2026 August 23/ 09:04: 50pm

    धुलिखेल/भोलि हुने निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये २ सय ६६ जना फिर्ता लिएका छन् । फिर्ता लिनेहरुमा अधिकांश गठबन्धन दल र केहि स्वतन्त्र तर्फका छन् । गठबन्धनका कारण प्रतिस्पर्धामा भाग लिएका मध्ये दलित महिला सदस्य २७ जना, महिला सदस्य ३४ जना, खुल्ला सदस्य ९१ जना, वडा अध्यक्ष ९१ जना, उपप्रमुख तथा उपाध्यक्ष १० जना र प्रुमख पदमा उम्मेदवारी दिने १३ जना रहेका छन् । 
    ‘उसै त गठबन्धनलाई महिला विरोधी भनिरहेका छन् । निर्वाचनका लागि प्रतिस्पर्धामा भाग लिएका महिला र दलित महिलाहरुको पनि उम्मेदवारी जर्बजस्ति फिर्ता गराईयो’–उम्मेदवार फिर्ता लिएकी दलित महिला सदस्य सुन्तली विकले भन्नुभयो–‘पहिलो उक्साएर दर्ता गर्न लगाए पछि फिर्ता गराए ।’ महिला सदस्य ३४ जना र दलित महिला सदस्य २७ जना प्रतिस्पर्धाबाट बञ्चित भएका छन् । वडा अध्यक्षका आकांक्षी ९१ जनाले फिर्ता लिएका छन् । गठवन्धनमा रहेका दलहरुलाई सहयोग पु¥याउन उनिहरुले फिर्ता लिएको प्रतिक्रिया दिएका छन् । केहि केहि पालिकामा वडा सदस्यहरु समेत गठवन्धनका कारण संकटमा परेका छन् । गठवन्धनका कारण धेरै मत बदर हुने सम्भावना छ । 
    स्थानीय तह निर्वाचनका लागि काभ्रे जिल्लाका १३ वटा स्थानीय तहका लागि चार गुण बढी उम्मेदवारी दर्ता भएको थियो । जिल्ला निर्वाचन कार्यालय काभ्रेका अनुसार स्थानीय तह निर्वाचनका लागि काभ्रेमा विभिन्न पदका लागि २ हजार ७ सय ७३ जना राजनीति दल तथा स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । कार्यालयका अनुसार जिल्लाका १३ जना नगर प्रमुख तथा गाउँपालिका अध्यक्षका लागि ९१ जना, १३ उपप्रमुख तथा उपाध्यक्षका लागि ५८ जना, १ सय ३५ वटा वडा अध्यक्ष पदका लागि ६ सय ७० जनाले उम्मेदवारी दर्ता गराएका थिए । यसैगरी १३५ वटा वडामा एक वडा दुई खुल्ला सदस्य २७० पदका लागि एक हजार ३७ जना, १३५ दलित महिला सदस्य पदका लागि ४८७ जना र १३५ जना महिला सदस्यका लागि ४ सय ३० जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन अधिकृत उमेश राईले जानकारी दिनुभयो । काभ्रेका १३ वटा स्थानीय तहमा प्रमुख तथा अध्यक्ष, उपप्रमुख तथा उपाध्यक्ष, खुल्ला सदस्य, महिला सदस्य र दलित महिला सदस्य गरी ७ सय १ वटा पदमा निर्वाचन हुने बताउनुभयो । 
निर्वाचनका लागि जिल्लाको खानीखोला गाउँपालिकामा १ सय ११ जना, चौरीदेउराली गाउँपालिकामा १ सय ९३ जना, तेमाल गाउँपालिकामा २ सय ४ जना, धुलिखेल नगरपालिकामा २ सय ३७ जना, नमोबुद्ध नगरपालिकामा २ सय २८ जना, पनौती नगरपालिकामा २ सय ६८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी जिल्लाको पाँचखाल नगरपालिकामा २ सय ४१ जना, बनेपा नगरपालिकामा ३ सय १६ जना, बेथानचोक गाउँपालिकामा १ सय ४५ जना, भुम्लु गाउँपालिकामा १ सय ९३ जना, मण्डनदेउपुर नगरपालिकामा २ सय ७६ जना, महाभारत गाउँपालिकामा १ सय २६ जना र रोशी गाउँपालिकामा २ सय ३५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।