एमालेले सार्वजनिक ग¥यो धुलिखेल प्रतिवद्धतापत्र
धुलिखेल/नेकपा एमाले धुलिखेल तथा नगरपालिका प्रमुख पदका उम्मेदवार अशोक ब्याञ्जुले स्थानीय तहको निर्वाचनका लागि पार्टीले जारी गरेको प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । पाँच वर्षमा धुलिखेलले गरेका महत्वपूर्ण कार्यहरुका बारेमा जानकारी दिदै आगामी पाँच वर्षमा धुलिखेलमा गर्न सकिने र गर्नु पर्ने प्राथमिकताका कार्यहरु सार्वजनिक गरेको हो ।
प्रमुख पदका उम्मेदवार अशोक ब्याञ्जु नेपाल नगरपालिका संघका अध्यक्ष पनि हुन् । उनि अन्र्तराष्ट्रिय संघका पनि अध्यक्ष छन् । धुलिखेलमा पाँच वर्षमा थुप्रै काम भएको उनले बताए । ‘यो अवधीमा भएका मुख्य मुख्य कामहरुबाट नै नगर नमुना बन्न सफल भएको छ । शिक्षा बाल विकास र सरसफाईको क्षेत्रमा उल्ख्य सुधार गरी साक्षर नगर घोषणा, जिल्लाको पहिलो बालमैत्री नगर घोषणा, खुल्ला दिशामुक्त नगर घोषणा गरिएको छ भने कालोपत्रे सडक ३४ कि.मी., ग्राभेल सडक ७१ कि.मी., कच्ची मौसमी सडक ३२० कि.मी. र ढलान सडक ५ कि.मी. थप निर्माण गरिएको। गाउँ बस्तीका सबै टोलहरुमा सडक सञ्जाल जोडिएको छ । १००० जना क्षमताको सभाहल निर्माण, १ वटा सपिङ्ग कम्प्लेक्स, ५ वटा स्वास्थ्य केन्द्र भवन निर्माण १५ शैयाँको अस्पताल निर्माणाधिन र १ वटा संग्राहय निर्माणाधिन अवस्थामा रहेको छ’–उनले भने ।
‘आधारभूत विद्यालय तहमा एमजीएमल कार्यक्रम सञ्चालन गरि गुणस्तरीय शिक्षाको विकासमा सुधार गरिएको छ । १८ वटा विद्यालयको २४ वटा सुविधा सम्पन्न भवनमा १ सय ४० कोठा निर्माण गरिएको छ । थप ६ वटा विद्यलयमा शौचालय निर्माण गरिएको छ । विद्यालय समायोजन र शिक्षक दरवन्दी मिलान गरिएको छ । नगर शिक्षक दरवन्दी सिर्जना गरी बिषयगत शिक्षक ब्यवस्थापन गरिएको छ । धुलिखेल नगर स्थित क्याम्पसमा स्नातकतह अध्ययन गर्ने विद्यार्थीलाई निशुल्क छात्रवृतिको ब्यवस्था गरिएको छ । सामुदायिक माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला र आई.सि.टि. ल्याव ब्यवस्था गरिएको छ । ट्याङ्की निर्माण ३० वटा, डिप वोडिङ्ग ६ वटा र ३८१९ घरधुरीमा एक घर एक धारा निर्माण गरिएको छ । २२६ हेक्टर, ट्रिटमेन्ट प्लान्ट २ वटा, झोलुङ्गे पुल २ वटा निर्माण गरिएको छ । देवीस्थानमा पृथ्वीनारायण शाह र वलभद्र कुँवरको शालिक सहितको पार्क, बखुण्डोल र शारदावतासेमा वुद्धको मूर्ति सहितको पार्क, सरस्वति बजारमा बाघ र सरस्वतीको मूर्ति सहितको पार्क, काभ्रेभञ्याङ्गमा मदनभण्डारीको शालिक सहितको पार्क सहित ५३ वटा पार्क निर्माण गरिएको छ । १२ वटा स्वास्थ्य संस्थाहरु, २ वटा शहरी स्वास्थ्य उप–केन्द्र र १ आयुर्वेदिक औषधालयबाट सेवा सञ्चालन गरिएको छ । धुलिखेल नगरपालिकालाई स्वस्थ शहर बनाउन सबै नगरबासीको डिजिटल हेल्थ प्रोफाइल निर्माण गरिएको छ’– प्रमुख पदका उम्मेदवार ब्याञ्जुले भने ।
