मोतीराम तिमल्सिना
धुलिखेल
धुलिखेलको पर्यटन विकासका लागि पाँच वर्षमा भएका कार्यहरुको निरन्तरताका साथै आगामी वर्ष थप सरोकारवाला निकायसँगको सहकार्यमा थप योजना निर्माण गर्ने तयारी गरेको छ ।
‘पाँच वर्षमा धुलिखेलले पर्यटन विकासको दीर्घकालीन योजना निर्माण गरी कार्यान्वयनमा ल्याएको छ’–नगर प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘पर्यटन परिषद् गठन गरी थप योजना निर्माण गरिरहेका छौं ।’ पर्यटन प्रर्वद्धनका लागि धुलिखेल नगरपालिकाले ५७ वटा पार्क निर्माण गरेको छ । पर्यटनसँगै शहरी सौन्दर्यीकरणलाई प्राथमिकतामा राख्दै पुराना शहरहरुको संरक्षण गरी पुर्नजीवन दिने परियोजना शुरु गरेको प्रमुख ब्याञ्जुले बताउनु भयो । एक वडा एक होमस्टेको योजना निर्माण गरी कार्यान्वयन शुरु गरेको नगरपालिकाले ब्यवसायी र नगरपालिकासँगको समन्वयमा साँस्कृतिक, ऐतिहासिकता, प्राचीनताको संरक्षण गर्ने गरी योजना बढाईएको छ । धुलिखेल नगरपालिकाले एशिया प्यासिफिक रिजनको सदस्यता लिएको छ भने स्थानीय, प्रदेश, केन्द्र हुँदै अन्र्तराष्ट्रिय स्तरमा धुलिखेलको प्रचार प्रसार र पर्यटन सम्बन्धी गतिविधिका बारेमा जानकारी गराईरहेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । ट्रिटमेन्ट प्लान्ट निर्माण, फोहोरमैला ब्यवस्थापनमा लगानी गरिरहेको बताउँदै कोभिडको समयको कर छुट, फोहोरमैलामा कर छुट, स्थानीयलाई रोजगार दिएको अवस्थामा १० प्रतिशत कर छुट दिने गरेको छ । नगरपालिकाले ३ वर्ष देखि करको दर नबढाएको उहाँले बताउनु भयो ।
सिपमूलक तालिम मार्फत जनशक्ति तयार गरिरहेको बताउँदै नगर प्रमुख ब्याञ्जुले सडक निर्माण, बत्ति ब्यवस्थापन लगायत सुुरक्षाका लागि कार्य गरिरहेको जानकारी दिनु भयो । धुलिखेलमा पृथ्वीनारायण शाह, बलभद्र कुँवरको शालिक निर्माण गरिसकिएको छ भने गुरुप्रसाद मैनालीको शालिक तयारी भएको छ । टुँडिखेलमा रोज पार्क निर्माण, राष्ट्रपति पार्क निर्माण, अपाङ्गमैत्री ट्रेल, प्रकोप मैत्री ट्रेल, धुलिखेल बजारमा एक सय वर्ष पुराना सामाग्री राख्ने गरी धुलिखेल संग्राहलय निर्माण शुरु गरिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । धुलिखेलमा पर्यटन क्षेत्रको विकास हुँदा गरिवी न्यूनिकरण भएको, साक्षर तथा बालमैत्री नगर निर्माणमा सहयोग पुगेको छ । उपप्रमुख निराजन जंगमले धुलिखेलले विगतमा गरेका कार्यहरुको निरन्तरताका साथै आगामी दिनमा पर्यटन क्षेत्रको विकासका लागि नगरपालिकाले समन्वय र सहयोग गर्ने बताउनु भयो । धुलिखेलको देविस्थानमा नगरपालिकाले ७ करोडको पार्क निर्माण शुरु गरेको छ । पाँच वर्ष भित्र एक लाख विरुवा बृक्षारोपण गर्ने गरी तयारी गरिएको छ ।
