2026 August 25/ 01:54: 16am

गठबन्धन विरोधी जनमत, एमाले प्रति आशा र भरोसा

पनौतीमा एमाले उम्मेदवारको प्रतिवद्धता
तीन महिनाभित्र नगर अस्पताल सञ्चालन
किसानलाई पेन्सनको व्यवस्था 

    पनौती/नेकपा एमाले पनौती नगरपालिकाका प्रमुख पदका उम्मेदवार भीम न्यौपानेले तीन महिनाभित्र विशेषज्ञ सेवा सहित नगर अस्पताल सञ्चालन गर्ने प्रतिवद्धता जनाउनुभएको छ । पनौती बसपार्कमा आयोजित प्रतिवद्धतापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले पनौतीमा निर्माणाधिन २५ शैयाको नगर अस्पताल आवश्यक जनशक्ति, औषधि, यन्त्र, उपकरण, प्रयोगशाला तथा विशेषज्ञ सेवा सहित ३ महिनाभित्र सञ्चालनमा ल्याइने बताउनुभएको हो ।
     सबै नगरवासीको स्वास्थ्य बिमा गरिने समेत उहाँले प्रविद्धता जनाउनुभएको छ । यसअघि नगरपालिकाले विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको थियो । ४० वर्ष नाघेका सबै नगरवासीको वर्षको एकपटक पुर्ण स्वास्थ्य परिक्षण गर्ने व्यवस्था मिलाउने नगरप्रमुखका उम्मेदवार न्यौपानेले बताउनुभएको छ । प्रतिवद्धता पत्रमा पर्याप्त स्थान र सुविधा सहितको बसपार्कको व्यवस्थापन पहिलो प्राथमिकतामा राखेर काम गर्ने उल्लेख छ । मानेश्वरी स्थित बसपार्कलाई प्रस्थान र आगमन तथा पनौती भ्रमणमा आउने पाहुनाहरुका लागि आवश्यक सुचना दिने केन्द्रको रुपमा विकास गर्ने योजना छ । वडाका प्रमुख केन्द्रसम्म पुग्नेगरी सडकहरुलाई कालोपत्रे वा ढलान गरी पक्की बनाउने, पुण्यमाता, रोशी, सुडीखोलाहरुको दायाँबाँया करिडोर निर्माण गर्ने पनि प्रतिवद्धतापत्रमा उल्लेख छ । 
    प्रतिवद्धता पत्र सार्वजनिक गर्दै नगर प्रमुख पदका उम्मेदवार न्यौपानेले पनौती नगरपालिकालाई गुणस्तरिय शिक्षाको हवको रुपमा विकास गर्ने पनि बताउनुभएको छ । आधारभुत तहमा सम्भाव्यताको आधारमा मातृभाषामा शिक्षणको व्यवस्था मिलाउने भन्दै उहाँले नगरभित्रका सामुदायिक उच्च मावि र क्याम्पसहरुमा अध्ययन गर्ने सबै छात्राहरु एवं दलित, उत्पिडित र अत्यन्त न्युन आय भएका विद्यार्थीलाई निशुल्क अध्ययनको व्यवस्था मिलाइने बताउनुभयो । एक घर, एक धारा कार्यक्रमलाई निरन्तरता दिई आगामी ५ वर्षभित्र सबै घरमा शुद्ध पिउने पानीको धारा पुर्याउने उहाँको प्रतिवद्धता छ । मेरो शहर म सफा गर्छु अभियान सञ्चालन गरेर शहरलाई प्रदुषणमुक्त बनाउने न्यौपानेले बताउनुभयो । यसअघि आफ्नो कार्यकालमा कृषि क्षेत्रमा भएका कामलाई निरन्तरता दिई सबै किसान लाभान्वित हुनेगरी किसान पेन्सन योजना सञ्चालन गरिने पनि प्रतिवद्धता पत्रमा उल्लेख छ । 
    नगर प्रमुख पदका उम्मेदवार न्यौपानेले पनौतीलाई विश्वसम्पदा सुचीमा सुचिकृत गर्न गरिएको पहललाई परिणामामुखी बनाउने समेत बताउनुभयो । सबै धर्म र संस्कृतिलाई पनौतीको धरोहरका रुपमा समान व्यवहार र श्रद्धा गर्र्दै पनौतीमा चलनचल्तीमा रहेका परम्परा, रीतिरिवाज, र संस्कृतिहरुको संरक्षणका लागि व्यवस्थित र दिर्घकालिन कार्ययोजना लागु गर्ने उहाँको भनाई छ । यस्तै उप प्रमु्ख पदका उम्मेदवार गीता बञ्जाराले सबै वडामा कम्तिमा एउटा बाल उद्यान र सबै टोलहरुमा बालबालिकाहरुका लागि एक खेल मैदान बनाइने बताउनुभएको छ । यस्तै सबै जेष्ठ नागरिकलाई वर्षमा एकपटक तिर्थाटनको व्यवस्था मिलाइने उहाँले बताउनुभयो । रोजगारी सिर्जनागर्नका लागि स्थानीय स्तरमा उत्पादित वस्तुहरुबाट हुने लघु उद्योग स्थापनालाई प्रोत्साहित गर्दै उद्योग स्थापनाका लागि अनुदान र उद्योग दर्ता प्रमाणपत्रको आधारमा सहुलियत ऋणको व्यवस्था मिलाइने प्रतिवद्धता पत्रमा जनाइएको छ । वार्षिक रुपमा वृक्षारोपण सप्ताह घोषणा गर्ने र प्रत्येक वर्ष स्थानीय वातावरण अनुकुल १० हजार विरुवा रोप्ने योजना छ । सामुदायिक वनभित्र फलफुल, जडिबुटी लगायतका विरुवाहरु वृक्षारोपाण गरि आयआर्जनसँग जोड्ने नीति लिइने उल्लेख छ । संवेदनशिल स्थानमा सि.सि क्यामेरा मार्फत सुरक्षा निगरानी गर्ने व्यवस्था मिलाइने व्यवस्था गरिनेछ । प्रतिवद्धतापत्र सार्वजनिक कार्यक्रममा नेकपा एमाले वागमती प्रदेश कमिटी उपाध्यक्ष रामहरी सुवेदी, एमाले काभ्रेका सह–सचिव राजकुमार सापकोटा, पनौती नगर अध्यक्ष सुरेश हुमागाँई, सचिव सन्तोष केसी लगायतको उपस्थिती रहेको थियो । 

