2026 August 23/ 03:35: 29am

पनौती/पनौती नगरपालिका वडा नम्वर ७ मा हाल रहेको स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी १० शैया अस्पतालको पूर्वाधार निर्माणका लागि भवन निर्माणको कार्य प्रारम्भ गरेको छ । प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री चन्द्र लामाले २ करोड लागतमा निर्माण हुने भवनको शिल्यान्यास गर्नु भएको छ । 
    ‘१ करोड ९९ लाख ५८ हजार ९ सय ९८ रुपैयाको लागतमा तयार गर्ने गरी इस्टमेट भएको भवनको बोलपत्र आब्हान पछि १ करोड २२ लाख ७४ हजार ९ सय ८७ रुपैयामा सम्झौता भएको छ’– वडा अध्यक्ष सविन ताम्राकारले भन्नुभयो–‘चालु आर्थिक वर्ष भवन निर्माण कार्य सम्पन्न गरी बाँकी पुर्वाधार र जनशक्तिका लागि आगामी वर्षको बजेटमा समेटिनेछ ।’ वडाको गौरवको आयोजना स्वरुप वडा नम्वर ७ ले तत्कालिन नमुना सामुदायिक अस्पतालका लागि गाईएको सप्ताहबाट संकलन भएको रकमबाट बनाईएको भवनमा स्वास्थ्य चौकी संचालन गरिरहेको थियो । १० आना जमिन खरिद गरेको उक्त समितिले निर्माण गरेको भवनमा भुकम्प पछि स्वास्थ्य चौकीले बर्थिङ्ग सेन्टर, मानसिक स्वास्थ्य लगायतका अन्य सेवाहरु उपलब्ध गराउँदै आएको छ । उक्त स्वास्थ्य चौकीलाई विस्तार गरी अस्पतालको सेवा प्रभाव गर्न भवन निर्माण गरिएको वडा अध्यक्ष ताम्राकारले बताउनु भयो । २०७४ मा निर्वाचित जनप्रतिनिधि नगर प्रमुख भिम न्यौपाने, वडा अध्यक्ष रामचन्द्र नास्नानी लगायतको टिमले उक्त स्थानमा स्वास्थ्य चौकी निर्माणका लागि बहुबर्षिय गौरवको योजना स्वरुप २ करोड रकम विनियोजन गरेको थियो । 
    भवन शिल्यान्यास पछि प्रदेश सभा चन्द्र लामाले पनौती नगरपालिका क्षेत्र भित्र स्वास्थ्य संस्थाहरुको सुदृढीकरण तथा गुणस्तरीय स्वास्थ्यका लागि प्रदेश सरकारले समन्वय गर्ने बताउनु भयो । सडक, शिक्षा लगायत अन्य पूर्वाधार निर्माणमा जस्तै स्वास्थ्यको पूर्वाधार निर्माणमा पनि सहयोग र समन्वय रहने उहाँले बताउनु भयो । नगर प्रमुख रामशरण भण्डारीले नगरपालिकाले नगर भित्र रहेका सबै स्वास्थ्य संस्थाहरुमा प्रभावकारी सेवा संचालनका लागि आवश्यक पहल गर्ने बताउनु भयो । संविधान सभा सदस्य रामहरी सुवेदी, निवर्तमान नगर प्रमुख भिम न्यौपाने, पुर्व नगर प्रमुख सप्तकाजी बुद्धाचार्य, एमाले अध्यक्ष सुरेश हुमागाई, नेपाली काँग्रेसका श्रीराम थापा, प्रमुख प्रशासकिय अधिकृत इन्द्र अधिकारी, स्वास्थ्य शाखा प्रमुख पुरुषोतम तिमल्सिना, वडा सदस्यहरु रामसुन्दर भुजु र श्याम बस्नेत लगायतले कलात्मक शैलीबाट निर्माण हुन लागेको भवनसँगै जनशक्ति सहितको सेवा सुचारु गर्नु पर्ने बताएका थिए । तत्कालिन जनप्रतिनिधिहरुले शुरु गरेका गौरवका आयोजनाहरु निरन्तरता दिन र संघ सरकारले विनियोजन गरेको योजनाहरुको बजेट निरन्तरताका लागि एमालेले नेतृत्वको ध्यानाकर्षण गराएको थियो । सोहि अवसरमा वडा नम्वर ७ मा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।