2026 August 24/ 12:41: 39am

    बनेपा/बनेपा नगरपालिकाका  प्रमुख  शान्तिरत्न शाक्यले बनेपा नगरलाई चाडै धुलो, हिलो र डुबान मुक्त बनाउने तर्फ अगाडि बढेको बताउनु भएको छ ।
    विश्व वातावरण दिवसको अवसरमा बनेपा नगरपालिकाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख शाक्यले उक्त कुरा बताउनु भएको हो । बनेपा नगरपालिकामा करिब साढे एक दशकयता बनेपा डुबान क्षेत्रका रूपमा चिनिन थालेकोले बजार क्षेत्रमा खोलो साँधुरिएको त छँदैछ, त्यस सँगै खोलो पुरिँदै जाँदा बजार डुबानमा पर्न थालेको छ शाक्यले भन्नु भयो यसलाई दीर्घकालीन समस्या समाधानका लागी काम अगाडी बढिसकेको शाक्यले बताउनु भयो । नगरप्रमुख शाक्यका अनुसार मुख्य शहरी क्षेत्रका दुईवटा वडा बाहेक अन्य बाह्र वटा वडाले आफ्नो फोहोर आफैँ व्यवस्थापन गर्न पनि सक्छन्न यसो गर्न असम्भव छैन किनभने ती वडाहरूमा जमिनको अभाव छैन र ब्यबस्थापन गर्न सकिने छ । शाक्यले आफ्नो कार्यकालमा बनेपालाई सुन्दर र हराभरा बनाउने अभियानमा लागेकोले पहिलो नगर परिषद् बैठकबाट घर–घरबाट नगरपालिकाले फोहर किन्ने योजना बनाउन लागेको र नगरपालिकाकै रिसाइकल अर्थात पुनर्चक्रण उद्योग खोल्ने योजना रहेको शाक्यले बताउनु भयो ।
    कार्यक्रममा नगरपालिका उप–प्रमुख विमला सापकोटा दाहालले धुलो, धुवाँ र ध्वनी बनेपाको थप समस्या भएकाले नगरपालिकाले समस्या समाधान गर्नका लागी पहल गरेको बताउनु भयो । ‘नगरमा समस्याहरू छन् र समाधानका उपाय पनि छन्’– सापकोटाले भन्नुभयो– ‘तर पनि यस्तो हुँदा हुँदै तेस्रो तर सबैभन्दा ठूलो समस्या हो राजनीतीकरण । जनप्रतिनिधिहरूको गुनासो के छ भने एउटाले काम गर्न खोज्छ अर्काले रोक्न खोज्छ । राम्रो काम गरेर लोकप्रियता पो बढाउने हो कि भन्ने ईष्या र प्रतिशोधको भावना विकास विरोधी हो ।’ सबै मिलि विकासका कामहरुलाई सहजीकरण गर्नु पर्ने उपप्रमुख सापकोटाले बताउनु भयो । अन्तक्र्रिया कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव धन बहादुर तामाङ्ग, पूर्व सह–सचिव देवकुमार तामाङ्ग, विषय बिज्ञ डा.नवराज खतिवडा, काठमाडौ विश्वविद्यालयका विभागीय प्रमुख कुमुदराज काफ्ले र पत्रकार गोबिन्द लुइँटेल, स्थानीय संघ संस्थाका प्रतिनिधि, स्थानीय ब्यक्तिहरुले बनेपा नगरपालिकालाई कसरी हरियाली र स्वस्छ वातावरणमा राख्ने भन्ने विषमा आफ्नो धारणा राखेका थिए । बनेपालाई आकासे पानी संकलनबाट शहरको डुबान कम गर्न सकिने, नगरवासीमा अनुशासन र नियम पालनामा कडाइ गर्नुपर्ने, सबै खालको फोहोर मिसावट भएका कारण नै फोहोर व्यवस्थापनमा समस्या भएकाले कुहिने, नकुहिने र रिसाइकल अर्थात् पुनचक्रण हुने फोहोर घरमै छुट्याएर संकलन गर्नेु पर्ने, सरकारी, गैरसरकारी र व्यवसायिक सबै किसिमका कार्यालयहरूलाई प्लास्टिक झोला प्रयोग नगर्न आह्वान गर्न नगरपालिकालाई सुझाव दिएका थिए ।
    कार्यक्रमका मुख्य प्रस्तोता डा.नवराज खतिवडाले स्थानीय तहले विज्ञहरूको रायसुझाव लिएर योजनाबद्ध ढंगले अघि बढ्ने हो भने बनेपा नगरपालिका स्याटलाइट सिटी बन्न सक्ने बताए । नयाँ बनेपा निर्माण हुन सक्छ, नयाँ बनेपाको अर्थ हो व्यवस्थति बनेपा र खेतीका लागि अयोग्य जमिन प्राप्त गरेर नगरले व्यवस्थित बस्ती बसाउन सक्छ खतिवडाले भन्नु भयो । डा. खतिवडाका अनुसार वरिपरी डाँडाले घेरिएको बनेपा नगरले अत्यन्त कम खर्चमा ट्रेकिङ रूट अर्थात पदमार्ग बनाएर पर्यटन विकास गरी नगरलाई पर्यटकीय बनाउन सकिने बताउनु भयो ।