपालिका अध्यक्ष दिनानाथ गौतमले टिकट नपाए पछि असन्तुष्ट सामाजिक सञ्जालमा छरपस्ट भएको छ । समाजवादीका अध्यक्ष समेत रहेका बसुन्धरा हुमागाईको पनि टिकट खोसिएको छ ।
काभ्रेपलाञ्चोकका दुई वटै प्रतिनिधि सभा र प्रदेश सभामा सत्ता निकट गठवन्धन र सत्ता बाहिर रहेको दल नेकपा एमाले लगायत अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ को पनौतीमा र प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ को धुलिखेलमा मनोनयन दर्ता भएको हो ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ मा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री गोकुल बास्कोटाले मनोनयन दर्ता गराएका छन् । गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका शिव हुमागाईले मनोनयन दर्ता गराए । सोहि क्षेत्रको प्रदेश सभा ‘क’ मा एमालेका तर्फबाट कुमारप्रसाद खकुरेल र ‘ख’ मा कुमार थापाको मनोनयन दर्ता भयो भने गठवन्धनका तर्फबाट प्रदेश सभा ‘क’ मा नेकपा समाजवादीका लक्ष्मण लम्साल र ‘ख’ मा नेपाली काँग्रेसका कञ्चनचन्द्र बादेको मनोनयन दर्ता भएको छ । बास्कोटाले यसअघि नेपाली काँग्रेसका मधु आचार्यलाई फराकिलो मतान्तरले पराजय गराएका थिए भने सोहि क्षेत्रका दुबै प्रदेशमा एमालेका उम्मेदवार विजयी भएका थिए । काँग्रेसका कञ्चनचन्द्र बादे यसअघि पनि सोहि प्रदेशबाट उम्मेदवार भए पनि पराजय भएका थिए ।
सोहि क्षेत्रबाट जितेका एमालेका बसुन्धरा हुमागाई नेकपा समाजवादीमा गए पछि काँग्रेसले गठबन्धनको तर्फबाट भाग पाएको थियो । बसुन्धरा हुमागाई प्रदेशमा मन्त्री भए पनि टिकट पाएनन् । समाजवादीले काभ्रेमा एकसिट मात्रै पाएको छ । काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका मधु आचार्यको टिकट पनि अन्तिम समयमा आएर खोसिएको छ । हुमागाई २०५६ सालमा प्रतिनिधि सभामा विजयी भएका थिए । उनको निर्वाचन क्षेत्र नम्वर १ हो । मतदाता सूचीमा उनको नाम प्रतिनिधि सभा १ मा छ । टिकट नपाएका आचार्य मनोनयन दर्तामा समेत उपस्थित भएनन् । सोहि क्षेत्रमा राप्रपा नेपाल, नेकपा माले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, मंगोल नेशनल अर्गनाईजेशन, नेकपा माओवादी समाजवादी र केहि स्वतन्त्रले उम्मेदवारी दर्ता गरेका छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ मा नेकपा एमालेको तर्फबाट पूर्व राज्य मन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य रेशम लामाले मनोनयन दर्ता गराएका छन् ।
गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका नेता पूर्व राज्य मन्त्री सुर्यमान दोङको मनोनयन दर्ता भएको छ । प्रदेश सभा तर्फ ‘क’ मा एमालेका दिलिप तामाङ र ‘ख’ मा एमालेका चन्द्र लामाको मनोनयन दर्ता भएको छ । चन्द्र यसअघि पनि सोहि प्रदेशबाट विजयी भई मन्त्री समेत भईसकेका छन् । गठबन्धनको तर्फबाट माओवादीका रत्न ढकाल ‘क’ प्रदेश र ‘ख’ प्रदेशमा नेपाली काँग्रेसका जिल्ला सभापति तिर्थ लामाको मनोनयन दर्ता भएको छ । ढकाल प्रदेश मन्त्री छन् । काँग्रेसका तिर्थ लामाको उम्मेदवारी प्रतिनिधि सभामा उनको मात्रै नाम सिफारिस भएको थियो । केन्द्रीय सदस्य गणेश लामालाई पछि पार्दै तिर्थले टिकट अन्तिम समयमा खोसेर ल्याएका थिए । माओवादी भित्र चौरीदेउराली गाउँपालिकाका पूर्व अध्यक्ष दिनानाथ गौतमले टिकट नपाए पछि सामाजिक सञ्जालमा असन्तुष्ट छरपस्ट भएको छ । ढकालले पटक–पटक अवसर पाएको भन्दै माओवादी भित्रको असन्तुष्टी पोखिएको हो ।