तेमालमा एमालेका उम्मेदवारप्रति मतदाताको आकर्षण
    तेमाल/तेमाल गाउँपालिकाका सबै वडामा एमालेका उम्मेदवारले घर दैलो अभियान शुरु गरेका छन् । पूर्व गाविस अध्यक्ष नेकपा एमालेका जिल्ला सल्लाहकार परिषद सदस्य संग्राम तामाङ, नेकपा एमालेबाट यस अघि निर्वाचित वडा अध्यक्ष तिमाल सिं तामाङ लगायतको शुभकामना एवं आफ्नै बृद्धाआमाबाट शुभ आशिर्वाद र सगुन ग्रहण गरेर वडा अध्यक्षका उम्मेदवार वीरनन्द तामाङको टोलिले घर दैलो अभियान शुरु गरेको हो ।
    घरदैलो अभियानका क्रममा निस्केको यो टोलीले आफूहरु निर्वाचित भएमा जनताका लागि गर्ने विकास निर्माणका प्रतिबद्धताबारे बुझाउनुका साथै मतदाता शिक्षा समेत दिने गरेको वडा अध्यक्षका उम्मेदवार तामाङले बताउनुभयो । उहाँका अनुसार नेकपा एमालेको नेतृत्वमा चुखामा भएका र भइरहेका विकास निर्माणका काम र अब गर्नु पर्ने थप कामका विषयमा जनस्तरबाट राय लिने काम समेत अभियानको क्रममा हुनेछ । लामो समय शिक्षण पेशामा रहेका तामाङ कृषि तथा सहकारी क्षेत्रका समेत राम्रा जानकार रहेकोले चुखाली जनताको रोजाइमा पर्ने विश्लेषण गरिएको छ । शालिन,इमान्दार, दुरदृष्टि सोचका धनी तामाङको नेतृत्वमा रहेका उम्मेदवारहरु कहि न कहि विकासका अभियानमै जोडिएका पात्रहरु हुनुहुन्छ । घरदैलो अभियान सुरु गर्नु पूर्व नेकपा एमाले तेमाल वडा नं २ को वडा कमिटीले आफ्नो वडा स्तरीय प्रतिवद्धता पत्र समेत सार्वजनिक गरेको थियो ।
    अभियानमा उम्मेदवारहरु सँगै सर्स्यूंखर्कका विकास अभियन्ता पूर्व गाविस अध्यक्ष एवं नेकपा एमाले जिल्ला सल्लाहकार परिषद सदस्य संग्राम तामाङ, नेकपा एमाले वडा कमिटी, युवा, किसान, महिला जगतको उत्साहजनक सहभागिता रहेको छ । 