धुलिखेलमा ४९ वटा होटल निर्माण भएका छन् । होटलमा ९ सय ७२ वटा कोठामा १ हजार ७ सय ४५ वटा वेड रहेका छन् । जसमा ८ अर्ब २२ करोड ५३ लाख लगानी भएको छ भने २ अर्ब ४८ करोड ९० लाख ७२ हजार बैकले लगानी गरेको छ । धुलिखेलमा होटलहरुमा ९ सय ९२ जनाले प्रत्यक्ष रोजगार प्राप्त गरेका छन् । धुलिखेल नगरपालिका भित्रका ५ सय ९५ जनाले रोजगार पाएका छन् । जिल्ला भित्रका ८ सय १ जना रोजगारीमा छन् । धुलिखेलमा भएका होटलहरुमा कार्यरत जनशक्तिका लागि बार्षिक १८ करोड ४५ लाख खर्च हुने गरेको छ भने होटल ब्यवसायीहरुले राज्यलाई १३ करोड ३५ लाख र नगरपालिकालाई ३२ लाख ७५ हजार तिरेका छन् । काभ्रेपलाञ्चोक जिल्लामा १ सय २४ वटा होटल छन् । ४२ वटा नगरकोटमा छन् भने बनेपामा १०, पनौतीमा ७, नमोबुद्धमा ५, पाँचखाल ३, दोलालघाट ८ वटा छन् । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मिले धुलिखेलको पर्यटन विकासका लागि आवश्यक सहयोग गर्ने बताउनु भयो । धुलिखेलका संस्थापक प्रमुख बेलप्रसाद श्रेष्ठले धुलिखेलमा होटल खोल्ने उतिबेला इतिहास भएको बताउनु भयो । सरसफाई र पर्यटकहरुको आगमनका हिसाबले धुलिखेलमा पर्यटनको थप सम्भावना रहेको उहाँले बताउनु भयो । क्षेत्रीय होटल संघका संस्थापक अरुण श्रेष्ठले धुलिखेलमा पर्यटन पूर्वाधारका साना साना कार्य गरिँदा पनि सहज हुने बताउनु भयो । अध्यक्ष प्रेमकण्ठ माकजु श्रेष्ठले स्थानीय सरकारसँगको समन्वयमा थप कार्य गर्न ब्यवसायी तयार रहेको बताउनु भयो । उपाध्यक्षद्वय किरण श्रेष्ठ र भोला थापा, प्रल्हाद प्याकुरेल लगायतले धुलिखेलको पर्यटन विकासका लागि सबै पक्षको सहभागिता र समन्वय आवश्यक रहेको बताउनु भयो । क्षेत्रीय होटल संघले जनप्रतिनिधिहरुलाई सम्मान गरेको थियो ।
जिल्लामा पर्यटन प्रर्बद्धनको सम्भावना
धुलिखेल, बनेपा, साँगा, पनौती, बल्थली, नगरकोट, पलाञ्चोक भगवती, दोलालघाट, नमोबुद्ध, चौबास, पोखरीनारायणस्थान, बेथानचोक नारायणस्थान, रोशी, तेमालका विभिन्न स्थानमा पर्यटकिय क्षेत्रको विकासका लागि पूर्वाधारहरु निर्माण शुरु भएका छन् । राजधानीसँगको निकटता र सहज पहुँच, पर्यटकीय क्षेत्रमा राष्टिय पहिचानका क्षेत्रहरु (धुलिखेल, नमोबुद्ध, पलाञ्चोक, नगरकोट) भौगोलिक एवम् सांस्कृतिक बिबिधता, दुईवटा महत्वपूर्ण राजमार्गहरु (तिब्बत तथा तराई हुँदै भारत), काठमाण्डौ विश्वविद्यालय, धुलिखेल अस्पताल जस्ता स्थापित, संघसंस्थाहरु, थप २ विश्वविद्यालय प्रस्तावित, पूर्वाधारहरुको उपलब्धता (यातायात, होटल, संचार, स्थानीय सरकारहरुको प्राथमिकता एवम् प्रतिबद्धता, गैर सरकारी एवम् निजी क्षेत्रको कृयाशीलता, स्थानीय बजारको माग अनुरुपको स्थानीय उत्पादनका कारण सदरमुकाम धुलिखेलका अलावा जिल्लाका विभिन्न क्षेत्रमा पर्यटनको विकास र पर्यटकहरुको आकर्षकको केन्द्र बन्ने सम्भावना बढेको हो ।
