धुलिखेल/नेकपा एमालेले धुलिखेल, बनेपा, पनौती नगरपालिकाको कार्यपालिकामा बहुमत प्राप्त गरेको छ । धुलिखेलमा सम्पन्न कार्यपालिकाको निर्वाचन सँगै एमालेले जिल्लाका १३ मध्ये तीन पालिकामा बुहमत र रोशी गाउँपालिकामा गठबन्धनसँग बराबरी प्रतिनिधि निर्वाचित गराएको छ ।
एमालेले जिल्लामा एक्लै प्रतिस्पर्धा गरेको थियो । गठबन्धनमा सत्ता निकट दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी लगायतका अन्य साना दलहरु सहभागी थिए । सबै दल एकातिर हुँदा पनि नेकपा एमालेले धुलिखेलमा नगर प्रमुख सहित बहुमत सदस्य निर्वाचित गराएको छ । धुलिखेलको कार्यपालिकामा एमाले एक्लैको १४ सदस्य रहेको छ भने नेपाली काँग्रेसको उपप्रमुख सहित ७ सदस्य रहेको छ । राप्रपाको एक जना सदस्य छन् । धुलिखेलमा भएको निर्वाचनमा एमालेको तर्फबाट कार्यपालिकाको महिला सदस्यहरुमा कमला भट्टराई काफ्ले, मिरु कुमारी भण्डारी, सजना खड्गी, सञ्जु तामाङ्ग, सीता पराजुली निर्वाचित भएका छन् भने दलित तथा अल्पसंख्यक सदस्यहरुमा रत्न कुमारी सेवा, रामसुन्दर सुन्दास र सुमी भुजेल रहेका छन् । निर्वाचितहरुलाई मुख्य निर्वाचन अधिकृत मोहनप्रसाद भट्टराईले प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
यसअघि बनेपा र पनौती नगरपालिकामा नेकपा एमालेको तर्फका उम्मेदवाहरुले कार्यपालिकामा विजयी हासिल गरेका थिए । एमालेले बनेपा, पनौती र धुलिखेलमा एक्लै बहुमत हासिल गरेको थियो । गठबन्धन हुँदा पनि रोशीमा एमालेले बराबरी सिट प्राप्त गरेको छ । गठबन्धनको तर्फबाट अन्य पालिकामा उम्मेदवारहरु निर्वाचित भएका छन् ।









