2026 August 23/ 05:23: 28am

– जिल्लाभर १५ हजार कन्या पूजिए, बनेपामा मात्रै ८ हजार
    बनेपा/ब्यापारीक र ऐतिहासिक नगरी बनेपा र जिल्ला आसपासका विभिन्न क्षेत्रमा कृष्णअष्टमीको अवसरमा कन्याहरू पुजिएका छन् । १ सय २० वर्ष अघि शुरु भएको ऐतिहासिक बृहत्त कन्या पूजा बनेपामा सम्पन्न भएको हो । 
    बनेपामा भएको कन्या पूजामा प्रति कन्या चार सय रुपैयाँ बराबरका सामाग्री उपलब्ध गराईएको छ । ८ हजार कन्याका लागि बनेपामा ३ करोड २० लाख खर्च भएको छ । कोरोना महामारीका कारण विगत दुई वर्ष सामुहिक कन्या पूजा गरिएको थिएन । सनातन कन्या पूजा प्रबन्ध समितीको बैठकले यसवर्ष कन्या पूजा सञ्चालन गर्ने निर्णय पछि पूजा ब्यवस्थापन गरिएको अध्यक्ष रामगोपाल कायस्थले बताउनु भयो । तत्कालीन सनातन कन्या पूजा प्रबन्ध समितिका अध्यक्ष गोपाल सिं मुस्याजुको निधन पछि समितिको बैठकले अध्यक्षमा रामगोपाल कायस्थलाई मनोनित गरेको थियो । २ वर्ष सम्म स्थगित भएको कन्या पूजा यस वर्ष भब्य रुपमा सञ्चालन गर्न र कन्याहरुलाई पूजा तथा प्रसाद वितरण गर्न भक्तजनहरुलाई समितिले अनुरोध गरेको थियो । समितिको निमन्त्रणाका आधारमा ६५ भन्दा धेरै भक्तजन विभिन्न प्रकारका सामाग्री सहित कन्या पूजामा सहभागी भएका थिए । 
    अविवाहित तथा रजश्वला नभएका, बेल विवाह नगरिएका कन्याहरूलाई विभिन्न विधिका साथ पूजा गरिँदै आएको छ । ‘घरबाट शुरु गरिएको कन्या पूजा अहिले नेपालमै नमुना भएको छ’ –कन्या पूजा प्रबन्ध समितिका सचिव सुरकृष्ण वैद्यले भने, ‘बाजे बराजुले शुरु गरेको संस्कृतिलाई जतिसुकै खर्चिलो भए पनि पूरा गर्ने अभियान चलाएका छौं ।’ बनेपा आसपास ७ गाउँका कन्याहरूलाई बनेपामा पूजा गरिँदै आएको परम्परालाई ब्यवस्थित गर्न समिति नै गठन गरिएको थियो । बनेपाको भोलाखाटोलबाट शुरु भएको बृहत्त कन्यापूजाको शुरुवातमा भोलाखा गणेशलाई पूजा गरी विधिअनुसार सुरकृष्ण वैद्यको घरबाट निस्किएको पूजा, टीका र जंजका (काँचो धागो) तेलले कन्यालाई स्वारी, मालपुवा, चकलेट, छोकडा, विस्कुटसहित पूजा गरिन्छ । सिजन अनुसार दुई प्रकारको फ्रुटी, चाउचाउ, दक्षिणा सहित एउटी कन्यालाई चार सय रुपैया बराबरको सामाग्री उपलब्ध गराईएको छ । 
    भोलाखाटोलबाट पूर्वतिर भोलाखाटोल, स्वधाटोल र वकुटोलसम्म बसिरहेका कन्याहरूलाई पूजा गर्दै घुमेर, पश्चिमतिर फर्की वकुटोल, स्वधाटोल, भोलाखाटोल हुँदै दक्षुटोलसम्म दायाँतर्फका सडकको पेटीमा आसनमा बसिरहेका कन्याहरूलाई पूजा गर्दै लायकु ध्वाखासम्म आई, पूर्वतिर फर्केर दायाँतिरका पेटीमा बसिरहेका कन्याहरूले पूजा गर्दै भोलाखाटोल पुगेपछि विर्सजन भएको सचिव वैद्यले जानकारी दिनु भयो । निःशुल्क गरिएको कन्यापूजाका लागि प्रबन्ध समितिको करिव २० लाख खर्च भएको छ । दाताहरूले दिएको केही रकम बाहेक अन्य खर्च समितिका पदाधिकारीहरूले नै ब्यहोर्दै आएको वैद्यले जानकारी दिनु भयो । जात्राको व्यवस्थापन गर्न अक्षयकोषको स्थापना गरी थप रकम संकलन गरिएको समितिका सदस्य प्रकाश कायस्थले बताउनु भयो ।
    ‘समितिको पहलमा शुरुमा १३ लाखको अक्षयकोषमा करिब केही रकम थप गरिएको छ’ –कायश्थले भन्नुभयो–‘केही दिन अघिदेखि ३०÷४० जना मजदुरहरूद्वारा ८० हजार स्वारी, ८ हजार माल्पुवा पकाइएको थियो ।’ एउटी कन्याले ८ वटा स्वारी, एउटा माल्पुवा, एउटा फ्रुटी समितिको तर्फबाट पाएकी छिन् भने अन्य सामग्रीहरू करिब ६५ भन्दा धेरै ब्यक्तिहरूले पूजा गर्दा उपलब्ध गराएका छन् । कन्याहरूलाई पूजा गर्दा सुस्वास्थ्य, सुभमङ्गल र सुखमय जीवनको कामना गरिएको छ । बनेपा आसपास ७ गाउँबाट कन्याहरू पूजामा सहभागी भएका थिए । कन्याहरूलाई पूजा गर्दा उनीहरूको आशिर्वादका कारण मन हलुङ्गो हुने, आत्मसन्तुष्टी मिलेको, इच्छा पूरा भएको र केही हराएको बस्तु पाएको जस्तो महसुस हुने गरेको विश्वास छ । बनेपाको अलावा, साँगा, बुडोल, नाला, चौकोट, धुलिखेल, पनौती, धनेश्वर लगायतका स्थानमा पनि कन्या पूजा गरिएको छ ।