2026 August 25/ 01:54: 22am

    धुलिखेल/एमालेबाट फुटेर बनेको नेकपा समाजवादीले धुलिखेलमा गठबन्धनमा रहेका दलहरुले दिएको धोकाका कारण जमानत गुमाएको छ । जमानत जफत भएसँगै नेकपा समाजवादीले गठवन्धनमा रहेका दलहरुसँग चित्त दुखाए पनि जिल्ला समन्वय समितिमा यस अघि भएको सहमति कार्यान्वयनका लागि दबाब दिएको छ । असार १ गते हुने जिल्ला समन्वय समितिको निर्वाचनका लागि जेठ २९ गते मनोनयन दर्ता तोकिएको छ ।
    समाजवादीले प्राप्त गरेको दुई नगर प्रमुख र दुई नगर उपप्रमुख मध्ये मण्डन देउपुरमा नगर प्रमुख पदमा विजयी भएको थियो । धुलिखेलमा नगर प्रमुख पदको जमानत जफत हुने गरी गठवन्धनमा रहेका दलहरुले काँग्रेसबाट स्वतन्त्र उठेका उम्मेदवारलाई मत राखे । एमालेले नगर प्रमुख पदमा विजयी हासिल ग¥यो । काँग्रेसले प्राप्त गरेको १३ सिटमा नै विजयी भयो । माओवादीलाई पाँचखालमा उपप्रमुख पदमा काँग्रेसले धोका दिएको छ । समाजबादीका तर्फबाट उम्मेदवार बनेका बनेपा, पनौतीमा उपप्रमुख पदमा पराजय ब्यहोरेको छ । स्थानीय तहको निर्वाचनमा १३ वटा स्थानीय तह मध्ये नेपाली काँग्रेसले बनेपा, पनौती, पाँचखाल, नमोबुद्ध, बेथान्चोक, रोशी, तेमालमा प्रमुख पदमा र महाभारत, खानिखोला, भुम्लु, मण्डन, धुलिखेलमा उपप्रमुख पदमा उम्मेदवारी दिएको थियो । नेकपा माओवादी केन्द्रले खानिखोला, महाभारत, भुम्लु र चौरीमा अध्यक्ष, पाँचखाल, नमोबुद्ध, रोशी, तेमाल र बेथान्चोकमा उपप्रमुख पाएको थियो । माओवादीले पाँचखाल बाहेक ७ स्थानमा विजय हासिल गरेको छ ।  काँग्रेस १३, माओवादी ७ र नेकपा समाजवादीको जिल्ला समन्वय समितिका लागि एकमत रहेको छ । बहुमतका लागि १४ मत आवश्यक छ । एक मत मात्रै रहेको नेकपा समाजबादीलाई यसअघि जिल्ला समन्वय समितिको प्रमुख दिने प्रदेश स्तरको सहमति भाड्न काँग्रेस उद्यत छ ।
    जिल्ला समन्वय समितिका लागि एमालेसँग भने चार मत मात्रै रहेको छ । यस अघि सिंगल जिल्ला समन्वय समिति र एक्लै ७ वटा पालिका जितेको नेकपा एमालेलाई फुटको असर त छँदैछ झनै गठवन्धनले खुम्च्याएको छ । जनप्रतिनिधिका हिसावले दोश्रो भएको एमाले मतका हिसावले पहिलो भएको छ । तर पनि नेतृत्वको हिसावले एमाले कमजोर भएको छ । काँग्रेसले एमालेसँग वार्ता अघि बढाएर माओवादी र समाजवादीलाई धोका दिने तयारी पनि गरेको छ । तर मसिंरमा हुने संघीय र प्रदेश तहको निर्वाचनमा एमालेलाई हराउन पनि गठवन्धनको सहमति तोड्न नहुने पक्षमा काँग्रेस भित्र दबाव छ । समाजवादीलाई प्रमुख दिँदा काँग्रेसले उपप्रमुख पाउनेछ । माओवादीले सदस्य मात्रै पाउनेछ । माओवादी र काँग्रेस मिलेर समाजबादीलाई अलग्याउने तयारी पनि छ । समाजबादीले भने जिल्ला समन्वय समितिमा सहमति अनुसार आफुले नेतृत्व गर्न पाउनु पर्ने बताउँदै आएको छ । समाजबादीका विद्यार्थी नेता दिपक गौतम, यस अघि जिल्ला विकास समिति सदस्य भएका सुरेश कक्षपति प्रमुखका दावेदार हुन् । एमालेबाट काँग्रेस भएका साधुराम बडाललाई धुलिखेलमा सदस्य हराईएको छ भने मण्डन देउपुरका नगर प्रमुख टोकबहादुर वाईवाका सल्लाहकार गोकुल गौतमलाई पनि सदस्यमा पराजित गराईएको छ । पनौतीका दिपक थापालाई पनि हराईएको छ । काँग्रेसले समन्वय समितिमा उठाउन हेभि वेट भएका कसैलाई पनि निर्वाचनमा उठाएको छैन । जिल्ला समन्वय समितिको प्रमुख हुने ब्यक्ति प्रमुख जिल्ला अधिकारीलाई समेत निर्देशन दिन सक्ने हैसियतको हुने भएकाले त्यस्तै नेताको खोजि भईरहेको छ । धुलिखेलमा जमानत गुमाएको समाजवादीले समन्वय प्रमुख पाउने गरी छलफल शुरु भएको नेताहरुले बताएका छन् । जेठ महिना भित्रै समन्वयको निर्वाचन हुने गरी कार्यतालिका प्रकाशनको तयारी गरिएको छ ।