हिराको हार पाउने प्रलोभनमा महिलाहरु ठगिन थालेका छन् । मुलुक बाहिर रहेको गिरोहले नेपालका विभिन्न स्थानमा सञ्जाल फैलाउँदै महिलाहरुसँग सामाजिक सञ्जालबाट जोडिदै नजिकको नाता कायम राखी गहना उपलब्ध गराएको बताउँदै ठगी गर्ने गरेका छन् ।
ठगिएको उजुरी बोकेर आएका महिलाहरुका अनुसार गहना र रकम पाउने प्रलोभनमा पर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ‘केहि साता देखि आफु ठगिएको महसुस गरेका महिलाहरुको जाहेरीका आधारमा शुरु गरिएको अनुसन्धानले देशका धेरै स्थानमा गिरोहद्वारा महिलाहरु प्रलोभनमा परेर ठगिने गरेको सूचना आएको छ’–जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले भन्नुभयो–‘एकजना महिलाले आफु ठगिएको भन्दै दिएको जाहेरीका आधारमा तीन जना पक्राउ परेका छन् । उनिहरुबाट प्राप्त सुचनाका आधारमा गरिएको अनुसन्धानले धेरै ब्यक्तिहरु ठगिने गरेको खुलासा भएको छ ।’ ठग्ने गिरोह भने नेपाल बाहिर छ । उनिहरुको नाम वतन केहि खुल्न सक्दैन । गिरोहले नेपालकै ब्यक्तिहरु प्रयोग गरेर, उनिहरुकै नाममा बैक खाता खोल्न लगाई एटिएम र चेक समेत कुरियर मार्फत पठाउने गरेका छन् । प्रहरी प्रमुख एसपी चक्रराज जोशीले सर्वसाधारण ठगिनबाट जोगिन प्रलोभनमा नफस्न अनुरोध गर्नुभयो ।
प्रहरी प्रवक्ता एवं सूचना अधिकारी डिएस्पी हरि खतिवडाका अनुसार महिलाहरुलाई गिरोहले सामाजिक सञ्जालबाट सम्पर्क गर्छन । दैनिक सम्पर्क हुँदा घनिस्ठता बढ्दै जान्छ । अन्तिममा दाजु बहिनीको नाता कायम हुन्छ । दाजुले आफ्नो परिचय दिदैनन् । फोटो देखाउँदैनन् । सम्पन्न मुलुकहरुमा बस्ने, घुम्ने र विदेश पठाउने काम गर्ने बताउँछन् । जिल्लाको पनौतीमा ठगिएकी एक महिलाको घटना रहेको डिएस्पी खतिवडाले बताउनु भयो । लण्डनमा रहेकाले हिराको गहना विक्री गर्ने पसल आफ्नै भएको, बंगाला रहेको र सम्पन्न भएकाले नेपालमा बहिनीलाई उपहारस्वरुप हिराको हार पठाउने भन्दै विभिन्न गहनाको तस्विर पठाउने गर्छन । फोनमा उसले कहिल्यै कुरा गर्दैन । एसएमएसमा लेख्ने र तस्विर पठाएकै आधारमा पत्याउन कर लाग्छ । झण्डै ६ महिना पछि उसले बहिनीलाई ५० लाख रुपैयाको हार पठाएको बताउँछ । तर उ १५ दिन अन्य मुलुक जाने भएकाले सम्पर्क नहुने बताउँछ । केहिदिन पछि भारतको राजधानी नयाँदिल्ली भन्दै अपरिचित नम्वरबाट फोन आउँछ । ‘तपाईको ५० लाख रुपैयाँको हिराको गहना आईपुगेको छ । सामान तपाईको ठेगानामा पठाउन १० प्रतिशत शुल्क लाग्छ । केहि दिन वेवास्ता हुँदा उसले सामान गायव बनाई दिने धम्की दिन्छ । उता लण्डनमा रहेका भर्खर चिनजान भएका दाईले उपहार पठाई दिएको महङ्गो गहना हराउँदा के होला ? ति महिलाले आफन्त समेतलाई नभनी उसले भनेको दुईवटा खाता मध्ये एउटामा ३ लाख र अर्काेमा २ लाख रुपैयाँ जम्मा गरिदिन्छिन् । केहि दिनसम्म सामान नआए पछि मात्रै थाहा पाउँछिन हिराको हारको लोभमा आफु ठगिएँ ।
तत्काल प्रहरीकोमा आएकी ति महिलाले खातामा जम्मा गरिदिएको रकमका आधारमा प्रहरीले भोजपुर र पनौतीबाट तीन जनालाई पक्राउ गरेको छ । उनिहरुको बयानका आधारमा नेपालमा त्यस्ता ठगी लामो समय देखि भईरहेको छ । गिरोहले नेपालमै रहने ब्यक्तिहरुलाई थोरै कमिसन दिएर बाँकी रकम आफु निकाल्ने गरेका रहेछन् । पक्राउ परेका ब्यक्तिको खाताका आधारमा भएको अनुसन्धानले नजिकका ब्यक्तिहरुको नागरिकता लिने र खाता खोलिदिने, त्यहि बैकको खाता भारतमा प्रयोग गरेर रकम निकाल्ने गरेको खुलेको हो । कुरियर मार्फत खोलिएका नयाँ खाताको कागजात पठाएसँगै सहजैसँग रकम निकालिरहेको अनुसन्धानले देखाएको छ । महिलाहरु आर्कषक गहना लगाउने लोभमा दिन प्रतिदिन ठगिने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । पक्राउ परेकाहरु पनि उनिहरुबाट ठगिए पछि यस्तो धन्दामा लागेको बताएका छन् ।
