– जिल्लाको दोश्रो ठुलो सहकारी सामुदायीक
– अध्यक्षमा प्रकाश, संचालक हेरफेर
– कुल पूँजी ४ अर्ब २२ करोड
पनौती/पनौती नगरपालिका वडा नम्वर ४, काभ्रेपलाञ्चोकमा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड र बनेपा ७, काभ्रेपलाञ्चोकमा मुख्य कार्यालय रहेको युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड बीच एकीकरण सहितको साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाले सामुदायिक साकोसका अध्यक्ष प्रकाश बञ्जारालाई बाँकी दुई वर्षको अवधीका लागि अध्यक्ष चयन गर्दै खाली रहेका केहि पदमा युवा साकोसका तर्फबाट संचालक थप गरिएको छ । थप गरिएका संचालकहरु मध्ये कोषाध्यक्ष सरोज तिमल्सिना लगायत रहेका छन् । सहकारी ऐनले सहकारीमा संचालक हुने ब्यक्ति सरकारी सेवामा रहेको हुन नहुने ब्यवस्था गरे लगत्तै प्रताप ताम्राकार लगायतले सामुदायिक साकोसको जिम्मेवारी छाडेका थिए । खाली भएका पदहरुमा युवा साकोसका तर्फबाट ६ जना संचालकलाई सामुदायिक साकोसको संचालकमा राखिएको छ । एकिकृत सभा पछि दुबै संस्थाका शेयर सदस्यहरुले ठुलो सहकारीबाट सेवा प्रभावकारी हुने विश्वास ब्यक्त गरेका छन् ।
सभाको उद्घाटन पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले गर्नु भएको थियो । सामुदायिक तर्फबाट उपाध्यक्ष कुमारप्रसाद लामिछाने, सचिव मुकुन्द शर्मा, कोषाध्यक्ष प्रताप ताम्राकार र लेखा समिति संयोजक हरि तिमल्सिनाले प्रतिवेदनहरु प्रस्तुत गर्नु भएको थियो । एकिकरण अघि सामुदायिक साकोसमा ३७ हजार २ सय २३ सदस्य थिए भने ३२ करोड ६ लाख ५४ हजार ६ सय शेयर पुँजी रहेको थियो । एकिकरण पछि एकीकृत संस्थाको शेयर सदस्य संख्या ४८ हजार र कुल पूँजी ४ अर्ब २२ करोड पुगेको छ । शेयर पूँजी ३८ करोड पुगेको प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले जानकारी दिनु भयो । लगानीमा रहेको ऋण ३ खर्ब ३३ करोड पुगेको छ । बचत निक्षेप २ अर्ब ७० करोड पुगेको छ । जगेडा कोष ३० करोडको भएको छ भने अन्य कोषहरु २१ करोड गरी जम्मा कोष ५१ करोडको पुगेको छ ।
कार्यक्रममा संयुक्त एकीकरण कार्यदलका संयोजक एवं युवा बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष उदयराम कायस्थ र सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रकाश बन्जाराले राज्यको कानून, सहकारी ऐन, नियमावली तथा निर्देशनलाई अक्षरश पालना गर्दै शेयर सदस्यहरुलाई एकीकृत संस्थाबाट दिगो र गुणस्तरिय सेवा उपलब्ध गराउने उदेश्यले एकीकरणको आवश्यकता रहेको बताउनु भयो । २०५१ साल माघ १४ गते स्थापना भई ९ वटा सहकारी संस्था एकीकरण भई काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कार्यक्षेत्र रहेको ३८ हजार शेयर सदस्य र ३ अर्ब ७४ करोडको कुल पूँजी रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. र २०५३ साल भाद्र १५ गते स्थापना भई ११ हजार शेयर सदस्य र ४५ करोडको कुल पूँजी रहेको युवा बचत तथा ऋण सहकारी संस्थाले एक आपसमा एकीकरण भई जिल्लाको दोश्रो ठुलो सहकारी बनेको छ । जिल्लाको धेरै पुँजी र शेयर सदस्य भएको सहकारी विन्धबासिनी हो ।









