जिल्लामा धमाधम खेलाडी छनौट, १५७ जना छनौट हुने
बनेपा/नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत बागमति प्रदेश खेलकुद प्रतियोगितामा काभ्रेपलाञ्चोक जिल्लाबाट विभिन्न विद्यामा खेलाडीहरु छनौट प्रकृया शुरु भएको छ । काभ्रेपलाञ्चोक जिल्ला खेलकुद विकास समितिले सार्वजनिक रुपमा आब्हान गरी १३ वटै स्थानीय तहलाई औपचारिक पत्र समेत पठाएको अध्यक्ष मानविर वाईवाले बताउनु भयो । जिल्लाभार ८ वटा विद्यामा १ सय ५७ जना खेलाडी छनौट हुनेछन् ।
प्रतियोगितामा सहभागिता हुन आईटिएफ तेक्वान्दोका खेलाडीहरु शनिबार छनौट भएका छन् । बुद्धिचाल प्रतियोगिताका खेलाडीहरु सोमबार छानिएका छन् भने फुलकन्ट्याक्ट कराँते प्रतियोगिताका लागि पनि सोमबार नै खेलाडी छनौट भएका छन् । कबड्डी छात्र÷छात्रा र टेबल टेनिस छात्र÷छात्रा र बास्केटबलका लागि मंगलबार छनौट भएका छन् । उक्त प्रतियोगिताको उद्घाटन अध्यक्ष मानविर वाईवाले गर्नु भएको थियो । कार्यक्रममा बास्केट बलका केन्द्रिय सदस्य पवन थापा, खेलकुद विकास समितिका कार्यालय प्रमुख बलराम शर्मा, जिल्ला खेलकुद विकास समितिका सदस्यहरु मनोज थापा, देवकी श्रेष्ठ, बास्केटबल संघका जिल्ला अध्यक्ष विजय मुस्याजु, नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना लगायतको सहभागिता रहेको थियो ।
उसु खेलका खेलाडी हिजो बुधबार छनौट भएका छन् । आज भाद्र ९ गते विहिबार जुडो खेलका खेलाडीहरु छनौट हुनेछन् । भाद्र १३ गते राष्ट्रिय खेलकुद परिषद्को ५९ औ बार्षिकोत्सवको उपलक्ष्यमा प्रदेश भित्रका स्थानीय तहहरु मध्ये एउटा स्थानीय तहलाई निश्चित मापदण्डका आधारमा सम्मान गर्नेछ । यस अघि पनि जिल्ला खेलकुद विकास समितिले जिल्लामा विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको छ । अध्यक्ष मानविर तामाङले राष्ट्रपति रनिङ्ग शिल्ड तथा विभिन्न प्रतियोगिताहरुमा खेलकुद विकास समितिले सक्रिय रुपमा कार्यक्रमहरु आयोजना गरेको बताउनु भयो । समितिले जिल्लामा खेलकुदका क्षेत्रमा विभिन्न विद्याबाट सहयोग गर्ने ब्यक्तिहरुको नामावली पनि प्रदेश समितिमा पठाउने छ । प्रतियोगितामा बास्केटबलमा ३२ जना, टेबुलटेनिसमा १० जना, कबड्डीमा २४ जना, उसुमा ३०, फुलकन्ट्याक्ट कराँतेमा १२ जना, आईटिएफ तेक्वान्दोमा २५ जना, बुद्धिचालमा ६ जना र जुडोमा ६ जना गरी ८० पुरुष, ७७ जना महिला समेत १ सय ५७ जना छनौट हुनेछन् ।









