2026 August 24/ 04:44: 40am

मोतीराम तिमल्सिना
बनेपा

    सरकारले मुल्यबृद्धि नियन्त्रण गर्न नसक्दा महङ्गीको भ¥याङ उकालो चढेको छ । काभ्रे उद्योग बाणिज्य संघले सार्वजनिक गरेको मुल्य सूचीका आधारमा मात्रै पनि बजार मूल्य उकालो चढेको पुष्टि गरेको छ । तीन महिनामा सर्वसाधारणले ब्यहोर्नु परेको चर्काे मुल्यबृद्धिमा सरोकारवाला निकाय मौन छन् । मुल्यबृद्धिलाई सरकारी निकाय र सत्तामा रहेका राजनीतिक दलहरुले युक्रेन र रुसको युद्धलाई दोष दिएर उम्किन खोजिरहेका छन् ।
    २०७८ साल फागुन ५ गते काभ्रे उद्योग बाणिज्य संघले सार्वजनिक गरेको उपभोक्ता दर रेट अनुसार चामल बासमती प्रति केजी १ सय ३५ रुपैयाँ कायम गरेको छ । २०७९ साल जेष्ठ १३ गते सोहि चामलको मूल्य बढेर १ सय ४५ पुगेको छ । सरकारले तीन महिनाको बीचमा १० पटक मूल्य बृद्धि गरिसकेको छ । निर्वाचन लगत्तै १० दिनको अवधीमा प्रेटोलियम पदार्थमा २० रुपैयाँ डिजेल, पेट्रोल र मट्टितेलमा मूल्य बृद्धि गरेको छ भने ग्याँसमा प्रति सिलिण्डर २ सय रुपैयाँ बृद्धि गरेको छ । छिट्टै मूल्य बृद्धि गर्ने गरी भएको तयारीले सर्वसाधारण अतालिएका छन् । बजेट भाषण पछि बजार झनै महङ्गो भएको सर्वसाधारणले बताएका छन् । लोकल पोखरेली चामल प्रति केजी १ सय १० रुपैयाँबाट १ सय ५० पुगेको छ । चिउरा तराई टाईचिन ७० रुपैयाँ प्रति केजीबाट ७५ पुगेको छ ।
    दाल मुसुरो ठुलो १ सय ६० रुपैयाँ प्रति केजीबाट १ सय ६५ रुपैयाँ पुगेको छ । रहर दाल १ सय ७५ बाट १ सय ८० पुगेको छ । उद्योग बाणिज्य संघले तोकेको भन्दा धेरै मूल्य तिर्नु परिरहेको सर्वसाधारणले बताएका छन् । मुगी खोस्टा दाल १ सय ५५ बाट १ सय ८५ पुगेको छ । गेडागुडीमा केरा सेतो १ सय १० रुपैयाँबाट १ सय २५ पुगेको छ भने हरियो केराउ १ सय ४५ बाट १ सय ४० मा आएको छ । बोडी १ सय ५० बाट १ सय ७० पुगेको छ । राजमा सिमी १ सय ८० रुपैयाँबाट २ सय रुपैयाँ पुगेको छ । भटमास सेतो १ सय २० बाट २ सय रुपैयाँ पुगेको छ । गेडागुडीमा प्रति केजी ८० रुपैयाँसम्म महङ्गो भएको छ ।
    गेडागुडी पछि धेरै महङ्गो भएको मसला र तेलजन्य सामाग्रीको मुल्य बढेको छ । भटमास तेल २ सय ४५ बाट ३ सय २५ रुपैयाँ पुगेको छ । तोरी तेल प्रति लिटर २ सय ५० बाट ३ सय ४० पुगेको छ । सुर्यमुखी तेल २ सय ५५ बाट ३ सय ५० र बनस्पति घ्युको मुल्य २ सय ४० बाट ३ सय ५० पुगेको छ । मैदा ५५ बाट ६०, आटा ५५ बाट ७०, चिनी ९० बाट १ सय, जिरा ४ सय १० बाट ४ सय ८०, धनियाँ २ सय २० बाट २ सय ५० र मरिच ८ सय ५० बाट १ हजार रुपैयाँ पुगेको छ । यसमा ब्यवसायीहरुले स्थान अनुसार फरक फरक मूल्य लिन सक्नेछन् । ढुवानीका कारण मूल्य फरक पर्न सक्ने संघले जानकारी गराएको छ । खाद्यान्नसँगै बजारमा निर्माण सामाग्री, लत्ता कपडा र अन्य सामाग्रीहरुको मूल्य बढेको ब्यवसायीहरुले बताएका छन् ।