आगामी ५ बर्षभित्र शिक्षा, स्वास्थ्य, कृषी, वातावरण, खानेपानी र सरसफाई रोजगार, सँस्कृति र सम्पदा संरक्षण, पर्यटन, सुशासन क्षेत्रमा मानव अधिकारमा आधारित समावेशी, समतामुलक, न्यापूर्ण र दिगो विकास गरी नेपालकै अग्रणी नमूना नगरको रुपमा धुलिखेल नगरपालिकालाई स्थापित गर्ने छौं । यसको लागि धुलिखेल नगरपालिकामा अनुभवी, योग्य, ईमान्दार र सक्षम नेतृत्वको चयन गर्न गर्न चाहान्छौ । हाम्रो नेतृत्वमा हामी आगामी ५ बर्ष भित्रै गुणस्तरीय, दिगो र उत्थानशील पूर्वाधार विकास, सडक÷यातायातमा दीर्घकालिन योजना तयार गरिएको छ । सबै वडा केन्द्रसम्म जोड्ने सडक कालो पत्रे गरिनेछ । सबै वडालाई जोड्नेगरी धुलिखेल चक्रपथ निर्माण गरिनेछ । ग्रामिण सडकहरुलाई १२ महिना चल्न सक्ने गरी स्तरोन्नति गरिनेछ । १५ मिनेटको दूरीमा सडक यातायातको पहुँच पुर्याइने प्रतिवद्धता पत्रमा उल्लेख गरेको छ । विद्युतीय नगरबस सञ्चालन गरिनेछ । विभिन्न ठाउँमा चार्जिङ्ग स्टेशनहरु निर्माण गरिनेछ । सबै गाउँ तथा बस्तीहरुमा थप स्तरीय सडक सञ्जाल विस्तार गरिनेछ । अत्याधुनिक वहुउद्देश्यिय बसपार्क निर्माण गरी बसपार्कलाई सुव्यवस्थित गरिनेछ । वि.पी. राजमार्गलाई नगरक्षेत्र भित्र ६ लेनमा विस्तार गर्न पहल गरिनेछ । सूर्यविनायक देखि धुलिखेल सम्म अरनिको राजमार्गलाई धुलिखेलसम्म ८ लेनमा विस्तर गर्न पहल गरिनेछ ।
खानेपानी र सरसफाई तर्फ एक घर एक धाराको माध्यमबाट सम्पूर्ण नागरिकहरुको सुद्ध र स्वच्छ पिउने पानीको पहुँच पुर्याइनेछ । खानेपानीमा आत्मनिर्भर शहर बनाइनेछ । अति विपन्न गरिव परिवारलाई मासिक १० युनिटसम्म निशुल्क खानेपानी उपलब्ध गराइनेछ । मुख्य सार्वजनिक स्थल तथा चोकहरुमा सार्वजनिक शैचालय निर्माण गरिने छ । खानेपानीका सबै स्रोत सुरक्षित बनाई सुरक्षित खानेपानीयुक्त नगर घोषणा गरिने छ । आवास, बस्ती विकास तथा खेलकुद पूर्वाधार निर्माण गरिनेछ । धुलिखेल नगरपालिका तयार गरेको भू–उपयोग गुरुयोजना बमोजिम योजनावद्ध र व्यवस्थित शहरी विकासको कार्य अगाडी वढाइनेछ । धुलिखेल नगरलाई सुरक्षित, ब्यवस्थित, सुविधा सम्पन्न र आकर्षक आवास केन्द्र र नमुना बस्तीको रुपमा विकास गरिनेछ । नगरपालिकामा बहुउद्देश्यीय कभर्डहल निर्माण गरिनेछ । नगरपालिका भित्र राष्ट्रियस्तरको खेल मैदान निर्माण गरिनेछ । धुलिखेल खेलमैदानलाई क्षेत्रिय रङ्गशालाको रुपमा विकास गरिनेछ । सबै वडा केन्द्रहरुमा ब्यवस्थित बजार केन्द्र र सुविधा सहितको सेवाकेन्द्रहरु स्थापना गरिनेछ । एक वडा एक सुविधा सम्पन्न खेल मैदान निर्माण गरिनेछ । फोहरमैलाको दिगो ब्यवस्थापनका लागि ब्यवस्थित ल्याण्डफिलसाइटको