2026 August 24/ 06:00: 55am

    धुलिखेल नगरपालिका वडा नम्वर ६ र ५ मा रहेको सार्वजनिक जग्गा, सडक, कुवालाई क्षति पु¥याएर प्लटिङ्ग गरेका बनेपाका लक्ष्मण कर्माचार्यका कारण सर्वसाधारणको जमिनमा क्षति पुगेको उजुरी धुलिखेल नगरपालिकाको न्यायिक समिति र जिल्ला अदालतमा दर्ता भएको छ । कमाचार्यले बनेपा ५ श्रीखण्डपुरमा केहि वर्ष अघि सार्वजनिक जग्गाबाट सडक खनेर ब्यक्तिगत जग्गाको प्लटिङ्ग गरेका थिए । नगरपालिकाले उक्त सडकलाई घेराबन्दी गरेर राखे पनि कर्माचार्यले उक्त जमिनबाटै सडक भएकाले जग्गा कित्ताकाट गरेर विक्री गर्न पाउनु पर्ने अडान राख्दै सार्वजनिक जग्गा कब्जाको प्रयास गरेका थिए । उक्त मुद्दा अहिले जिल्ला अदालतमा विचाराधिन छ । न्यायीक समितिले उनको विरुद्धमा आदेश गरेको थियो । उनले गरेको प्लटिङ्गमा बैना गर्नेहरुले जग्गा किनबेच गर्न पाएका छैनन भने पछिल्लो समय घर निर्माण समेत गर्न पाएका छैनन् । 
    वडा नम्वर ६ को चौकोटमा १५ रोपनीबाट शुरु गरिएको प्लटिङ्ग करिव ४० रोपनी पुगेको छ । उनै लक्ष्मण कर्माचार्यले पुरानो विपी राजमार्ग हाल श्रीखण्डपुर हुँदै कुप्स निस्कने सडकलाई समेत क्षति पु¥याउँदै प्लटिङ्ग गरिरहेका छन् । स्थानीयहरुले पटक पटक धुलिखेल नगरपालिका वडा नम्वर ६ को कार्यालय र न्यायिक समितिमा उजुरी दर्ता गराएका छन् । जमिन र सडकको लेभल एकै स्थानमा भए पनि प्लटिङ्गका कारण झण्डै ४० फिट गहिरो पारिएको छ । उक्त प्लटिङ्ग भित्र सडकको मापदण्ड त परेको छ नै त्यो भन्दा धेरै सार्वजनिक जग्गा पनि परेको छ । बाटोको मापदण्ड, सार्वजनिक जग्गाको मापदण्ड नै नछाडी शुरु गरिएको अन्धाधुन्द प्लटिङ्गका कारण परापुर्व कालदेखि रहेको कुवा पुरिएको छ । स्थानीयहरुको सयौ रोपनी जमिनमा लगाईएको अन्नबाली समेत प्लटिङ्गको पानी र पहिरोले क्षति पु¥याउन थालेको छ । स्थानीयहरुले पटक पटक गुनासो गरे पछि सडकको सुरक्षाका लागि भन्दै वाल लगाउन शुरु गरेका छन् । कुवाको सुरक्षाका लागि वाल लगाएका छन् । तर पनि क्षति रोकिएको छैन । सडकमा पहिरो झरेको छ । सरकारले कित्ताकाट रोकेकाले प्लटिङ्गका जग्गा विक्री हुन सकेका छैनन । प्लटिङ्गवालाहरुले जग्गाधनीलाई अंश बण्डाको नक्कली सम्वन्ध खुलाएर सक्कली कित्ताकाट गर्दै आएका थिए । लक्ष्मण कर्माचार्यले उक्त प्लटिङ्गका कारण पु¥याएको क्षतिका बारेमा न्यायिक समितिमा छलफल हुने धुलिखेल नगरपालिकाले जानकारी दिएको छ ।