आसन्न निर्वाचनका विषयमा बहस गर्ने क्रममा नेकपा माओवादीका कार्यकर्ताले एमालेका कार्यकर्तालाई कुटेका छन् । काभ्रे जिल्लाको खानीखोला गाउँपालिका ३ नम्बर वडामा माओवादीले चुनाव लक्षित गरेर कुटपिट गरेको बताइएको छ ।
नेकपा माओवादीका केन्द्रका भक्त बहादुर वि.क ले एमालेको देब बहादुर जिम्बालाई कुटपिट गरेका छन । सख्त घाइते हुने गरी जिम्बालाई कुटपिट गरेपछि उनी फरार रहेको र घाइते जिम्बालाई स्थानीय स्वास्थ्य चौकीमा उपचार गराइएको बताईएको छ । एक स्थानीयका अनुसार खानीखोला गाउँपालिकामा माओवादी केन्द्र कांग्रेस मिल्दा पनि नेकपा एमालेको पल्लाभारी हुने देखिएपछि नेकपा माओवादीका केही कार्यकर्ता अराजक तरिकाले उत्रिएको बताइन्छ । खानीखोला गाउँपालिकामा मुख्य प्रतिस्पर्धी नेकपा माओवादी र कांग्रेसको गठबन्धनबाट इन्द्र बहादुर थिङ छिन्ताङ्ग र नेकपा एमालेबाट अनुभवी प्रभावशाली मानिँदै आएको शेखर लामाले अध्यक्षमा मनोनयन दर्ता गराएका छन् ।
उता खानीखोलामा काँग्रेस जिल्ला सदस्य चित्र गोलेले आफ्नै कार्यकर्ता सहकुल तिमल्सिनालाई बैठक चलिरहँदा कुटपिट गरेका छन् । कुटपिटबाट घाईते तिमल्सिना बनेपामा उपचारार्थ छन् । गोले र काँग्रेस सभापति दोर्जेमान जिम्बा दुबैले कुटपिट गरेका थिए । उनिहरु दुबै विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका तिमल्सिनाले कारवाहीको माग गरे पनि प्रहरीले सत्ताकै आडमा मिलापत्र गराएर फर्काएको छ । दोर्जे गठबन्धनको तर्फबाट काँग्रेसको तर्फबाट खानिखोला गाउँपालिकाका उपाध्यक्ष पदका उम्मेदवार छन् । यसअघि पनि नमोबुद्ध नगरपालिकामा प्रमुख पदका उम्मेदवार कुन्साङ लामाले कार्यकर्ता रोशन पाण्डेलाई कुटेका थिए । रोशनले दिएको उजुरी जाहेरी नगरी राखेको प्रहरीले एकाएक पक्राउ पुर्जी जारी गरे पछि मिलापत्र गराएको थियो । कुटेरै राज गर्ने योजनामा रहेका लामालाई मत दिन उनकै कार्यकर्ता डराईरहेका छन् । सोहि पालिकामा भक्तपुरको गोठाटारमा बालकलाई गोली हानी हत्या गर्ने नेकपा माओवादी केन्द्रका रत्न लामा उपप्रमुख पदका उम्मेदवार भएका छन् । गठबन्धनबाट उठाईएका प्रमुख र उपप्रमुख दुबैका कारण मतदाताहरुले त्रसित हुने वातावरण सिर्जना भएको भन्दै असन्तुष्टि ब्यक्त गर्न थालेका छन् । पाण्डेका खुट्टा ढोगेर माफि मागेका कुन्साङ्गले आईन्दा त्यसो नगर्ने बताएका थिए ।