अवसरसँगै पर्यटन क्षेत्रमा अनपेक्षित कोभिड १९ कारण उत्पन्न चुनौति, पर्यटन सँग सम्बन्धित काम गर्ने आधिकारीक सरकारी संरचना तथा सूचना, जानकारी, तथ्यांकहरुका लागि ब्यवस्थित सूचना केन्द्र र सेवा केन्द्र नहुनु, जिल्लाको पर्यटन सम्बन्धी निश्चित योजना नहुनmु, संभाब्य क्षेत्रहरुको प्रचार प्रसार कम हुनु, पर्यटकीय क्षेत्रहरुको अद्यावधिक डकुमेन्ट्री एवं प्रकाशनहरु नहुनु, स्थानीयस्तरमा पर्याप्त पर्यटक गाइडहरु नहुनु, दक्ष जनशक्तिको अभाव, जिल्लामा उत्पादित कृषि उपजहरुको बिश्वसनियता सिर्जना गरी स्थानीय तहमा उपयोग गराउन नसक्दा परनिर्भरता बढ्दै गएको, पर्याप्त लगानीको अभाव एवं पर्यटन क्षेत्रको विकासका लागि कम प्राथमिकताका कारण चुनौती थपिएको ब्यवसायीहरुले बताएका छन् ।
ब्यवसायीहरुले चुनौतीलाई अवसरका रुपमा लिदै आगामी दिनमा क्षेत्रीय होटल संघको कर्मचारी सहितको कार्यालय ब्यवस्थापन, बिषयगत उपसमितिहरु गठन र परिचालन, सल्लाहकार कमिटी गठन, बजारीकरण तथा प्रमोशनका लागि कमिटी गठन, संस्कृति तथा ऐतिहासिकता सम्वनधी अध्ययन गर्न समिति, मानव श्रोत तथा जनशक्ति ब्यवस्थापन समिति, इभेन्ट म्यानेजमेन्ट समिति गठन गरी पर्यटन प्रर्वद्धनका लागि योजना निर्माण गर्ने क्षेत्रीय होटल संघका अध्यक्ष प्रेमकण्ठ माकजुले बताउनु भयो । क्षेत्रीय होटल संघको वेभपेज, फेसबुक पेजहरु तयार गरी प्रकाशन गर्ने, पर्यटकीय ब्रोसर तयार गरी प्रकाशन गर्ने, प्रचार प्रसारका अन्य उपायहरु मार्फत स्वदेश तथा विदेशमा पनि धुलिखेल र काभ्रेपलाञ्चोक जिल्लाका बारेमा प्रचार गर्ने योजना निर्माण गरिएको माकजुले बताउनु भयो ।
काभ्रेमा होटलहरु
क्र.स. क्षेत्र होटल
१ धुलिखेल ४९
२ बनेपा १०
३ पनौती ७
४ नमोबुद्ध ५
५ पाँचखाल ३
६ भुम्लु(दोलालघाट) ८
७ नगरकोट (मण्डनदेउपुर) ४२
जम्मा १२४
श्रोतः क्षेत्रीय होटल संघ धुलिखेल
धुलिखेलका होटलहरुको अवस्था
होटल संख्या ४९
कोठा संख्या ९७२
बेड संख्या १७४५
लगानी ८ अर्ब २२ करोड ५३
बैंकको ऋण २ अर्ब ४८ करोड ९० लाख ७२ हजार
प्रत्यक्ष रोजगारमा संलग्न ९९२
धुलिखेल भित्रका रोजगारमा संलग्न ५९५
जिल्ला भित्रका ८०१
जनशक्तिका लागि भुक्तानी १८ करोड ४५ लाख
राज्यलाई तिरेको कर १३ करोड ३५ लाख
स्थानीय सरकारलाई तिरेको कर ३२ लाख ७५ हजार
स्थानीय सरकारको सहुलियत कोरोनामा शतप्रतिशत छुट, जनशक्ति तथा फोहोरमैला ब्यवस्थापनका आधारमा १० प्रतिशत (तीन वर्ष देखि कर बृद्धी भएको छैन)
स्थानीय सरकारले संघ र प्रदेश सरकार मार्फत ५७ वटा पार्क सहित अन्य सरचना निर्माणमा १ अर्ब भन्दा धेरै लगानी गरेको छ ।
श्रोतः क्षेत्रीय होटल संघ धुलिखेल