खानीखोलामा उत्साहपूर्ण माहोल
    नेकपा एमाले खानीखोला गाउँपालिकाले आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि घरदैलो अभियान कार्यक्रम सुरु गरेको छ । खानीखोला १ नम्बर फलामेटारबाट नेकपा एमाले खानीखोला गाउँपालिका कमिटीले आफ्नो उम्मेद्वार जिताउन घरदैलो अभियान सुरु गरेको हो ।   
    गाउँपालिका कमिटीका अध्यक्ष डम्बर तिमल्सिनाको संयोजत्वमा अभियान सुरु गरेको बताइएको छ । अध्यक्ष तिमल्सिनाले उम्मेदवारहरुलाई सगुन गर्दै आफ्नो पार्टीले खानीखोला गाउँपालिका अध्यक्ष सहित सिंगो टीम सातै वटा वडाका उम्मेद्वारहरु विजयी हुने संकेत देखिसकेको बताए । उनले गाउँपालिकामा विगतमा भए गरेको कामको स्मरण गर्दै जनप्रिय काम गरेको भन्दै जनतामा एमाले खानीखोला लोकप्रिय बनेको बताए । गाउँपालिकाको अध्यक्ष उम्मेद्धार शेखर लामा उपाध्यक्ष, रुक्मणी गुरुङ र वडाका वडाध्यक्षका उम्मेद्वार आशाराम गोलेले सगुन गरेर चुनावी मैदानमा होमिएका थिए । खानीखोलाका सबै वडामा अभियान शुरु भएको स्थानीय सहकर्मी सुकदेव थपलियाले बताउनु भयो । 
    
नमोबुद्धमा चुनावी गतिविधि तिब्र 
    नमोबुद्ध/वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि जिल्लाको नमोबुद्ध नगरपालिकामा नेकपामा एमालेले चुनावी गतिविधिलाई तीव्रता दिएको छ । घर दैलो कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका उम्मेदवाहरुका साथै नगर प्रमुख पदका उम्मेदवार राजन भुर्तेल र उप प्रमुख सम्झना लामाले भेटघाट तथा चुनावी प्रचार प्रसार गर्नु भएको छ । नेकपा एमालेलाई जिताउन हुन अनुरोध समेत गरेका थिए ।
    ‘हाम्रो पार्टीलाई अत्यधिक मत दिएर जिताउनुस् हामी आगामी ५ वर्षमा नगरपालिकामा विभिन्न गुरुयोजनाको काम गरेर देखाउने छौँ । हामी जनप्रतिनिधिहरू शासक होइन, जनताका सेवक भएर काम गर्ने छौँ’–नगर प्रमुख पदका उम्मेदवार राजन भुर्तेलले भन्नुभयो । पाँच वर्षभित्रमा दिगो विकास लक्ष्यका सबै सूचकहरू पूरा गरी स्वास्थ्य, शिक्षा, कृषि, आर्थिक, वातावरणमा र गरिबी निवारणको क्षेत्रमा उल्लेख्य सुधार गरी नगरलाई दिगो विकास लक्ष्य पूरा गरिएको नगरको रूपमा घोषणा गर्ने नमोबुद्ध नगरपालीकाको नेकपा एमालेका उम्मेदवारहरूले प्रतिबद्धता गरेका छन् ।
    नगरपालिकाको केन्द्रदेखि सबै वडा केन्द्रसम्म जोड्ने सडक कालोपत्रे गर्ने तथा सबै वडालाई जोड्ने गरी नमोबुद्ध चक्रपथ निर्माण गर्ने योजना नमोबुद्ध नगरपालिकाको नेकपा एमालेका उम्मेदवारहरूले प्रतिबद्धता गरेका छन् । नगर भित्र रहेका नागरिकहरूको शुद्ध र स्वच्छ पानी पिउने अधिकारलाई सुनिश्चित गर्न सबै वडाका सम्पूर्ण घर बस्तीमा एक घर एक धारा कार्यक्रम लागू गर्ने तथा सदैका लागि र सबैका लागि स्वच्छ खानेपानी अभियानलाई पूर्णता दिइने घर दैलो कार्यक्रममा नमोबुद्ध नगरपालिकाको नेकपा एमालेका उम्मेदवारहरूले प्रतिबद्धता ब्यक्त गरेका छन् ।

