भोलि मतदान, ३०४८ कर्मचारी
– तीन निर्विरोध, मतगणना सकिए लगत्तै कार्यपालिका निर्वाचन
– मतदानको तयारी सकियो, कर्मचारी मतदान केन्द्रमा
धुलिखेल/नयाँ संविधान जारी भए पछि दोश्रो पटक स्थानीय तहको निर्वाचन भोलि हुँदैछ । देशभर एकै पटक हुन लागेको मतदानको तयारी सकिएको निर्वाचन आयोगले बताएको छ । काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा पालिकामा रहेका १ सय ८९ वटा मतदान स्थलका ३ सय ८१ मतदान केन्द्रमा ३ लाख ३ हजार ५ सय ६० मतदाताले मतदान गर्नेछन् । जिल्लाको १३ वटा पालिकामा १ सय ३५ वटा वडामा ५ जनाका दरले र १३ वटा पालिकामा २६ जना गरी ६ सय ९८ जना प्रतिनिधि प्रत्यक्ष निर्वाचित हुनेछन् । निर्वाचित जनप्रतिनिधिले कार्यपालिका सदस्य निर्वाचित गर्नेछन् । उम्मेदवारी दर्ता गरेका २ हजार ७ सय ३३ मध्ये २ सय ६६ जनाले फिर्ता लिएका छन् । बाँकी २ हजार ५ सय ४ जनाले निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।
धुलिखेल वडा नम्बर ६ मा एक जना दलित महिला सदस्य र खानीखोला गाउँपालिकामा २ जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । मतदानका लागि आवश्यक पर्ने कर्मचारीलाई तालिम प्रदान गरिएको थियो । तालिम पश्चात निर्वाचन सामाग्री लिएर कर्मचारीहरु मतदान केन्द्रमा पुगिसकेका छन् । सुरक्षा निकायका सबै टोलीहरु कर्मचारीसँगै खटिएका छन् । जिल्लामा फाट्टफुट्ट बाहेक कुनै घटना भएको छैन । शान्तिपूर्ण रुपमा मतदान गर्ने वातावरण तयार भएको निर्वाचन आयोगले जानकारी दिएको छ । सबै उम्मेदवारहरुले मतदाताको घर दैलोमा पुगेर अभिमत बुझिसकेका छन् । मतदाताहरुलाई आफ्नो प्रतिबद्धता पत्र बुझाउँदै मत मागिसकेका छन् । मौन अवधीमा पनि दलहरुले आफ्नो प्रचार सामाग्रीलाई तिब्रता दिएका छन् ।
जिल्लामा सबैभन्दा धेरै पनौती नगरपालिकामा ३८ हजार १ सय ४५ मतदाता रहेका छन् । बनेपा नगरपालिकामा ३७ हजार ५ सय ८१ मतदाता रहेका छन् भने सबैभन्दा कम खानीखोलामा १० हजार ३ सय ९ मतदाता रहेका छन् । चौरीदेउरालीमा २० हजार १ सय ९१, तेमालमा २१ हजार १ सय ८, धुलिखेलमा २५ हजार ५ सय ८, नमोबुद्धमा २५ हजार ९ सय ५२, पाँचखाल २९ हजार ६ सय ९७ रहेका छन् । बेथान्चोकमा १४ हजार ५ सय ५१, भुम्लुमा १७ हजार २४, महाभारतमा १२ हजार ४ सय २०, रोशीमा २२ हजार ५ सय ४३ र मण्डनदेउपुरमा २८ हजार ५ सय ३१ मतदाता रहेका छन् । जिल्लामा १ सय ८९ स्थानमा ३८१ मतदान केन्द्र रहेका छन् । मतदान केन्द्रमा ५ जना कर्मचारी र ३ जना स्वयंसेवक गरेर १९०५ कर्मचारी र स्वयंसेवक ११४३ गरी ३०४८ जना खटिएका छन् । प्रति निर्वाचन केन्द्र ७ जनाका दरले २६६७ सुरक्षाकर्मी खटिएका छन् । थप समेत गरी ३ हजार भन्दा धेरै सुरक्षाकर्मी खटिएको प्रशासनले बताएको छ ।
कुन पालिकामा कति जनप्रतिनिधि
खानीखोला – ३७ (२ निर्विरोध)
चौरीदेउराली – ४७
तेमाल – ४७
धुलिखेल – ६२ (१ निर्विरोध)
नमोबुद्ध – ५७
पाँचखाल – ६७
बनेपा – ७२
बेथान्चोक – ३२
मण्डनदेउपुर – ६२
भुम्लु – ५२
महाभारत – ४२
रोशी – ६२
पनौती – ६२
जम्मा – ७०१ (३ निर्विरोध)