आर्थिक सुशासनमा उत्कृष्ट
देशभरका स्थानीय तहहरुले लेखा प्रणाली व्यवस्थापनको लागि प्रयोग गरेको स्थानीय संचित कोष व्यवस्थापन प्रणाली (शुत्र)को प्रयोगले स्थानीय सरकार संचालन तथा वित्तिय अनुशासनमा महत्वपूर्ण कार्य गरेकोमा धुलिखेल नगरपालिकालाई नेपालका लागि बेलायती राजदुत निकोला पोलितले धन्यवाद ब्यक्त गर्नु भएको छ । शुत्रको प्रयोग पछि चेक लेस गर्ने धुलिखेल नगरपालिका बागमती प्रदेशको पहिलो नगरपालिका बनेको छ । बेलायत सरकारको प्राविधिक सहयोगमा निर्माण भएको उक्त सफटवेयर देशभरका स्थानीय तहमा संचालनमा रहेको छ । पाँच वर्ष परियोजना समापनको पूर्व सन्ध्यामा त्यसको प्रगति तथा आगामी दिनमा उक्त क्षेत्रमा पु¥याउन सकिने सहयोगका लागि स्थानीय सरकारले प्रयोग गरिरहेको सफटवेयर अनुगमनका लागि राजदूत निकोला धुलिखेल नगरपालिका आउनु भएको हो । स्थानीय लेखा प्रणाली व्यवस्थापनमा पु¥याएको सहयोग, यसका समस्या एबं प्रणालीमा अझै थप गर्नु पर्ने थप क्षेत्रका विषयमा सोहि अवसरमा छलफल भएको थियो । छलफलका क्रममा धुलिखेल नगरपालिकाले आर्थिक अनुशासन कायम गर्न गरेका प्रयास, दीगो विकासका लागि खेलेको भूमिका र अन्य विषयमा नगर प्रमुख अशोक ब्याञ्जुले जानकारी गराउनु भएको थियो ।
धुलिखेल नगरपालिका दीगो विकास लक्ष्यका चारवटा मापदण्ड पुरा गर्ने दक्षीण एशियाको पहिलो शहर हो । वातावरण संरक्षण गरी शुन्य कार्वन उत्सर्जन गर्ने विश्वका १५ शहर मध्ये धुलिखेल पर्छ । साक्षर, बालमैत्री, खुल्ला दिशा मुक्त, स्वस्थ शहर, गुणस्तरी खानेपानी उपलब्ध भएको शहरका रुपमा धुलिखेललाई चिनिन्छ । राजदुत निकोलाले उक्त अवसरमा धुलिखेलमा भएका शुसासनका कार्यको प्रशसा गर्दै धन्यवाद ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा उपप्रमुख निराजन जंगम, प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेल, लेखा अधिकृत धनबहादुर बस्नेत लगायतले सफटवेयरको प्रयोगले नगरपालिकामा भएको सहजता र नागरिकले प्राप्त गरेको सेवाका बारेमा जानकारी गराउनु भएको थियो । बजेट निर्माण र तर्जुमा, लेखा प्रणालीको ब्यवस्थितिकरण र प्रतिवेदन तयारका लागि उक्त सफ्टवेयर सहज भएको छ । अब आन्तरिक राजश्व संकलन र योजनाको समावेशता लागि तयारी भईरहेको छ । नेपाल सरकारले स्थानीय सरकार विनियोजन गर्ने वित्तिय हस्तान्तरणका सबै रकम उक्त शुत्र मार्पmत उपलब्ध हुँदै आएको छ । अर्थ मन्त्रालयले आम्दानी खर्च हेर्न मिल्ने गरी सफ्टवेयरको डिजाईन गरिएको छ । हरेक दिन हरेक पटकको खर्च र आम्दानी उतैबाट निकाल्न सक्ने गरी भएको कार्यले वित्तिय कानुनी सुशासन भएको प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेलले बताउनु भयो ।









