2026 August 24/ 05:59: 21am

– घट्यो लिखत, बढ्यो राजश्व
– काभ्रेपलाञ्चोक जिल्लामा २ लाख ६४ हजार २ सय ७४ जग्गा धनीका ६ लाख ७ हजार ७१ कित्ता जग्गा

धुलिखेल/सरकारले स्थानीय तहलाई जग्गा बर्गिकरण पछि मात्रै भू–उपयोग ऐन २०७६ तथा भू–उपयोग नियमावली, २०७९ अनुसार कित्ताकाट गर्न गरेको परिपत्र जिल्लाका १३ वटै स्थानीय तहले कार्यान्वयन गरेका छैनन । स्थानीय तहले जग्गा बर्गिकरण नगरेका कारण ब्यक्तिले पाउने अशंको हक हनन भईरहेको छ भने अन्य तत्कालै गर्नु पर्ने कारोवारका लागि आवश्यक पर्ने कित्ताकाट हुन सकेको छैन । 
    ‘२०७९ जेठ २७ गते भूमिब्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले मालपोत कार्यालयलाई परिपत्र गरी ऐन र नियमावली अनुसार जग्गा बर्गिकरण पछि मात्रै लिखत पास गर्न निर्देशन दिएको छ’–मालपोत कार्यालय काभ्रेका प्रमुख मालपोत अधिकृत नविनकिशोर अधिकारीले भन्नुभयो–‘जेठ २७ पछि केहि दिन ठप्प भएको मालपोत कार्यालयमा सर्वाेच्च अदालतको आदेश पछि जग्गा रोक्का लगायतका कार्य गर्न बाहेक अन्य कारोवार हुन सकेको छैन । जसका कारण सर्वसाधारणले दुख त पाएका छन् नै राज्यका तीनै तहले प्राप्त गर्ने राजश्व पनि गुमाएका छन् ।’ स्थानीय तहको राजश्वको प्रमुख श्रोत मालपोत कार्यालय पनि हो । नेपाल लेखापढी कानून ब्यवसायी एसोसिएसन काभ्रे जिल्ला समितिले जिल्लाका १३ वटै स्थानीय तहमा ज्ञापन पत्र मार्फत तत्काल जग्गा बर्गिकरणका लागि अनुरोध गरेको छ । अध्यक्ष रोशनकुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीले मंगलबार मात्रै कोशिपारीका दुई पालिका भुम्लु र चौरीदेउराली, मण्डनदेउपुर नगरपालिकामा ज्ञापन पत्र पेश गरेको सचिव कुमार मैनालीले बताउनु भयो । यस अघि महाभारत गाउँपालिकाका अध्यक्षलाई ज्ञापन पत्र बुझाएको थियो । शहर केन्द्रित बनेपा, पनौती, धुलिखेल र पाँचखालमा ज्ञापन पत्र बुझाईसकेको छ भने रोशी, बेथान्चोक, खानिखोला, तेमाल र नमोबुद्धमा ज्ञापन पत्र बुझाउँदै छन् । 
    रोशीका सन्तबहादुर तामाङले अंशबण्डा नहुँदा आफुले पाउने ब्यक्तिगत सम्पतिबाट थप कारोवार गर्न नसकेको बताउनु भयो । मालपोत कार्यालय पुग्दा स्थानीय तहमा जानु भनेकाले रोशी गाउँपालिकामा गएको तर बर्गिकरण नभएकाले समस्या भएको जानकारी प्राप्त भएको सन्तबहादुरले बताउनु भयो । 

प्रमुख श्रोत मालपोत
    स्थानीय सरकारले मालपोतबाट प्राप्त गर्ने राजश्व करोडौ छ । बनेपा नगरपालिकाले गत आर्थिक वर्षमा २३ करोड ४९ लाख रुपैया प्राप्त गरेको छ । बनेपा नगरपालिका भित्र कारोवारका आधारमा मालपोत कार्यालयले ३९ करोड ८९ लाख संकलन गरेको थियो । प्रदेश सरकारलाई ४० प्रतिशत र स्थानीय सरकारले संकलन भएको ६० प्रतिशत राजश्व प्राप्त गर्नेछन् । 
    धुलिखेल नगरपालिकाले २५ करोड ३५ लाख मध्ये १४ करोड ९३ लाख रुपैया प्राप्त गरेको छ भने नमोबुद्ध नगरपालिकाले ६ करोड ९९ लाख प्राप्त गरेको छ । मण्डनदेउपुर नगरपालिकाले ७० लाख ३४ हजार, पनौती नगरपालिकाले १० करोड १६ लाख, पाँचखाल नगरपालिकाले ११ करोड ४६ लाख प्राप्त गरेका छन् । भूम्लु गाउँपालिकाले ६९ लाख ९३ हजार, चौरीदेउराली गाउँपालिकाले १७ लाख १० हजार, बेथान्चोक गाउँपालिकाले ६२ लाख ४१ हजार, खानीखोला गाउँपालिकाले २० लाख ८९ हजार, रोशी गाउँपालिकाले १ करोड ९ लाख, तेमाल गाउँपालिकाले २१ लाख ३४ हजार, महाभारत गाउँपालिकाले २४ लाख ८० हजार रुपैया प्राप्त गरेका छन् । 

घट्यो लिखत, बढ्यो राजश्व
    आर्थिक वर्ष २०७७/२०७८ मा ३६ हजार २ सय ६५ वटा लिखत पास भएको मालपोत कार्यालय काभ्रेपलाञ्चोकमा आर्थिक वर्ष २०७८/२०७९ मा २८ हजार ४ सय ४६ वटा मात्रै लिखत पास भएका छन् । ग्रामिण भेगमा १६ सय ४७ कित्ता लिखतमा थप भई २९ सय ७१ वटा पुग्यो । शहरी क्षेत्रको लिखतमा भने ३४ हजार ६ सय १८ वटा बाट घटेर २५ हजार ४ सय ७५ वटामा आएको छ । एक आर्थिक वर्षमा जग्गा बर्गिकरण नभएकै कारण ७ हजार ८ सय १९ वटा लिखत कम भएको छ । 
मालपोत कार्यालयले २ अर्ब ३६ करोड ७७ लाख ४६ हजार ६ सय ९५ रुपैया राजश्व संकलन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा धेरै बढी हो । 
    काभ्रेपलाञ्चोक जिल्लामा २ लाख ६४ हजार २ सय ७४ जग्गा धनी छन् । जग्गाधनीहरुका ६ लाख ७ हजार ७१ कित्ता रहेका छन् । सरकारले चालु आर्थिक वर्षमा जग्गाको मुल्यांकनमा बृद्धी गरेको छ । जग्गा किनबेच गर्दा २.५ प्रतिशत लाई ५ प्रतिशत पु¥याएको छ । ५ वर्ष पुरानो जग्गालाई उक्त कर लाग्नेछ भने त्यो भन्दा कम समयमा किनबेच गरेको अवस्थामा ५ प्रतिशतबाट बढाएर ७.५ पु-याएको छ ।