रोशीमा कम्युनिष्ट किल्ला बनाउने अभियान
    रोशी/नेकपा एमाले रोशीले चुनावी घरदैलो कार्यक्रम सुरु गरेको छ । काभ्रेको रोशी गाउँपालिकामा देवसागर लामाको अध्यक्षतामा चुनावमा होमिदै गर्दा यसपाली निकै नै उत्साह देखिन्छ । 
    रोशीको वडा नम्वर २ बाट घरदैलो सुरु भएको छ । घरदैलोमा रोशीका नेता कार्यकर्ताहरुको उत्साहजनक उपस्थितिले पालिका आफ्नो पक्षमा ल्याउनेमा नेकपा एमाले विश्वस्त देखिन्छ । घरदैलो कार्यक्रममा उम्मेदवारहरुले जनताको घर घरमा गएर चुनावी प्रतिबद्धताहरु व्यक्त गरेका छन् ।  एमालेका नेता कार्यकर्ताहरुले जनताको घरदैलोमा पुगेर नाचगान गर्दै भोटको लागि अपिल समेत गरेका छन् । नेकपा एमाले रोशीले चुनाब प्रचार प्रसार र घरदैलो कार्यक्रमलाई अझै ससक्त बनाउदै लैजाने बताएको छ । रोशीमा यस अघि नेपाली काँग्रेसको नेतृत्वले निर्वाचनमा विजयी हासिल गरेको थियो । राप्रपाको सिंगो जिल्लाको टिम नै एमालेमा प्रवेश गरेकाले एमाले हौसिएको छ । चर्चित र लोकप्रिय काँग्रेस नेता डिबी लामाको मौनता सँगै काँग्रेसमा रुवाबासी शुरु भएको छ । देवसागर लामा लोकप्रिय बन्दै गएकाले मतदाताको अपेक्षा बढेको छ । 
    
भुम्लुमा घर घर एमाले उम्मेदवार
     भुम्लु/नेकपा एमाले भुम्लुले एक कार्यक्रम बिच घोषणापत्र सार्वजनिक गरेको छ । कोशिपारी क्षेत्रकै चर्चित धार्मिक र ऐतिहासिक स्थान भिमसेन मन्दिरलाई साक्षी राखी मुलखर्क भिमसेनबाट भुम्लु एमालेको घोषणापत्र सार्वजनिक गरिएको हो ।
    भुम्लु गाउँपालिका अध्यक्ष पदका उम्मेदवार प्रेम लामा र कल्पना श्रेष्ठले भिमसेन मन्दिरलाई साक्षी राखेर अग्रज राजनीतिक ब्यक्तित्व जिल्ला कमिटी सचिवालय सदस्य एवम भुम्लु गाउँपालिका सह–इन्चार्ज नकुल पराजुली र भिमसेन मन्दिरको पुजारीबाट टीका आशीर्वाद लिएर घोषणापत्रको साथै घर दैलो अभियान कार्यक्रम सुरु गर्नु भएको थियो । गाउँपालिका अध्यक्ष एवं एमाले नेता गुमानध्वज कुँवरले एमालेका उम्मेदवारलाई जिताउन पाँच वर्ष एमालेले गरेका विकास निर्माणका कामहरु प्रमुख आधार भएको बताउनु भयो । घोषणापत्रमा व्यवसायी कृषि, व्यवसायी पशुपालन, सुनकोशीको पानी खेतबारीमा लगानी बढाउने जनताको आम्दानी लगायतको कुरा प्राथमिकतामा राखेर घोषणापत्र सार्वजनिक गरिएको छ ।
    भुम्लु गाउँपालिका अध्यक्ष पदका उम्मेदवार प्रेम लामाले घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै घोषणापत्रमा उल्लेख भएका विषयलाई काम गर्ने बताउनु भयो । हामीले कोशिपारी क्षेत्रको नै ऐतिहासिक धर्मिक विश्वासको महान भिमसेन मन्दिरमा आएर घोषणापत्र सार्वजनिक गरेका छौँ । घोषणापत्र लेखिएका सम्पुर्ण कामहरु पूरा गर्ने कटिबद्ध भएर लाग्ने छौ । भुम्लुलाई हामीले फरक तरिका बाट बिकास गर्ने छौं लामाले भन्नू भयो । कार्यक्रममा भुम्लु गाउँपालिका उपाध्यक्ष कल्पना श्रेष्ठले गठबन्धन सरकारको घोर बिरोध गर्नु भएको छ । उहाँले गठबन्धन सरकारले महिलाको संबैधानिक अधिकारलाई हनन गरेको उल्लेख गर्नु भएको छ । गठबन्धन सरकारले महिलालाई कुनै पदमा पनि नउठाएको हुनाले नेकपा एमाले बाट आफू उठेको र महिलाको हक हितको लागि आवाज उठाउने प्रतिबद्धता गर्दै सम्पुर्ण भुम्लुका स्थानीयबासिन्दा लाई सुर्य चिन्हमा मतदान गर्ने अपिल गर्नु भएको छ ।
    घरदैलो अभियान कार्यक्रममा जिल्ला कमिटी सदस्य टिकाराम लामा, युवा संघ केन्द्रिय सदस्य रमेश लामा, गाउँ कमिटी अध्यक्ष कृष्णमान लामा, वडा अध्यक्ष पदको उम्मेदवारहरु वडा सदस्य पदको उम्मेदवारहरु लगायतको उपस्थितिमा घर दैलो अभियान सुरु गरिएको छ । घर दैलो अभियान भुम्लु गाउँपालिका वडा नं. १ बाट सुरु भएको हो ।