धुलिखेल/हुँदै नभएको जग्गा विक्री गर्ने गिरोहको समुहलाई प्रहरीले सरकारी वकिल कार्यालय मार्फत अदालत बुझाएको छ । सरकारी वकिलको कार्यालयमा बयान सकिए लगत्तै मुद्दा अदालतमा पेश हुनेछ ।
‘संगठित अपराधमा दर्ता भएको मुद्दाको प्रहरीले अनुसन्धान पछि सरकारी वकिलको कार्यालय मार्फत अदालत पेश गर्नेछ’–प्रहरी प्रवक्ता डिएस्पी ढुण्डीराज न्यौपानेले भन्नुभयो–‘अपराधमा संलग्न केहि फरार छन् । केहिलाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरुलाई अनुसन्धान पछि अदालत बुझाईएको छ ।’ सरकारी वकिल कार्यालयले पक्राउ परेकाहरुसँग बयान लिएर अदालत पेश गर्ने तयारी गरेको छ । फरार मध्ये दुई जना साक्षी बसेका ब्यक्तिहरु छन् । एकजना रामचन्द्र श्रेष्ठ । जग्गा विक्री प्रयोजनका लागि देखाउने र कमिसन लिने मध्येका एक हुन् रामचन्द्र । रवि रेग्मीसँग जग्गा किन्ने क्रममा ३ लाख रुपैयाँ कमिसन खाएर आफ्नै जेठानलाई विक्री गराएको अभियोग उनि माथि छ । हिरासतमा बसेका रवि रेग्मीको नाममा भएका जग्गा विक्रीका लागि अधिकृत वारेसनामा दिने तयारी पनि अदालतले रोकिदिएको छ । ठगीमा मिलापत्र गर्ने तयारी भए पनि सरकारी वकिलको कार्यालयले सरकारी छाप दस्तखत किर्ते र जालसाझी पनि भएकाले ठगीमा मिलापत्र गर्न नमिल्ने सल्लाह दिएको थियो ।
मालपोत कार्यालय भित्रैबाट पुर्जा लिएर वितरण गरेको बयान रविले दिएका छन् । रवि रेग्मी, मालपोतका दुई कर्मचारी, इन्जिनियर पक्राउ परिसकेका छन् । लेखापढी कानून ब्यवसायी सीताकुमारी थापा र उनका श्रीमान राजन थापा फरार छन् । अन्य दुई पनि फरार छन् ।









