चौरीदेउराली, गोठपानी/लामो समय पछि भएका तीन तहका निर्वाचनले स्थानीय स्तरमा पार्टीकरणको ह्याङ्ग हटिसकेको थिएन । ह्याङ्ग मेटाउने उद्देश्यले सबै पार्टी एकै थलोमा बसेर विकास र सम्वृद्धको बहस कोशिपारीबाट शुरु भएको छ ।
संघ, प्रदेश र स्थानीय सरकारमा समेत दुई तिहाई मत प्राप्त गरेको नेपाल कम्युनिष्ट पार्टीको सरकारले ल्याएका कार्यक्रमहरुले सम्वृद्ध नेपालको कल्पना गरेको छ । तिनै कल्पना साकार पार्ने उदेश्यले जिल्लाको चौरी देउराली गाउँपालिकामा सामुहिकता सहितको फरक सोचको जागरण अभियान शुरु भएको छ । ‘निर्वाचनमा हामीले पार्टी भन्यौ, अब विकास भनौ’–नेपाली कांग्रेसका स्थानीय नेता समेत रहेका वडा अध्यक्ष सुरेशकुमार लामाले भने–‘हिजो हामीले जे जे भने पनि अब एउटै पार्टी सरकार हो । जनप्रतिनिधि हो । विकास र सम्वृद्धि हो ।’ सबै पार्टी, संघ संस्था, तीन तहकै जनप्रतिनिधि र सरकारका प्रतिनिधि उपस्थित गराउने थलो स्वर्णीम सरस्वती युवा क्लवले जुराएको थियो । ६ महिना रचनात्मक कृयाकलापको अभियान मार्फत विकास र सम्वृद्धिको नयाँ स्वाद र अभियान शुरु गरिएको अध्यक्ष दिपक गौतमले बताए ।
चौरीदेउराली गाउँपालिकामा शुरु भएको ६ महिने रचनात्मक कृयाकलापको शुभारम्भ गर्न गोठपानी छेडा पुगेका सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधी मन्त्री गोकुल बास्कोटालाई जनताले स्वागत गर्दा माला र खादाले पुरिएका छन् । स्वागतका लागि लाईनमा बसेका सर्वसाधारणको माला र खादाले मन्त्री बास्कोटा पटक–पटक पुरिए । अध्यक्ष दिपक गौतमले स्थानीय सरकार तथा विभिन्न सरोकारवाला निकायसँगको समन्वयमा ६ महिने रचनात्मक कृयाकलाप मार्फत गाउँमा नयाँ जागरण पैदा गरी सबै जातजाती, भाषाभाषी, राजनीतिक दल र क्षेत्रलाई समेटेर सम्वृद्धिको अभियान शुरु गरिएको बताए । भलिबल, फुटबल, नृत्य, बक्तृत्वकला, बादविवाद, निवन्ध, लोकदोहोरी प्रतियोगिता जस्ता थुप्रै रचनात्मक कृयाकलाप चौरीदेउरालीका ११ वटै वडामा ६ महिनासम्म संचालन हुनेछन् । झण्डै एक हजार ब्यक्तिहरु उक्त अभियानमा सहभागि हुनेछन् । विद्यालय तह देखि युवाहरुका सबै क्षेत्रलाई समेटेर कार्यक्रम तय गरिएको अध्यक्ष गौतमले बताए ।
रचनात्मक कार्यक्रमको शुभारम्भमा पुगेका कलाकारहरु बद्री पंगेनी, राधिका हमाल, राजा राजेन्द्र पोखरेल, घमेश दुलाल, मञ्जु गौतमले सहभागिहरुलाई मनोरञ्जन मात्रै दिएनन् सरकार र सरकारका कामलाई ब्यंङ्ग गरे । बद्री पंगेनीले नेतालाई गाउँ फर्कन, विदेश गएका युवाहरुलाई गाउँ फर्कन आब्हान गरेको गित प्रस्तुत गरेपछि सहभागी आमाहरु रोएका थिए । राजा राजेन्द्र पोखरेलले सम्वृद्धिको सपना मात्रै भएको भन्दै ब्यङ्ग कसेका थिए । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले कलाकारहरुका पुराना र बासी गित तथा ब्यङ्गले जनता र कार्यकर्ताको आशा नमार्न चुनौती दिए । वर्तमान सरकारले मुलुकको दिगो विकासका लागि जग राख्ने अभियान शुरु गरेकाले सरकार गठन हुने वितिक्कै फु मन्तर नहुने स्पष्ट पारे । कलाकारहरुको ब्यङ्ग नयाँ अभियानलाई साथ दिन र जनतालाई आशा जगाउन तर्फ केन्द्रित हुनुपर्ने बताए । विद्यालयलका प्रधानाध्यापक कमल श्रेष्ठ र अध्यक्ष दिलिप लामाले विद्यालयको भवन अभाव भएको, छात्राबास नभएको, प्रयोगशाला र सामाग्री अभाव भएको, कम्प्युटर शिक्षाका लागि कम्प्युटर र शिक्षक आवश्यक रहेको र उच्च स्तरीय निःशुल्क वाईफाई उपलब्ध गराउन माग गरेका थिए । मन्त्री बास्कोटाले देशभरका विद्यालय सुधार गर्न अभियान शुरु गरेको बताउँदै विद्यालयलाई कम्प्युटर उपलब्ध गराउने र भवन निर्माणमा सहयोग गर्ने बताए । सरकारले भूमिहिन समस्या समाधान गर्न शुरु गरेको बताउँदै मन्त्री बास्कोटाले साना किसानहरुको ऋण मिनाहा गरिसकेकाले जनमुखी कार्यमा सरकार अगाडी बढेको बताए । अन्र्तराष्ट्रिय सम्वन्ध सुधार, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम जस्ता योजनामा सरकारले जनताकै पक्षमा काम गरिरहेको बताउँदै मन्त्री बास्कोटाले जिल्लाका महत्वपूर्ण योजनाहरुमा बजेट विनियोजन गरेको बताए ।
सांसद् गंगाबहादुर दोङ्गले डाँडापारी र कोशिपारी क्षेत्रको विकास र सम्वृद्धका लागि खानेपानी, सडक, विद्युत लगायतका क्षेत्रमा बजेट विनियोजन गरिसकेको बताए । प्रदेश सभा सांसद रत्न ढकाल, गाउँपालिका अध्यक्ष दिनानाथ गौतम, विद्यालयका प्रधानाध्यापक कमल श्रेष्ठ, पुर्व सभासद् रेणुका चौलागाई, नेपाली कांग्रेसका नेता सुरेशकुमार लामा लगायतले कोशिपारी क्षेत्रको विकास र सम्वृद्धिका लागि अभियान शुरु भएको बताए ।









