प्रशासनमा पुग्दै कबोल्दै, केहि फरार
धुलिखेल/सरकारले किलोमिटर ब्याज लिनेहरु विरुद्ध उजुरी आब्हान गरेसँगै प्रशासनमा उजुरी बोकेर पुगेका पीडित र आरोपित बीच रोचक जुहारी चलेको छ । किलोमिटर ब्याज लिनेहरुले आफुले चर्काे ब्याज नलिएको बयान दिएका छन् भने पीडितहरुले थप पिडा ओकलेका छन् । प्रशासनले आरोपितहरुलाई बयान लिन शुरु गरेको भए पनि प्रशासनलाई अटेर गर्दै केहि अझै पुगेका छैनन् । प्रशासनले बयानमा अनुपस्थित भएकाहरुलाई प्रहरी लगाएर पक्राउ गर्ने योजना बनाएको छ ।
‘उजुरी परेकाहरुलाई बयानका लागि बोलाएर धमाधम बयान लिएका छौं’–सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले भन्नुभयो–‘पीडित र पीडक दुबैलाई झिकाएर बयान लिएका छौं । पीडकले स्विकार्न तयार भएका छैनन् । पीडितहरु मध्ये केहिले प्रमाण पेश गरिरहेका छन् ।’ पहिलो चरणको बयान सकिए लगत्तै दोश्रो चरणको अनुसन्धान र कारवाही अघि बढाउने गरी प्रशासनले तयारी गरेको छ । ‘सरकारले दिएको म्याद भित्र प्रशासन कार्यालयमा १७ जना पीडितले उजुरी गरेका थिए’–सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले भन्नुभयो–‘ प्रशासनमा दर्ता भएका उजुरीका बारेमा अध्ययन अनुसन्धान भईरहेको छ । उजुरीको म्याद नभएकाले सर्वसाधारणले जहिले पनि उजुरी दिन सकिने ब्यवस्था छ ।’
सरकारले उजुरीका सन्दर्भमा छानविन गर्ने अधिकार प्रत्याजोनका लागि कार्यविधि तयार गरी प्रशासन कार्यालयमा पठाएको छ । प्रशासन कार्यालयले उजुरीका सन्दर्भमा कारवाही अघि बढाएको हो । १७ जना पीडितले ३५ भन्दा धेरै विरुद्ध उजुरी दर्ता गरेका छन् । उजुरी पर्नेमा सहकारी र सहकारीका प्रबन्धक, संचालक, जग्गा ब्यवसायी छन् । गतिशिल सहकारी र सहकारीका प्रबन्धक बलराम पाठक विरुद्ध उजुरी परेको छ । जिल्लाको विभिन्न क्षेत्रमा कारोवार गर्ने शिखरपुर होक्से घर भएका प्रताप सिं तामाङ, नवराज बानियाँ, राजकुमार बराल, आसमान तामाङ, दिपक थापा, बलराम सुवाल, अशोक लामा, युवराज अधिकारी, इन्द्रलाल तुसुजु, कृष्ण वेजु, रामकुमारी श्रेष्ठ, बद्रीबहादुर श्रेष्ठ, उर्मिला प्रधान, रामबहादुर कार्की, राधेलक्ष्मी लखाजु (त्वायना), पूर्णकुमारी अधिकारी, लोकनाथ अधिकारी, विजया अधिकारी सापकोटा, सनिल भालु, राजकुमार प्रजापति, रक्तिम तामाङ, राजनबहादुर दाहाल लगायत छन् ।









