सहकारीमा जम्मा गरेको बचत डुबेसँगै संचालक समितिका अध्यक्षहरुले आफु र परिवारका नाममा भएको सम्पति आफन्तलाई नै विक्री गरेर जोगाउने प्रपन्च शुरु भएको छ । सहकारीको बचत रकम ठगि गरेको उजुरी दर्ता हुने डरले संचालकहरुले धमाधम आफ्नो र परिवारको नाममा भएको सम्पति आफन्तको नाममा विक्री गर्न थालेका हुन् ।
युनिटी साकोसका अध्यक्ष कृष्णलाल सुद्धाकारले आफ्नो सम्पत्ति विक्री गरि आफन्तको नाममा पास गरिदिएका छन् । श्रीमान श्रीमतीकै नाममा सम्पति नदेखाएर उनि ठगीबाट बच्ने योजनामा छन् । सत्कार बचत तथा ऋण सहकारीका अध्यक्ष कैलाश पलाञ्चोकेको नाममा भएको सम्पति एउटा लिलामी भई सकेको छ भने अर्काे रोक्का छ । उनी विरुद्ध बचतकर्ताहरु तथा अन्य सहकारीहरुले पनि ठगिको मुद्दा दर्ता गरेका छन् । कृति साकोसले रोक्का राखेको धितो लिलामी गरेको छ । सहकारीमा बचतकर्ताहरुको रकम डुबेसँगै आफ्नो सम्पतिबाट राज्यले असुल गरी बचतकर्ताहरुलाई भुक्तानी गर्नु पर्ने कानुनी ब्यवस्था छल्न उनिहरुले आफ्नो नाममा भएको सम्पति सारेका हुन् ।
युनिटी साकोसका कृष्णलाल सुद्धाकारले आफ्नो, श्रीमती र आमाको नाममा समेत २०६४ साल देखि लिएको ऋण तिरेका छैनन् । झण्डै करोड भन्दा धेरै रकम उनले सहकारीलाई तिर्नु छ । सहकारीले ७ करोड रकम असुल गर्न बाँकी छ । बचतकर्ताको भने ५ करोड जति फिर्ता गर्न बाँकी छ । सहकारी भित्र मौलाउँदै गएको यस्तो धन्दाले संस्थागत रुप लिएको छ । युनिटी साकोसका प्रवन्धक शैलेश कपालीले किर्ते कागजात बनाएर संचालक समिति तथा अन्य ब्यक्तिहरुका नाममा ऋण जारी गरेका छन् । संचालक समितिको बैठक तथा साधारण सभाको माईन्युट पनि नक्कली बनाएका छन् । कर्मचारीहरुलाई जानकारी नदिई उनिहरुकै नाममा करोड भन्दा धेरै रकमको अपचलन गरिएको छ । सस्थाले आफ्नै नाममा खरिद गर्ने गरी स्विकृत गरिएको ऋण पनि ब्यक्तिगत खर्च गरिएको छ । सहकारीमा बचत गरेका ब्यक्तिहरुले लिएको ऋण तिरिएको छैन तर बचत रकम निकालिसकेका छन् । अध्यक्ष कृष्णलाल सुद्धाकार स्वंयमले बचत निकालेका थिए । शुद्धाकारले संस्थाको रकम ऋण लगानी गरे पनि जग्गा ब्यक्तिका नाममा पास गरेका थिए । पास गरेको मध्ये धुशेनी शिवालयको जग्गा आफै विक्री गरिसकेका छन् । उक्त रकम पनि संस्थालाई बुझाएका छैनन । संस्थाले लगानी गरेको ऋण आमा धनलक्ष्मी शुद्धाकारको नाममा पनि असुल हुन बाँकी छ । पारिवारीक विवादका कारण आमाको नाममा रहेको जग्गा संस्थाले २०७५ साल असार १७ गते लिलामी गरी आफै सकारेको छ । लगत्तै कृष्णलालका भाईले संस्थाले सकारेको जग्गामा आफ्नो हक लाग्ने भन्दै २०७५ साउन १७ गते जिल्ला अदालतबाट रोक्का गराएका छन् । उक्त मुद्दा चलिरहेको छ । अझै उक्त जग्गा फुक्का भएको छैन ।
