2026 August 25/ 01:54: 19am

    पनौती/पनौती बजारमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । हरेक वर्ष लाग्ने पनौती जात्राको पूर्व सन्ध्यामा आयोजित शिविरमा पनौती र आसपासका क्षेत्रका ५ सय ५ जनाले सहभागिता जनाएका छन् । 
    कम्युनिटी वेलनेस सेन्टर बनेपा तथा डाईग्नोस्टिक ल्याव एण्ड रिसर्च सेन्टर बनेपा, गोरखनाथ डेन्टल क्लिनिक, रुबी आई केयर एण्ड अप्टिकल्स सेन्टरको प्राविधिक सहयोगमा उक्त शिविर आयोजना गरिएको थियो । यसअघि पनि पनौती तथा विभिन्न स्थानमा उक्त संस्थाहरुको प्राविधिक सहयोगमा निःशुल्क शिविरको आयोजना गरिएको थियो । शिविरमा सहभागि मध्ये प्रेसर जाँच ३ सय २७ जना, सुगर जाँच २ सय ४३, दाँत परिक्षण १ सय ५४ जना, आँखा परिक्षण २ सय ७५ जना, सामान्य परिक्षण २ सय ३८ जना, नाक, कान, घाँटीको परिक्षण १ सय ३ जना र फिजियोथेरापी परामर्श ९८ जनाले लिनु भएको थियो । विहान ९ बजेबाट दिउँसो ३ बजेसम्म शिविर संचालन गरिएको थियो । पनौतीको लायकु डबलीमा आयोजित शिविरको नवल समाज, नवल महिला समाज, हलि नेवाः नवल कचाले आयोजना गरेका थिए भने कम्युनिटी वेलनेस सेन्टर बनेपा, डाईग्नोस्टिक ल्याव एण्ड रिसर्च सेन्टर बनेपा, गोरखनाथ डेन्टल क्लिनिक, रुवी आई केयर एण्ड अप्टिकल्स सेन्टरको प्राविधिक सहयोग रहेको थियो । शिविरमा नाक, कान घाँटी तथा घाँटी विशेषज्ञ विर अस्पतालमा कार्यरत डा. सुमन खत्रीले विरामीहरुको परिक्षण गर्नु भएको थियो । कार्यक्रमको संयोजन कम्युनिटी वेलनेस सेन्टर बनेपा तथा डाईग्नोस्टिक ल्याब एण्ड रिसर्च सेन्टर बनेपाका प्रबन्ध निर्देशक दिपेश ताम्राकारले गर्नु भएको थियो । 
    शिविरमा सहभागिहरु मध्ये अधिकांश सुगर र प्रेशरका विरामीहरु थिए । दाँत परिक्षणमा सहभागिहरुको गिजाको समस्या, दाँतमा किरा लाग्ने देखिएको थियो भने आँखा परिक्षणमा सहभागि मध्ये १५ जनामा मोतियाविन्दुको समस्या देखिएकाले रेयुकाई आँखा अस्पताल बनेपामा रिफर गरिएको छ । आँखाको एलर्जी, आँखा सुख्खा हुने समस्या विरामीहरुमा देखिएको शिविरमा सहभागि चिकित्सकहरुले बताएका छन् । शिविरको उद्घाटन पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले गर्नु भएको थियो । सोहि कार्यक्रममा उपप्रमुख गिता बञ्जारा, वडा अध्यक्ष सविन ताम्राकार र वडा सदस्यहरुको सहभागिता रहेको थियो ।