2026 August 23/ 01:35: 50am

धुलिखेल नगरपालिकाले दियो पक्कि भवन
    धुलिखेल, शंखु/बागमति प्रदेश सरकारले निर्माण गरेको भौतिक पूर्वाधारलाई धुलिखेल नगरपालिकाले प्राप्त गरेसँगै सडक मानवहरुको उद्धार तथा ब्यवस्थापनमा सक्रिय संस्था मानव कल्याण समाजलाई हस्तान्तरण गरेको छ । नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले उक्त भवन उद्घाटन पछि हस्तान्तरण गर्नु भएको छ । 
    भक्तपुरमा चार वर्ष अघि स्थापना भएको मानव कल्याण समाजले बागमति प्रदेशका अलावा विभिन्न स्थानमा रहेका सडक मानवहरुको उद्धार गरी भक्तपुर, काभ्रे लगायतका स्थानमा ब्यवस्थापन गर्दै आएको छ । संस्था स्थापना देखि हालसम्म ७ सय भन्दा धेरै सडक मानवहरुको उद्धार गरी पारिवारीक पुर्नस्थापना समेत गराएको मानव कल्याण समाज धुलिखेलमा ५० जना सडक मानवहरु छन् । उनिहरुको नियमित रेखदेख तथा ब्यवस्थापनका लागि स्थानीय सरकारका अलावा विभिन्न संघ संस्था र ब्यक्तिहरुको सहयोग भईरहेको छ । ‘भवन अभावका कारण उद्धार गरिएका सडक मानवहरुको ब्यवस्थापन कठिन थियो’–अध्यक्ष सुमित्रा चौलागाईले भन्नुभयो–‘धुलिखेल नगरपालिकाले उपलब्ध गराएको उक्त भवन ब्यवस्थापनका लागि सहज मात्रै भएन सडक मानवका लागि वास्तविक घर बन्न पुग्यो ।’ 
    भवन उद्घाटन पछि हस्तान्तरण गरिएको कार्यक्रममा बोल्दै नगर प्रमुख अशोक ब्याञ्जुले मानवता हराउँदै जान नदिन मानवहरुले सडक मानव आउनै नदिन र आएका मानवहरुलाई उद्धार गरी ब्यवस्थापन गर्नु जरुरी रहेको बताउनु भयो । धुलिखेल नगरपालिकाले त्यहि अभियानका लागि मानव कल्याण समाजका लागि उक्त भवन हस्तान्तरण गरेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । कार्यक्रममा निवर्तमान उपप्रमुख विमला शर्मा, वडा अध्यक्ष मोहन लामिछाने, निर्वतमान अध्यक्ष हर्कबहादुर तामाङ, डा. प्रकाश तिमल्सिना, सुर्यविनायक नगरपालिकाका निवर्तमान उपप्रमुख जुना बस्नेत, ममता बराल, पातञ्जली योग समितिका अध्यक्ष बालमुकुन्द सुवाल, स्थानीय सुर्वण श्रेष्ठ, कमला भट्टराई लगायतले मानव कल्याण समाजले सडक मानव उद्धारका लागि गरिएका प्रयासको चर्चा गरेका थिए ।