डलर देखाएर ठग्ने समुह सक्रिय
सिन्धुपाल्चोक जिल्ला सानोपाखर घर भएका रोजन थापा किराना पसल गर्ने गरी रकमको जोहो गरिरहेका थिए । दुबईबाट फर्किएको केहि समयमै उनलाई ब्यवसाय गर्ने सोच थियो । मासिक १८ हजार रुपैयाँ दुबईमा कमाई गरी जम्मा गरेको रकमले ब्यवसाय गर्ने योजना बनाएका रोजन सामाजिक सञ्जालमा भएको सामान्य परिचयमै ठगिन पुगे ।
बाह्रविसे ५ घर भएका राज तामाङको परिचय सिसी क्यामेराको फुटेजका आधारमा प्रहरीले फेला पा¥यो । अपरिचित ब्यक्तिसँग सम्बन्ध बढेकै आधारमा रोजन आफुसँग भएको नेपाली रुपैयाँ साट्न तयार भए । ‘मेरो मामा रसुवाको भन्सारमा काम गर्नुहुन्छ, काम गर्ने सिलसिलामा ४ हजार ५ सय डलर भेट्टाउनु भएछ । उक्त डलर साटांै भन्दै प्रलोभन देखाए’–पीडित रोजन थापाले भने–‘धुलिखेलको नारायण स्थानमा तीन महिना अघि मामालाई समेत लिएर आए । ट्याक्सिमा आएका उनिहरुले केहि बेर कुरा गरे । डलर देखाए । तर खोल्न र लिन दिएनन् । जब मैले तीन लाख रुपैयाँ दिएँ उनिहरुले मलाई धकेल्दै भागे ।’ तत्काल प्रहरी कार्यालय आएर घटनाको बारेमा जानकारी गराएको रोजनले बताए । प्रहरीले त्यहि सूचना र सिसि क्यामेराको फुटेजका आधारमा तीन महिना पछि सिन्धुपाल्चोक घर भएका राज तामाङलाई पक्राउ गरेको छ । प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडाले सिन्धुपाल्चोकको उक्त वडामा डलर देखाउँदै ठग्नेहरुको गिरोह नै रहेको बताउनु भयो । यसअघि भएका तीनवटा घटनामा सोहि वडाका केहि ब्यक्तिहरु संलग्न भएको फेला परेको छ । केहि त पक्राउ परिसकेका छन् ।
प्रहरीकोमा केहि महिना अघि बनेपा नगरपालिका वडा नम्वर ६ मा जग्गा देखाउने बाहनामा डलरको प्रलोभनमा ३० लाख रुपैयाँ ठगी गरेको उजुरी परेको छ भने पाँचखालको खावा नजिकै ६ लाख ठगी गरेको उजुरी छ । त्यस्तै पाँचखालकै तामाघाट, लामीडाँडा, पनौतीको चौकोटमा डलर देखाएर नेपाली रुपैया लुटेको उजुरी परेको छ । २०७७ साउन १२ गते पाँचखाल लामिडाँडामा भएको उक्त घटनामा १० लाख ठगी गरेका थिए । सोहि घटनामा सिन्धुपाल्चोक जिल्ला साविक गाति गाविस ४ भई हाल बाह्रविसे नगरपालिका वडा नम्वर ५ घर भएका ३७ बर्षिय श्रीखण्ड तामाङ, सोहि वडाका ३० बर्षिय हर्क तामाङ, ४७ बर्षिय चैते भन्ने बुद्धिबहादुर तामाङ र ६० वर्षका गोविन्द तामाङ पक्राउ परेका छन् । सोहि समुहले २०७७ साउन १९ गते अरनिको राजमार्गको तामाघाट पुलमा ८ लाख ५० हजार रुपैयाँ लुटेका थिए ।
२०७६ चैत्र १ गते चौकोटमा १० लाख रुपैयाँ ठगी गर्ने सोहि समुहका श्रीखण्ड तामाङ, हर्क तामाङ र बुद्धिबहादुर तामाङ सहित २१ बर्षिया पिन्की तामाङ, ३३ बर्षिय विश्वराज तामाङ र ३६ वर्षिय सानु तामाङ रहेका छन् । पिन्की, विश्वराज र सानु फरार छन् । पछिल्लो समय पक्राउ परेका राजु तामाङका भाई सानु पनि सोहि पेशामा संलग्न छन् । परिवार नै ठगी पेशामा संलग्न रहेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले नेपाली रुपैया दिएर डलर धेरै लिने लोभमा नफस्न अनुरोध गर्नु भएको छ । अबैद्यानिक रुपले ल्याएको डलर नक्कली हुने भएकाले कानून विपरीतका कुनै पनि कृयाकलापमा संलग्न नहुन नागरिकहरुलाई प्रहरी प्रमुख जोशीले अनुरोध गर्नु भएको छ ।