बनेपा नगरपालिका वडा नम्वर ८ मा रहेको सत्कार बचतले बचतकर्ताहरुको ६ करोड भन्दा धेरै रकम फिर्ता गर्न बाँकी छ । केहि वर्ष अघि देखि बन्द रहेको सहकारीले रकम फिर्ता नगरेको भन्दै बचतकर्ताहरु अदालत पुगेका छन् । संचालकहरुलाई समेत गुमराहमा राखेर संचालक समितिका अध्यक्ष कैलाश पलाञ्चोकेले बचतकर्ताको डुबाएको रकम फिर्ता गरेका छैनन । सहकारीका अभियान्ताहरु सहकारी भित्र मौलाउँदै गएको विकृति विसंगति रोक्न तयार छैनन बरु समाचार प्रकाशन पछि सहकारी अभियान बदनाम भयो भन्दै चिच्याउन थालेका छन् ।
‘कमिसन’ खोज्दै लेखा समिति
काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा छानविन शुरु भएको छ । लेखा तथा सुपरिवेक्षण समितिले अघिल्लो संचालक समितिले ऋण लगानी गर्दा लिएको कमिसन लगायतका विषयमा छानविन गर्न शुरु गरेको हो । थप छानविनका लागि समितिले विभाग र संघलाई लेखेर पठाएको छ ।
तत्कालिन ऋण समिति संयोजक एवं कोषाध्यक्ष र हाल निर्वाचित अध्यक्ष जितेन्द्र नकर्मीले केहि सदस्य संस्थाहरुलाई ऋण लगानी गर्दा कमिसन लिएको सार्वजनिक भए पछि संचालक समितिले लेखा समितिलाई छानविन गर्न भनेको थियो । सोहि निर्णय अनुसार लेखा समितिले यस अघि गरेको निर्णयलाई कार्यान्वयन गर्न संचालक समितिलाई निर्देशन दिएको छ । लेखा समितिले आरोप लागेका अध्यक्षलाई तत्काल पदबाट हटेर माथिल्लो निकायको छानविन समिति बनाउन निर्देशन दिएको थियो । अध्यक्षले उपाध्यक्ष सागर कपालीलाई कार्यवाहक दिएर छानविनलाई सघाउने भएका छन् । लेखा समितिले सहकारी ऐन विपरित संचालक भएकाहरुलाई तत्काल ऐन अनुसार गर्न गराउन निर्देशन दिएको छ । लेखा समितिले राष्ट्रिय सहकारी महासंघ र सहकारी विभागलाई पत्र काटेर अनुसन्धान गरिदिन अनुरोध गरेको छ ।
त्यस्तै जिल्ला सहकारी संघले गठन गरेको छानविन समितिले पनि काम शुरु गरेको छ । संचालक सदस्य सुर्दशन अधिकारीको संयोजकत्वको समितिले भवन निर्माणमा हुन लागेको अनियमितता तथा अन्य विषयमा छानविन गरिरहेको बताएको छ । सहकारी ऐन कार्यान्वयनका लागि राष्ट्रिय सहकारी महासंघले ध्यानार्कषण गराएको बताएको छ । ‘ऐन कार्यान्वयन गर्नु भनेर विज्ञप्ती जारी गर्नु पर्दैन, सबैले मान्नु पर्ने विषय हो’– राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले भन्नुभयो – ‘ऐन र ऐन अनुसार आएको निर्देशन तत्काल कार्यान्वयनमा जानुको विकल्प छैन ।’ राष्ट्रिय सहकारी विभागका उप रजिस्ट्रार टोलराज उपाध्यायले ऐन कार्यान्वयन गर्न पटक पटक ध्यानाकर्षण गराएको बताउनु भयो । ‘ऐन कार्यान्वयन नगरेका सहकारीहरुलाई ऐन र कानुन अनुसार कारवाही हुनेछ’–उपाध्यायले भन्नुभयो–‘पटक पटक कानुन मान्नुस भनेर विज्ञप्ती जारी गरिरहनु पर्ने विषय होईन ।’ जिल्ला सहकारी संघ र काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडमा ऐन विपिरत निर्वाचित भएका संचालकहरु मुख छोपेर बसेका छन् । प्रश्न उठ्दा समेत कानुन विपरित संचालक भईरहेका छन् ।









