2026 August 23/ 06:22: 16am

    पनौती/लागु औषध सुधार गृहलाई यातना केन्द्र बनाई ब्यक्तिलाई चरम यातना दिई हत्या गर्ने पनौती ८ मल्पीका पिस होम पुनःस्थापना केन्द्र संचालन केन्द्रका संचालकलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले जन्म कैदको फैसला सुनाएको छ । सहयोगी दुई जनाको असोज ४ गते सजायँ निर्धारण हुनेछ । 
    काभ्रेपलाञ्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका वडा नम्वर १० घर भई ललितपुर महानगरपालिका वडा नम्वर ९ च्यासलमा डेरा गरी बस्ने मोहनलाल श्रेष्ठ र उनको श्रीमती उषा श्रेष्ठका १६ बर्षिय छोरा सोहन श्रेष्ठले लागु औषध प्रयोग गरिरहेको भन्दै पनौती ८ मल्पिमा रहेको पिस होम पुनःस्थापना केन्द्रमा २०७७ भदौ ३० गते भर्ना गरेका थिए । सुधार गृहमा सुधार गर्न नभई चरम यातना दिदै आएका श्रेष्ठको यातनाको क्रममा २०७८ माघ १६ गते यातनाकै क्रममा निधन भएको थियो । १७ महिनामा समेत बानी सुधार गर्न नसकेको पिस होमले सोहनलाई २०७८ माघ १६ गते दिनभर पाईप र लौरोले कुटपिट गरेका थिए । संचालक समिर चौलागाईले हत्केला, खुट्टा, पैताला र टाउकोमा हिर्काएका थिए । पुरन भन्ने पुर्णचन्द्र स्वाँरले सिस्नो पानी शरीरभरी लगाएका थिए भने अर्का सहयोगी संजय घलेले ंंखुट्टा समातेका थिए । दिउँसो देखि कुटपिट गरी यातना दिएका सोहनको शिर मेमोरियल अस्पताल बनेपामा उपचारका क्रममा सोहि दिन साँझ निधन भएको थियो । निधन भए पश्चात सोहनकी आमा उषाले ज्यान सम्बन्धी कसुरमा जाहेरी दिएकी थिईन् । 
    जिल्ला न्यायाधीश मोहनराज भट्टराईको इजलासले भदौ २७ गते गरेको फैसलामा अभियुक्त काठमाडौ महानगरपालिका १० बानेश्वर घर भई पनौती नगरपालिका ८ मल्पीमा पिस होम पुनः स्थापना केन्द्र संचालन गरी बस्ने ३३ बर्षिय समिर चौलागाईलाई जन्मकैदको फैसला सुनाएको छ । कैलाली जिल्ला धनगढी नगरपालिका वडा नम्वर ८ स्थायी घर भई काठमाडौ बानेश्वर बस्ने पुनःस्थापना केन्द्रका भोलिन्टियर २८ बर्षिय पुरन भन्ने पुर्णचन्द्र स्वाँर र उदयपुर त्रियुगा नगरपालिका वडा नम्वर १० गाईघाट घर भई पिस होम पुनस्थापना केन्द्रमा सहयोगी भई बसेका २८ बर्षिय संजय घलेको सजाँय निर्धारण हुन बाँकी छ । उनिहरु घटनामा संलग्न भई दोषि प्रमाणित भएको छ । अदालतले उनिहरुको हकमा असोज ४ गते कति सजायँ हुने हो ? निर्धारणको फैसला गर्नेछ । पछिल्ला समय लागु औषध सुधार केन्द्रहरु यातना केन्द्रका रुपमा परिणत हुन थालेका छन् । बालबालिका र युवाहरु लागु औषध प्रयोग गर्न थालेको भन्दै सरोकारवालाले चिन्ता ब्यक्त गर्न थालेका छन् ।