बनेपा/समुदाय–साझेदारी प्रहरी कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको आयोजनामा सडक सुरक्षा र सुरक्षित यात्राका लागि प्रेसर हर्न न्यूनीकरण एवं सडक सभ्यता अभिबृद्धि गर्ने उद्देश्यले ट्राफिक सचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ ।
बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा भएको सचेतना कार्यक्रममा बनेपाको अरनिको हाई–वेमा भएको अब्यवस्थित पार्किङ, फुटपाथहरुलाई केहि दिनमै ब्यवस्थित गरिने बताउनु भयो । सवारी साधनको चाप र ट्राफिक ब्यवस्थापनका लागि चारदोबाटोमा ट्राफिक लाईटको ब्यबस्था गरिने र सडकमा हिड्ने यात्रुलाई सचेतना कार्यक्रमको आयोजना गरिने बताउनु भयो । त्यसैगरी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सडकलाई सुरक्षित र मर्यादित बनाउन सबै पक्षको भूमिका रहने बताउनु भयो । ट्राफिक एक्लैले मात्र दुर्घटना न्यूनीकरण, प्रेसर हर्न नियन्त्रण, सुरक्षित्र यात्राका लागी काम गर्न नसकिने भएकाले स्थानीय सरकार, यातायात ब्यवसायी, विद्यार्थी लगायत सबै क्षेत्र लाग्नु पर्ने र चालकहरुले नियम मान्नुपर्ने बताउनु भयो । कानून र नियम नमान्ने चालकहरुलाई कानून अनुसार कार्वाही गरिने समेत प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनु भयो ।
कार्यक्रममा जिल्ला प्रहरी प्रमुख चक्रराज जोशीले सडक अवस्थाका कारण, ओभरलोड, तीब्र गति र सडक यात्रीका कारणले समेत दुर्घटना हुने भएकाले विशेष ध्यान दिनुपर्ने बताउनु भयो । ओभरलोड बोक्ने सवारी साधनहरुलाई हामीले कानून अनुसार कार्वाही गर्दै आएको जोशीले बताउनु भयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्य, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पसंछे, जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख राजेश सिलवाल, ईलाका प्रहरी कार्यालय बनेपाकाका प्रमुख नारायण थापा, नेपाल पत्रकार महासंघका अध्यक्ष बद्रीराज तिमल्सिना, यातायात ब्यवसायी, विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा प्रेसर हर्न नियन्त्रण सम्बन्धि प्ले कार्ड ब्यानर बोकी बनेपाको पुलबजार देखी चारदोबाटो सम्म ¥यालीको आयोजना गरिएको थियो ।









