बाहिर एक, भित्र गाँड कोराकोर
बनेपा/नेपाली काँग्रेस बनेपा नगर समितिमा नगर प्रमुख पदको उम्मेदवारका लागि १८ जना प्रतिस्पर्धामा रहेका बेला नगर सभापतिमा झिनो मतान्तरले पराजित शान्तिरत्न शाक्य छनौट भए पछि काँग्रेस भित्र भएको विवाद छोप्न बनेपा नगर समितिले विहिबार बनेपामा पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
‘हिजोसम्म हामी टिकटको प्रतिस्पर्धामा थियौं, टिकट प्राप्त भएकै दिन देखि त्यो तुष बाँकी छैन’–सभापति महेश कर्माचार्यले भने–‘अब हामी काँग्रेस जिताउन लाग्ने छौं ।’ २०७४ को स्थानीय तहको चुनावमा उनै शान्तिरत्न शाक्यको समुह सक्रिय नहुँदा काँग्रेसको तर्फबाट उम्मेदवार भएका राम जोशी १ हजार ७ सय मतान्तरले एमालेका लक्ष्मीनरसिं बादेसँग पराजित भएका थिए । पत्रकार सम्मेलनमा यस अघि नगर सभापति समेत रहेका राम जोशी र उनी निकटका नेताहरुको सहभागिता रहेन । १८ जना दावेदार मध्ये प्रचण्डराज प्रधान, सुरकृष्ण बैद्य, कृष्णगोपाल भैल, महेश कर्माचार्य, योगराज दाहाल, सरस्वती बैद्य र उपप्रमुख पदका आकाँक्षी केहि उपस्थित भए । सबै एउटै मञ्चमा सहभागि भएर काँग्रेस भित्रको विवाद छैन भन्ने देखाउने उदेश्यले घोषणापत्र विनै गठवन्धन बाहेक नै पत्रकार सम्मेलन गर्नु परेको उम्मेदवार शान्ति रत्न शाक्यले बताए । सडक, खानेपानी, सरसफाई, शिक्षा, स्वास्थ्य जस्ता विषय प्राथमिकतामा राखेर काम गर्ने शाक्यको प्रतिवद्धता थियो । प्रदेश महामन्त्री कञ्चनचन्द्र बादेले गठवन्धनको बाध्यता सुनाएका थिए ।
बनेपामा गठवन्धनको तर्फबाट काँग्रेसका शान्तिरत्न शाक्य र समाजबादीका रघुवर चौ प्रधान उपप्रमुख पदमा प्रतिस्पर्धा गर्दैछन् । एमालेको तर्फबाट रत्नकुश रञ्जित र विमला सापकोटा क्रमश प्रमुख र उपप्रमुख पदमा प्रतिस्पर्धा गर्दैछन् । गठवन्धनले प्रमुख पदमा महिला शुन्य गरे पछि महिला नेताहरुको आक्रोश त छँदैछ काँग्रेसले उपप्रमुख नपाए पछि झनै आक्रोश बढेको छ । एमालेलाई सिध्याउन पार्टीको साख नै विगारेको भन्दै कार्यकर्ताहरुले विद्रोहको धम्कि दिईरहेका छन् । गठवन्धनका दुबै उम्मेदवार बनेपा ७ का हुन् । प्रमुख र उपप्रमुख दुबै एउटै वडाका, दुबै पुरुष, दुबै एउटै समुदायका र दुबै बजार भित्रका भएकाले भोट बैक बजार बाहिर रहेको, अन्य समुदाय र महिलाको प्रतिनिधित्व नभएको भन्दै गठवन्धन भित्रै आवाज उठाईएको छ । मतदाताहरुले क्षेत्र, भुगोल, समुदाय र समावेशितालाई हेरेर मतदान गर्नु पर्ने भन्दै काँग्रेस भित्रै बहस भएको नेताहरुले बताएका छन् । उम्मेदवारी दर्ता गर्ने दिन समाजवादी भित्र उपप्रमुख पदका उम्मेदवार रघुवर चौ प्रधान र वडा अध्यक्ष पदका उम्मेदवार सचितानन्द केसी बीच सडकमै भएको कुटाकुटले पनि कार्यकर्ता र मतदातामा निराशा छाएको छ ।
यता काँग्रेस भित्रको विवाद साम्य भएको भनिए पनि ब्यवहारत त्यस्तो नभएको नेताहरुले बताएका छन् । बनेपामा १४ वटा वडा छन् । पनौती पछिको दोश्रो धेरै मत र जनसंख्यामा जिल्लामै धेरै भएको नगरपालिका हो । ‘गठवन्धनको बाँडफाँड वडा तहसम्मै गर्न घोषणापत्र र पत्रकार सम्मेलन एकै पटक गर्ने तयारीमा छौं’– उम्मेदवार शान्तिरत्न शाक्यले भने ।