पूर्बाधार निर्माण गरिनेछ। सबै वडामा ब्यवस्थित ढल निकासको निर्माण गरिनेछ। धुलिखेल तथा श्रीखण्डपुरमा रहेको फोहरपानी प्रशोधन केन्द्रको क्षमतावृद्धि गरिनेछ । लेदोजन्य तथा ठोस फोहोरमैलाको थप प्रशोधन केन्द्रको निर्माण गरी फोहोर मुक्त शहर निर्माण गरिनेछ । अति विपन्न गरिव परिवारलाई १० युनिटसम्म निशुल्क विद्युत उपलब्ध गराइनेछ । सबै वडाहरुमा विद्युतीकरणलाई ब्यवस्थित गरिनेछ । सबै ब्यक्तिहरुमा सञ्चारको सुविधा पुर्याइनेछ। सबै वडाहरुमा सूचना प्रविधको सुविधा पुर्याइनेछ र प्रशासनिक कार्यलाई कागज रहित बनाउन आवश्यक सूचना प्रविधि पूर्वाधार सहित सफ्टवेयर तथा मोवाइल एप्सको प्रयोग गरिनेछ ।
निर्वाहमूखी कृषि प्रणालीलाई ब्यवसायीकरण गरिनेछ। हरेक वडालाइ कम्तिमा एक कृषि उत्पादन केन्द्रको रुपमा विकास गरिनेछ । खेतीयोग्य भूमिहरुमा सिंचाई सुविधा विस्तार गरिनेछ । सिंचाई ब्यवस्थापनका लागि प्लष्टिक पोखरी, आकासे पानी सङकलन, स्प्रिकल तथा थोपा सिंचाई जस्ता उपयुक्त प्रविधिहरुको विस्तार गरिनेछ । आधुनिक सुविधा सम्पन्न कृषि बजार सञ्चालन गरिनेछ। मासु पसलहरु र मार्टहरु सञ्चालनमा ल्याइनेछ । धुलिखेल नगरलाई तरकारी, दुध, फलफूल, खाद्यान्न र मासुमा आत्मनिर्भर बनाइनेछ । नगरक्षेत्रको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाहरुको थप उजागर र संरक्षण, पर्यटन क्षेत्रको थप पूर्वाधार विकास गरी पर्यटकीय नगरको रुपमा राष्ट्रिय पहिचान बनाउँदै धुलिखेललाई नेपालकै प्रमुख पर्यटकीय गन्तब्यको रुपमा विकसित गरिनेछ । धुलिखेलको ठूलो वनक्षेत्रलाई कृत्रिम ताल, बोटानिकल पार्क सहितको मनोरञ्जन पार्क निर्माण गरी पर्यटन आकर्षण केन्द्रको रुपमा विकसित गरिनेछ । धुलिखेलमा अध्ययन गर्ने विद्याथीहरुलाई स्नातक तहसम्मको शिक्षा पूर्ण निशुल्क गरिनेछ । अपाङ्गता भएका नागरिकलाई स्नातकोत्तरसम्म अध्ययनका लागि निशुल्क गरिनेछ । स्वास्थ्य विमा निशुल्क उपचारः स्वस्थ नागरिक जिम्मेवार स्थानीय सरकार, स्वास्थ्य क्षेत्रमा वहुआर्थिक अभियान सञ्चालन गरी स्वास्थ्य शहर कार्यक्रम सञ्चालन गरिनेछ र स्वास्थ्य शहर घोषणा गरिनेछ । धुलिखेल अस्पतालसँग सहकार्य गरी सबै स्वास्थ्य संस्थाहरुको सेवामा सुधार गरी नागरिकहरुको नियमित जाँच र गुणस्तरीय स्वास्थ्य सेवा पहुँचमा वृद्धि गरिनेछ । नगर क्षेत्रभित्र सुविधा सम्पन्न ट्रमा अस्पताल निर्माण र सञ्चालन गरिनेछ । सबै वडामा विशेष कार्यक्रम संचालन गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ । कार्यक्रममा उपप्रमुख पदका उम्मेदवार लालतारा अधिकारी, एमाले अध्यक्ष दयाराम महत र सचिव विष्णु धितालले एमालेका सबै उम्मेदवारलाई जिताउने गरी कार्यक्रम संचालन गरिएको बताउनु भयो ।





