2026 August 23/ 01:35: 51am

धुलिखेल/जिल्ला समन्वय समिति काभ्रेको निर्वाचनबाट नेकपा समाजवादीका नेता दिपक गौतम विजयी भएका छन् । गठबन्धन दलहरुबाट प्रमुख पदमा समाजवादीका दिपक गौतमको उम्मेदवारी दर्ता भएको थियो । गठबन्धन दलको २२ मत थियो । समाजवादीले प्रमुख पद मात्रै प्राप्त गरेको छ । गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् । विजयीहरुले सपथ ग्रहणसँगै पदभार ग्रहण गरेका छन् ।
    एमालेले कमला भट्टराई काफ्लेको नेतृत्वमा उम्मेदवारी दर्ता गराएको थियो । उपप्रमुखमा पनौतीका राजेन्द्र केसी र सदस्यहरुमा सदस्यहरुमा प्रमिला विक कामी, रोजिना तामाङ, रुपा प्याकुरेल धिताल, मन मिजार र गोपिबहादुर श्रेष्ठ, सागर मानन्धर र प्रकाश बञ्जाराले उम्मेदवारी दिएका थिए । गठबन्धनको तर्फबाट उपप्रमुखमा कांग्रेसका रिमबहादुर तामाङ र सदस्यमा कांग्रेसबाट मंगलबहादुर तामाङ, निरबहादुर लामा, चण्डिका मिजार र अप्सरा सिपखान, माओवादी केन्द्रबाट कमलराज गिरी, कृष्णकुमारी राई र रस्मिता भण्डारी विजयी भएका छन् ।
को हुन् दिपक ?
    गठबन्धनबाट प्रमुख बनेका गौतम विद्यार्थी राजनीतिबाट प्रवेश गरेका हुन् । कक्षा ८ पढ्दै एमाले निकट अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्ष हुँदै राजनीतिमा प्रवेश गरेका गौतम इलाका, क्षेत्र हुँदै २ कार्यकाल जिल्ला कमिटी अध्यक्ष भएका थिए । अनेरास्ववियुको वाग्मती अञ्चल प्रमुख, २ पटक केन्द्रीय सदस्य, केन्द्रीय कोषाध्यक्ष हुँदै केन्द्रीय उपाध्यक्ष भएका थिए । एमालेको ३ कार्यकाल जिल्ला कमिटी सदस्य रहेका उनी पार्टी फुटपछि एकीकृत समाजवादीमा लागेका थिए । पार्टीको जिल्ला सचिव र प्रचार विभाग प्रमुख रहेका उनी केन्द्रीय परिषद् सदस्य समेत हुन् । समाजवादीले प्रमुख, कांग्रेसले उपप्रमुख सहित ५ सदस्य र नेकपा (माओवादी केन्द्र) ले ३ सदस्य पाउने सहमति बनेको थियो ।